Tuesday 20th October 2026

चीनको साङ्सी प्रान्तको एक कोइला खानीमा दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु


तितोपाटी – चीनको एउटा कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला उक्त दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीहरूले बताएका छन् । अन्य ६६ जनालाई भने कोइलाखानीबाट सकुशल उद्धार गरिएको अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनमा कोइलाखानीमा यस्ता दुर्घटना बेलाबेलामा भइरहने गरेका छन् । ठुला सरकारी उद्योगको तुलनामा निजी क्षेत्रबाट सञ्चालित कोइला उद्योगमा सुरक्षा व्यवस्था कमजोर रहने गरेको छ ।

कोइला उत्पादनमा सुधार ल्याउन तथा गैर कानुनी उद्योगहरू बन्द गर्न पहल गरिए पनि खानी दुर्घटनाका समाचारहरू आइरहने गरेका छन् । गत वर्ष डिसेम्बरमा पनि चीनको दक्षिण पश्चिममा भएको कोइला खानी दुर्घटनामा सात जना कामदारको मृत्यु हुनुका साथै अरू तीन जना गम्भीर घाइते भएका थिए ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा कार्यरत तीन सय ७५ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको तुलनामा यो करिब २८ प्रतिशतले न्यून हो ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...