Wednesday 18th February 2026

फिलिपिन्समा रोमन क्याथोलिक चर्चमा बम बिष्फोट, कम्तीमा २७ जनाको ज्यान गयो


तितोपाटी – फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक रोमन क्याथोलिक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ। होलो टापुस्थित गिर्जाघरमा ‘मास सन्डे’ मनाउने क्रममा पहिलो विस्फोट भएको थियो। सो टापुमा इस्लामवादी लडाकुहरू सक्रिय छन्।

फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई विस्फोटन भएको जानकारी दिए। प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन्। उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको जानकारी दिए। दुवै विस्फोटन स्थानीय समयअनुसार विहान करिब सवा ८ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ। उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा दुई विस्फोट भएको थियाे।

दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेका प्रहरीले जानकारी दिएको छ। “चर्चामा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भर्त्सना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,” फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले भने। उनले घटनाका पीडितहरुलाई तत्काल राहत तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताए। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको र घटनाको विवरण सङ्कलन भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले जानकारी दिएका छन्।

गत हप्ताको जनमतसङ्ग्रहले दक्षिण फिलिपिन्सको मुस्लिम बहुल बाङ्गसामोरोलाई स्वायत्त क्षेत्र बनाउने प्रस्तावलाई अनुमोदन गरेको थियो। तर सुलु प्रान्तका मतदाताले सो प्रस्तावलाई अस्वीकृत गरिदिए। सोही प्रान्तभित्र होलो पर्छ। मोरो इस्लामिक लिबरेशन फ्रन्ट र सरकारबीच भएको एउटा शान्ति सम्झौता अन्तर्गत जनमतसङ्ग्रत गराइएको थियो। उक्त जनमतसङ्ग्रहसँगै क्याथोलिक इसाईहरूको दबदबा रहेको फिलिपिन्समा दशकौँदेखि जारी इस्लामिक पृथकतावादी र सेनाबीचको द्वन्द्वको राजनीतिक समाधान हुने अधिकारीहरूको विश्वास छ। हिंसामा एक लाख २० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसेका छन्।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...