नेपालका सडकमा हालैका दिनहरूमा देखिएका विद्युतीय सवारी साधनको अन्तर्राष्ट्रिय चर्चा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुमा नेपालमा कसरी ईभी (इलेक्ट्रिक भेहिकल) बढ्दो छ भन्ने विषयमा लगातार समाचार प्रकाशित हुन थालेका छन् ।
कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा ईभीको क्रान्तिलाई भारतले गरेको नाकाबन्दीको कारक भनेका छन् ।
नेपालले २०७२ मा संविधान जारी गरेलगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । नेपालमा भारतले नाकाबन्दी लगाएपछि पेट्रोलको मूल्य पाँचसय रुपैयाँसम्म बिक्री भएको थियो त्यो पनि ‘अवैध मार्ग’बाट भित्र्याएर ।
त्यसपछि नेपालमा विद्युतीय सवारीसाधनलाई सरकारले पनि प्राथमिकतामा राख्दै ग्राहकलाई सहुलीयत दिएको समाचारमा जनाइएको छ । अप्रिल ४, २०२५ काठमान्डौं डेटलाइनमा पिट प्याटिसनले द गार्जियनमा ‘लिडिङ द चार्ज : हाउ अ ड्राइभ फर इलेक्ट्रिक भेइकल इज क्लिनिङ अप नेपाल’ शीर्षकमा समाचार लेखेका छन् ।
उनको समाचारले नेपालमा विद्युतीय गाडीले प्रदुषण घटाउन योगदान गरिरहेको उल्लेख गरिएको छ ।
समाचारमा नेपालमा गत वर्ष आयात गरिएका चारपांग्रे सार्वजजिक सवारी साधनहरू (कार र मिनिबस) मध्ये ७० प्रतिशतभन्दा बढी विद्युतीय भएको उल्लेख गर्दै यो संख्या विश्वकै सबैभन्दा उच्च बताएको छ ।
यसले नेपालमा विद्युतीय सवारी साधनहरूको प्रयोगमा उल्लेखनीय वृद्धि भएको भन्दै सन् २०२०–२१ मा केवल २५० वटा विद्युतीय सवारी साधनहरू आयात भएकोमा २०२३–२०२४ मा यो संख्या बढेर १३ हजार भन्दा बढी भएको तथ्थ्यांक प्रस्तुत गरिएको छ ।
विद्युतीय सवारी साधन (ईभी)को प्रयोगलाई व्यापक मात्रामा वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य अन्तर्गत नेपाल सरकारले सन् २०३० सम्ममा निजी विद्युतीय सवारी साधनहरू कुल बिक्रीको ९० प्रतिशत र चारपांग्रे सार्वजनिक सवारी साधनहरू कुल बिक्रीको ६० प्रतिशत कायम गर्ने लक्ष्य राखेको समाचारमा उल्लेख गरेको छ ।
नेपालको राजधानी काठमाडौं विश्वकै प्रदुषित सहरहरूमध्ये एकमा पर्ने गरेको र यहाँ प्रदुषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा १० देखि २० गुणासम्म बढी हुने गरेको भन्दै विद्युतीय गाडीको बढ्दो लोकप्रियताले काठमाडौंमा ठूलो समस्याको रुपमा रहेको वायु प्रदुषण कम हुने अपेक्षा गरिएको बताइएको छ ।
नेपालको लगभग सबै विद्युतीय ऊर्जा पानीबाट उत्पादन गरिने र सजिलै उपलब्ध हुने स्वच्छ र हरित ऊर्जा भएकाले नेपालमा विद्युतीय सवारी साधनहरूप्रतिको झुकाव महत्वपूर्ण भएको बताइएको छ । समाचारमा चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडी कारको डिजाइनले पनि मानिसहरुलाई बढी आकर्षित गरेको उल्लेख छ ।
ईभी गाडी बिक्रेता तथा पर्यावरणविद्हरुले विद्युतीय गाडीप्रतिको बढ्दो रुचिको मुख्य कारण पेट्रोल गाडीको तुलनामा दैनिक लागत प्रतिको बचत बताउँछन् तर प्रदुषण फैलाउने डिजेल बस र ट्रकहरू सम्पूर्ण विद्युतीय सवारी साधनमा परिवर्तन नभएसम्म यसले मानव स्वास्थ्य र पर्यावरणमा खासै योगदान नदिने बताउँछन् ।
