Saturday 21st March 2026

बालेनले गरे ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर


काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ । स्रोतका अनुसार बालेनले आफ्नो आलोचना गर्ने वडाध्यक्षहरुलाई अघोषित रुपमा कारवाही गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफूविरुद्ध खुलेर उत्रिएकाहरुलाई उनले निशाना बनाएका छन् ।
पछिल्लो समय बालेनका विभिन्न क्रियाकलापहरुप्रति खुला असहमति जनाएका वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितबाट हटाइएको छ । प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरीको अवरोध बाबजुद कार्यालय प्रवेश गराउन मानन्धरले अग्रणी भूमिका खेलेका थिए । नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ ।
यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट हटाइएको छ । सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...