Thursday 25th September 2025

कामदारको स्वास्थ्य परीक्षण प्रदेशबाटै


तिताेपाटी — श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रदेश तहबाट समेत गर्न पाउने गरी थप स्वास्थ्य संस्था सूचीकरण गर्ने भएको छ । अब कामदारले सरकारी अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउनेछन् ।

मन्त्रालयले काठमाडौंमा केन्द्रित स्वास्थ्य परीक्षणलाई प्रदेश तहमा लैजान लागेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३७ सहित २ सय २६ वटा संस्था मन्त्रालयले नवीकरण गरेपछि थप खुला गरिएको हो । सरकारले स्वास्थ्य परीक्षणको गुणस्तरलाई प्राथमिकता दिएको छ ।

२०६९ पछि कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ संस्था सूचीकरण हुन पाएका थिएनन् । मन्त्रालयले इच्छुक संस्थालाई १० दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ ।
श्रममन्त्री गोकर्ण विष्टले पारदर्शी प्रतिस्पर्धा गराई सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने वातावरण बनाइने बताए । ‘निजी क्षेत्र मात्रै होइन, अब सरकारी अस्पतालले समेत कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । जिल्ला तहका अस्पतालले गर्न नसकेपछि प्रदेश तहबाट परीक्षण हुनुपर्छ भन्ने हाम्रो नीति हो,’ उनले भने, ‘तर, गुणस्तर परीक्षणमा कसैसँग सम्झौता गरिनेछैन ।’
आवेदनपछि मन्त्रालयले इच्छुक संस्थाहरूको अनुगमन गर्नेछ । मन्त्रालयले झन्डै एक वर्षअघि स्वास्थ्य संस्थाको अवस्था अध्ययन गर्न विशेषज्ञ सम्मिलित टोली गठन गरेको थियो । टोलीले सरकारलाई स्वास्थ्य संस्थाका पूर्वाधार कमजोर रहेको भन्दै प्रतिवेदन बुझाएको थियो । जथाभावी परीक्षण हुँदा नेपालमा पास भएका कामदार विदेशमा फेल भएर फर्किनुपरेको थियो । त्यसरी फर्किएका कामदारले सबै लागत खर्च पाउने गरेका छैनन् ।
यसअघि सूचीकृत २ सय २६ वटै संस्थाले वैदेशिक रोजगारीका लागि खुला गरिएका सबै देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाएका छैनन् । साउदी अरब, ओमन, बहराइन जाने कामदारको गाम्का नेपाल आबद्ध १२ संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्दै आइरहेका छन् । मन्त्रालयले तीन देशमा सूचीकृत सबै स्वास्थ्य संस्थाबाट परीक्षण गर्न दिन कूटनीतिक पहल भइरहेको जनाएको छ ।
मलेसिया जानेको स्वास्थ्य परीक्षण पनि मापदण्ड पुग्ने स्वास्थ्य संस्थाबाटै गराउने मन्त्री विष्टले बताए । जेठ २ सम्म ३७ वटा संस्थाले मात्र गर्थे । ‘मलेसियाबाट कार्यविधिसहितको मापदण्ड आएको छ । जतिले मापदण्ड पुर्‍याउँछन्, ती सबैले परीक्षण गर्न पाउनेछन्,’ उनले भने ।
द्विपक्षीय श्रम समझदारी भएको ५ महिनापछि मलेसियाले नेपाली कामदारको स्वास्थ्य परीक्षण विधिसहितको मापदण्ड नेपाल सरकारलाई गत शुक्रबार पठाएको थियो । मलेसिया र नेपालको संयुक्त टोलीले पारदर्शी ढंगले अनुगमन गरी स्वास्थ्य संस्था छनोट गर्नेछ ।
-कान्तिपुर

सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...