Thursday 24th September 2026

नेपाल तामाङ घेदुङ कुवेत द्वारा सोनाम ल्होछार २८६२ भव्य रूपमा सम्पन्न


कुवेतवासी तामाङ समुदायले सोनाम ल्होछार २८६२ लाई महान सांस्कृतिक उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरी मनाएका छन्। नेपाल तामाङ घेदुङ कुवेत ले मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।

१३ फेब्रुअरी २०२६ शुक्रबार Aspire Indian School को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा चर्चित अतिथि कलाकारहरू आस्मान लोप्चन, लक्ष्मी स्याङ्तान तामाङ र रिजन थिङ लामा सहित स्थानीय कलाकारहरूको मनमोहक सांगीतिक प्रस्तुति रहेको थियो। कलाकारहरूको प्रस्तुतीले कुवेतको चिसो मौसमलाई नै तताएको अनुभूति गराएको सहभागीहरूले बताएका छन्।

सांस्कृतिक उत्सवमा तामाङ समुदायको मौलिक संस्कृति, पारम्परिक नृत्य तथा तामाङ जातिको परम्परागत भेषभूषा र बाजागाजाको आकर्षक प्रदर्शन गरिएको थियो। कार्यक्रमले तामाङ समुदायको भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचान झल्काउने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।

कार्यक्रमको अध्यक्षता पेमा लामाले गरेका थिए भने नेपाली दूतावास कुवेत का राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो। साथै एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत र नेपाल आदिवासी जनजाती महासंघ कुवेत का प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

कुवेतमा रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार लगायत तामाङ तथा गैर–तामाङ समुदायको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...