Saturday 7th February 2026

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न


“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।

अभियानमा संस्थाका पदाधिकारी तथा सदस्यहरूका साथै कुवेती, इजिप्टियन, भारतीय तथा अन्य समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसअघि सम्पन्न रक्तदान कार्यक्रम तथा पहिलो चरणको समुद्री तट (सी–साइट) सरसफाई अभियानको निरन्तरताका रूपमा यस पटक सार्वजनिक पार्क सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो। बिहान ७ बजेदेखि १० बजेसम्म सरसफाई अभियान सञ्चालन भएको थियो।

कार्यक्रमका क्रममा सरसफाईको आवश्यकता, यसको महत्व तथा सामाजिक जिम्मेवारीबारे सहभागीहरूले सन्देशमूलक अभिव्यक्ति प्रस्तुत गरेका थिए। सरसफाई कार्यक्रमपछि सहभागीहरूका लागि चियापान तथा नास्ताको व्यवस्था गरिएको थियो, जसमा रानीमल नेपाली रेस्टुरेन्टका सञ्चालक कविराज थापाको विशेष सहयोग रहेको थियो। साथै कुवेती, भारतीय र इजिप्टियन नागरिकहरूले कार्यक्रमप्रति चासो जनाउँदै फोटो तथा भिडियो खिचिरहेका थिए।

युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले स्थानीय प्रशासनबाट आवश्यक स्वीकृति लिएर सरसफाई कार्यक्रम गरिएको जानकारी दिँदै भने,
“समुदाय सचेत भए मात्र स्वच्छ वातावरण सम्भव हुन्छ। सार्वजनिक पार्क, समुद्री किनारा तथा भीडभाड हुने स्थानको सरसफाई हामी सबैको साझा जिम्मेवारी हो। यस्तो अभियानलाई निरन्तरता दिइनेछ, जसका लागि सबैको साथ र सहयोग आवश्यक छ।”

संस्थाका सल्लाहकार विजय खत्रीले स्वच्छ वातावरण र सकारात्मक समाज निर्माण एक–अर्कासँग गाँसिएको विषय भएको उल्लेख गर्दै भने,
“हामी समाजमा बस्छौँ भने समाजप्रति उत्तरदायी हुनु हाम्रो दायित्व हो। ‘के पाउने?’ भन्दा पनि ‘के दिन सक्छौँ?’ भन्ने सोचले अघि बढ्दा मात्र सामाजिक परिवर्तन सम्भव हुन्छ। युवा शक्ति कुवेत आगामी दिनमा अझ सक्रिय रूपमा यस्ता अभियानमा जुट्नेछ।”

युवा शक्ति कुवेतले सरसफाई, सामाजिक सेवा, जनचेतना अभिवृद्धि तथा जिम्मेवार नागरिक अभियानलाई निरन्तर रूपमा अघि बढाउने अध्यक्ष विशाल डल्लाकोटीले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

लोकतन्त्रमा म्याच फिक्सिङ : जनमतको हत्या, विश्वासको घाँटी थिचिँद लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्।…

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड…

यात्री समाज कुवेतले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नेपालमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको…

प्रतिकृयाहरू
...