तीतोपाटी-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका दाहाल बिहीबार बेलुका स्वेदश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सीताको स्वास्थ्यमा निकै सुधार आएको बताए।
‘म जाने बेला पनि मूख्यतः उपचारको निम्ति जाँदैछु भनेको थिए। केही राजनीतिक भेटघाट पनि हुन्छन् भनेको थिएँ। त्यहीअनुसार नै भेटघाट र कुराकानी भयो,’ उनले भने।
दाहालले पत्नी सीताको उपचारका लागि मूख्यतः ३ ठाउँमा अनुसन्धान र उपचार भएको बताए।
‘अमेरिकाका ३ ठाउँमा अनुसन्धान र उपचारको काम भयो। सीताको स्वास्थ्यको खास समस्या के हो ? भन्नेबारे डाक्टर मात्र होइन, चिकित्सा क्षेत्रका वैज्ञानिकहरुले पनि अनुसन्धान गरे। पहिल्यै सिङ्गापुरमा गरिएको अनुसन्धानको विकसित रुप नै रहेछ,’ दाहालले भने।
अध्यक्ष दाहालले सीताको शरीर र मस्तिष्कलाई फूर्तिलो बनाउने यन्त्र र औषधि लिएर आफूहरु फर्किएको बताए। उनले भने, ‘डाक्टरले २ क्याटगोरीका शरीरमा लाउने प्याच दिएका छन्। नयाँ औषधि दिएका छन्। यो रोगलाई पिएसपी भनिँदो रहेछ। अमेरिकाका डाक्टरहरु यसलाई क्यान्सरकै औषधिमार्फत् उपचार गर्न सकिनेबारे अन्तिम परीक्षणमा रहेछन्।’
दाहालले आफू जहाजमा रहेका बेला अमेरिकामा आफूविरूद्ध उजुरी परेको बताए।
‘म जहाजमै रहेको बेला मेराविरुद्ध मेरील्याण्डमा उजुरी परेको परेछ’ द्वन्द्वकालीन घटनाका विषयलाई लिएर नेपाली मूलका अमेरिकी नागरिक तिलक श्रेष्ठले दिएको उजुरीबारे स्पष्ट पार्दै अध्यक्ष दाहाललले भने, ‘तर, मलाई जानकारी दिइएन। एयरपोर्टमा पुग्नेबित्तिकै मलाई भूमिगत रूपमै गन्तव्यसम्म पुर्याउने व्यवस्था गरिएको रहेछ। मैले पछि थाहा पाएँ।’
अध्यक्ष दाहाललले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतका नेपालीले आफूलाई केही नहोस् भनेर सावधानी अपनाएको बताए। उनले भने, ‘राजदूत लगायतका साथीहरूले नै त्यो व्यवस्था गर्नुभएको रहेछ। उहाँहरुमा दाहाललाई केही हुन्छ कि भन्ने चिन्ता रहेछ। हुनेवाला केही पनि थिएन। अमेरिकाले मेराबारे पहिले नै ‘नो इन्भेष्टिगेशन’ जारी गरिसकेको थियो।’
अमेरिका बसाइका क्रममा नेपाली समुदायसँग सघन कुराकानी भएको अध्यक्ष दाहाललले बताए।
‘उपचारको काम सकिएपछि अमेरिका बस्ने नेपालीहरुसँग राम्रो कुराकानी भयो। नेपालका बारेमा, २ देशको सम्बन्धका बारेमा सकारात्मक कुराकानी भयो,’ दाहालले भने।
मेरिल्याण्ड राज्यमा नेपाली मूलका सांसद ह्यारी भण्डारीले आफू स्वागत गरेको अध्यक्ष दाहाललले बताए। भ्रमणका क्रममा नेपालका लागि पूर्वअमेरिकी राजदूत, अमेरिकी सरकारका विशिष्ट कर्मचारी र अमेरिकामा रहेका नेकपाका नेता–कार्यकर्तासँग पनि राम्रो कुराकानी भएको अध्यक्षले बताए। उनले नेपालको सशस्त्र युद्धबारे अमेरिकामा रहेको भ्रम निवारण भएकोसमेत बताए।
दाहाललले नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा बार्ता गर्नेबारे सैद्धान्तिक समझदारी भएकोसमेत जानकारी गराए। उनले भने, ‘नेपाल र अमेरिकाबीच उच्च राजनीतिक तहमा सम्वाद नभएको लामो समय भएको छ। अब उच्च तहमा राजनीतिक सम्वाद हुनुपर्छ भन्ने विभिन्न तहका छलफलमा कुराकानी भएको छ, त्यसका लागि हामी प्रयास गर्छौं।’
उनले आफू नेपाल फर्किएसँगै पार्टी एकता प्रक्रिया टुंगोमा पुर्याउन लाग्ने बताए।
‘म अमेरिका नगएको भए यतिञ्जेल पार्टी एकता टुंगोमा पुग्थ्यो। अब हामी पार्टी एकतालाई गति दिन्छौं। केही दिनमा एकता प्रक्रिया टुंगिन्छ,’ दाहालले भने।