यसैगरी, भारतबाट डिजिटल रुपमा प्रकासन र प्रशारण हुने बीबीसी हिन्दीले पनि एक भिडियो समाचार बनाएर नेपालको ईभी क्रान्तिलाई स्थान दिएको छ । यो समाचारले नेपाली सडकमा चिनियाँ कार निर्माता कम्पनी बीवाईडीका सवारी साधनहरु अत्याधिक रहेको भन्दै यसलाई भूराजनीतिक कोण र रङ दिन खोजिएको छ ।
समाचारमा ‘नेपाली सडकमा चिनियाँ दबदबा बढेको’ दाबी गरिएको छ । यो गाडीको माध्यममार्फत चीनले नेपालमा स्थान सुरक्षित गरेको समेत दाबी गरिएको छ । समाचारमा नेपालमा बिक्री हुने ७० प्रतिशत कार ईभी हुने गरेको र त्यसमध्ये ७५ प्रतिशत चिनियाँ कम्पनीको हुने समाचारमा जनाइएको छ ।
स्थलगतरुपमा दिलनवाज बादशाहले तयार गरेको भिडियो रिपोर्टमा प्रदुषण हिसाबले तथा पेट्रोलियम पदार्थको खर्चको तुलनामा ईभी गाडीहरु बढी किफायती हुने भएका कारण उपभोक्ताहरु यसतर्फ आकर्षित भएको बताएका छन् ।
केही समय अघिसम्म भारतीय कम्पनी टाटाका कार बढी बिक्री हुने भए पनि अहिले चिनियाँ गाडी बिक्री हुन थालेको समाचारमा उल्लेख छ । समाचारमा भारतले २०७२ मा नेपालविरुद्ध लगाएको आर्थिक नाकाबन्दीका कारण पनि मानिसहरु ईभी गाडीतर्फ बढी आकर्षित भएको समाचारमा बताइएको छ ।समाचारमा नेपालमा बजारमा भारतीय दबदबा हराएर गएको र चिनियाँ दबदबा बढेको उल्लेख छ । सरकारले ईभीलाई सहुलीयत दिँदा पनि बढी आकर्षित भएको जनाइएको छ ।
यसबाहेक अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी) ले हिमाली राष्ट्र नेपालमा विद्युतीय सवारी साधन (ईभी) को बिक्रीमा आएको उछालले गर्दा आफ्नो प्रचुर जलविद्युत् शक्तिको प्रयोग गर्दै पेट्रोलियम पदार्थको आयात घटाउँदै वायु प्रदुषण कम गर्न सफल भएको उल्लेख गरेको छ ।
‘इलेक्ट्रिक भेइकल (ईभी) सेल्स बुम इन नेपाल, हेल्पिङ्ग टु सेभ अन आयल इम्पोर्टस् एन्ड एलिभिएट स्मग’ शीर्षकमा काठमाडौं टाइमलाइनमा बिनाज गुरुबाचार्यले जुन महिनामा लेखेको समाचारमा विगतका वर्षहरूमा नेपालमा जलविद्युत् परियोजनाहरुबाट उत्पादन भएको प्रचुर ऊर्जाको कारणले देशले चार्जिङ नेटवर्क विस्तार भइरहेको छ र भन्सार विभागको तथ्यांकअनुसार गत दुईवर्षमा ईभीको आयात प्रत्येक वर्ष दोब्बर भएको उल्लेख छ ।
नेपाल विद्युत् प्राधिकरणले जनाएअनुसार ईभीको प्रयोगले नेपालमा पेट्रोलियम तेल आयात खर्च वार्षिक २२ मिलियन डलरले घटाएको समाचारमा उल्लेख छ । नेपालमा विद्युतको पहुँच पछिल्ला ३० वर्षमा धेरै बढेको भन्दै अहिले जनसंख्याको ९४ प्रतिशतमा विद्युतको पहुँच पुगेको समाचारमा उल्लेख छ ।
साथै नेपाललाई ईभीको क्षेत्रमा आफ्ना छिमेकी देशहरूभन्दा अगाडि रहेको उल्लेख गरेको छ । उक्त समाचारमा नेपालमा जुन २०२४ सम्ममा कुल दुई हजार ६०० मेगावाट बिजुली उत्पादन भइसकेको साथै नयाँ जलविद्युत् प्लान्टहरू सम्पन्न हुँदै जाँदा यो क्षमता बढ्दै गइरहेको बताइएको छ । समाचारले नेपालमा बिक्री हुने ईभी कारहरुमा चिनियाँ कार निर्माता कम्पनी बीवाईटीको एट्टो थ्री र भारतीय निर्माता टाटाको नेक्सन प्रमुख रहेको उल्लेख गरिएको छ ।
जलवायु परिवर्तन कम गर्ने राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपालले सन् २०२५ सम्म कुल कार बिक्रीको २५ प्रतिशत र सन् २०३० सम्म ९० प्रतिशत इलेक्ट्रिक सवारी साधन पुर्याउने लक्ष्य राखेको पनि उल्लेख गरेको छ ।
बारखरि बाट