नेपाली राजदूतावास कुवेतले श्रम मागपत्र (Demand Letter) प्रमाणीकरण प्रक्रियामा संशोधन गरिएको जानकारी दिँदै १ अक्टोबर २०२६ देखि नयाँ ढाँचा अनिवार्य रूपमा लागू हुने जनाएको छ।
दूतावासद्वारा जारी सूचनाअनुसार नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनबमोजिम नेपाली श्रमिकका लागि पेश गरिने श्रम मागपत्रमा अब कामदारले गर्ने कामको जिम्मेवारी (Duties and Responsibilities) स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
त्यसैगरी, कार्यस्थलको प्रकृतिसमेत प्रष्ट पार्नुपर्ने व्यवस्था गरिएको छ। रोजगारदाताले काम Indoor, Outdoor वा Indoor/Outdoor दुवै मध्ये कुन प्रकारको वातावरणमा हुने हो भन्ने विवरण तथा सो स्थानमा काम गर्नुपर्ने समयावधि स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ।
दूतावासले श्रम मागपत्रसम्बन्धी कागजातहरूको ढाँचा यी विवरण समेट्ने गरी संशोधन गरिएको जनाएको छ। नयाँ व्यवस्था अनुसार २०८३ असोज १५ (१ अक्टोबर २०२६) देखि अनलाइन प्रणालीमार्फत प्रमाणीकरणका लागि आवेदन गर्दा संशोधित ढाँचा प्रयोग गर्नु अनिवार्य हुनेछ।
सूचनामा आवश्यक विवरण पूरा नभएका वा स्पष्ट रूपमा उल्लेख नगरिएका श्रम मागपत्र तथा सम्बन्धित कागजातहरू आवश्यक संशोधनका लागि फिर्ता गरिने चेतावनी पनि दिइएको छ।
दूतावासका अनुसार संशोधित ढाँचाका नमुना कागजातहरू नेपाली राजदूतावास, कुवेतको आधिकारिक वेबसाइटमा उपलब्ध छन्। यस व्यवस्थाले नेपाली श्रमिकहरूको कार्य प्रकृति र जिम्मेवारीबारे थप पारदर्शिता सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।