Thursday 26th March 2026

आज मातातीर्थ औँसी मनाइँदै


जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै आज मातातीर्थ औँसी देशभर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ पनि भनिन्छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार, यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, मिष्ठान्न खुवाउने र आमाको मुख हेरेर आशीर्वाद लिने परम्परा रहेको छ। आमा दिवंगत भएका सन्तानले भने श्राद्ध गरी आमाको सम्झना गर्ने चलन छ।

“आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्न आवश्यक छैन, तर हाम्रो सांस्कृतिक परम्पराअनुसार आजकै दिन आमाप्रति श्रद्धा प्रकट गरिन्छ,” डा. कोइरालाले बताए। उनले शास्त्रमा जन्मदिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो भनिएको उल्लेख गर्दै आमाप्रतिको श्रद्धाभावलाई अत्यन्त महत्वपूर्ण मानिएको बताए।

घरबाट टाढा रहेका धेरैले आजको दिन घर पुगेर आमाको मुख हेर्ने गरेका छन् भने नपुग्नेलाई टेलिफोन वा सामाजिक सञ्जालमार्फत आमाप्रति सम्मान प्रकट गर्ने चलन बढ्दो छ। सामाजिक सञ्जालमा आमासँगका तस्वीर साझा गर्ने प्रचलन पनि लोकप्रिय बन्दै गएको छ।

यसै अवसरमा, दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न काठमाडौंको थानकोटस्थित मातातीर्थमा आज मेला लागेको छ। बिहानैदेखि मेलास्थलमा श्रद्धालुहरुको भीड लागेको छ। कतिपय भक्तजन शनिबार साँझदेखि नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए र आज बिहान सबेरै स्नान तथा पूजा गरेका छन्।

स्थानीय विश्वास अनुसार, मातातीर्थको कुण्डमा स्नान गरी दर्शन गरेमा दिवंगत आमाप्रति रहेको ऋणबाट सन्तान मुक्त हुने जनविश्वास छ। आमा नभएका व्यक्तिहरूले स्नान गरेर हरिहर (विष्णु र शिव) को पूजा गर्ने प्रचलन रहेको छ। सके हरेक वर्ष, नसके कम्तीमा एकपटक मातातीर्थ औँसीमा श्राद्ध गर्नु पर्ने धार्मिक मान्यता छ।

मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

यस्तै, भक्तपुरका नेवार समुदायले पनि हनुमानघाटमा आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने परम्परा पालन गर्दै आएका छन्।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...