कुवेतमा नेपाली समुदायको सामाजिक तथा खेलकुद इतिहास बोकेको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, कुवेत ले आफ्नो १०औँ ऐतिहासिक महाधिवेशन आयोजना गर्ने भएको छ।
डिसेम्बर १९९९ मा स्थापना भएको क्लबले आफ्नो विधानअनुसार १०औँ महाधिवेशन गर्न लागेको हो। क्लबले महाधिवेशनमार्फत संस्थालाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै नयाँ नेतृत्वसहित फरक ढंगले अगाडि बढ्ने तयारी गरेको जनाएको छ।
कुवेतमा नेपाली संस्थागत इतिहास निर्माण गर्ने पहिलो सस्थाको रूपमा रहेको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले स्थापना कालदेखि नै खेलकुदको विकास, नेपाली समुदायबीच एकता तथा सामाजिक गतिविधिमा निरन्तर योगदान पुर्याउँदै आएको छ। संस्थाले कुवेतमा नेपाली खेलकुदको प्रवर्द्धनसँगै सामाजिक एकता र सहकार्यलाई समेत प्राथमिकतामा राख्दै आएको छ।
क्लबका अध्यक्ष आनन्द श्रेष्ठले १०औँ महाधिवेशनलाई संस्थाको आगामी यात्राका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै संस्थाको गतिविधिलाई अझ प्रभावकारी र फरक ढंगले अघि बढाउने योजना रहेको छ।
क्लबले आफ्नो २७औँ वार्षिकोत्सव समेत मनाउने तयारी गरिरहेको छ। स्थापनादेखि २७ वर्षको यात्रा पूरा गरेको अवसरमा आयोजना हुने महाधिवेशनले संस्थाको विगतको योगदानको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनमा कुवेतमा रहेका क्लबका सम्पूर्ण सदस्य, अग्रज व्यक्तित्व, खेलप्रेमी, शुभेच्छुक तथा विभिन्न नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूलाई गरिमामय उपस्थितिका लागि क्लबले हार्दिक निमन्त्रणा गरेको छ।
महाधिवेशन आयोजना हुने स्थान, मिति र समय भने पछि औपचारिक रूपमा जानकारी गराइने अध्यक्ष श्रेष्ठले बताएका छन्।
कुवेतको नेपाली समाजको लामो इतिहाससँग जोडिएको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको १०औँ महाधिवेशनलाई नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी यात्राका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
साथै क्लबले २५ हजारभन्दा बढी बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग रकम पठाउने निर्णयसमेत गरेको छ।