Friday 6th September 2024

चित्रमा पञ्चाङ्ग, भाग: ११६


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

प्रकृतिमा गाह्रो छ आमा हुनलाई
स्वार्थी मान्छे सबको मन छुनलाई
हुर्काउन हुन्न कठिन बाँच्न गाह्रो
काटी खान्छन् अर्काको यो खुनलाई
छट्टु स्याल बाठो छाड्छ र कुनलाई ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

जति धेरै भए पनि माया सन्तानको
नपाए नि भविष्यमा छाया सन्तानको
मातृस्नेह यति ठूलो हुने होला किन?
बस्न मन लाग्ने दायाबाया सन्तानको
सधैँ हेरौँ हेरौँ लाग्ने काया सन्तानको ।।
घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ३

आमा बन्न रहरै छ
फुल कोरल्न करै छ
प्रकृतिको नियमै हो
घोल भुस र खरै छ
शत्रुहरुको डरै छ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

जहाँ महान सृष्टिकर्ता बन्दछिन् आमा
सन्तान हुर्काउन दिन गन्दछिन् आमा
संसारमा निस्वार्थ दया गर्ने आमा हुन्
पेट पाल्ने जोहोमा बाँझो खन्दछिन् आमा
दु:खमा हाँसेर चुनौती भन्दछिन् आमा ।

अमृता रामदाम

पञ्चाङ्ग ५

सन्तानलाई छायाँ दिएर राख्छिन् आमा
आक्रमण बाट बचाउन जाग्छिन् आमा
रात दिन दुख सुख नभनी नभनी
जैले सन्तानको भलाइ मै लाग्छिन् आमा
सन्तानको लागि नै जंघार नाग्छिन् आमा ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

आमाको माया सबैले जान्नु पर्छ
उनी देवी हुन् सबैले मान्नु पर्छ
आमा बिनाको संसार कहाँ होला
आमा सृष्टिकर्ता हुन ठान्नु पर्छ
र उनले परिवार धान्नु पर्छ ।

नवराज भट्ट
काठमाडौँ

पञ्चाङ्ग ७

आमा! रात दिन पीर छ
न कहिल्यै ठाडो शिर छ
सन्तान प्रति कति माया
दु:ख लेखेको तक्दिरछ
चल्ला किन चिरबिर छ ।

– सूर्य गिरी पोखरा

पञ्चाङ्ग ८

अण्डा पार्नलाई पनि गाह्रो छ
गुँड सार्नलाई पनि गाह्रो छ
बच्चा काढेपछि कुखुरालाई
पिडा टार्नलाई पनि गाह्रो छ
आफैं मार्नलाई पनि गाह्रो छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ९

आफ्नो सृष्टिका लागि कहिल्यै थाक्दिनन् आमा
असमानता मनमा कतै राख्दिनन् आमा
कर्तव्य अनि ममताकी अपार खानी हुन्
समस्याको गर्तबाट कैल्यै भाग्दिनन् आमा
तमाम गर्छिन् केही काम नि साँच्दिनन् आमा ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १०

आमा शब्द सुन्दा मात्रै मन रमाई आउँछ
मातृत्वको यादले झन् आँखा लजाई आउँछ
आमाका ती कोमल हात जादुमय हुन्छन्
तीनै हातले छोई दिँदा शक्ति पलाई आउँछ
आमाको त्यो लोरी सुन्दा निद झकाई आउँछ ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग ११

कोहिछैन यो मनमा तिमीजस्तो आमा
कोहिछैन यो तनमा तिमीजस्तो आमा
शून्य शून्य हुन्छसारै तिमीबिना घरपनि
कोहिछैन यो जनमा तिमीजस्तो आमा
कोहिछैन यो बनमा तिमीजस्तो आमा ।

खोम काफ्ले,
दागाना,निचुला,भूटान

पञ्चाङ्ग १२

भाले होस् वा पोथी मार्ने गर्छन्
अण्डा होस् वा मासु तार्ने गर्छन्
खाने बनाए मान्छेले यहाँ
सानो – ठुला बिच सार्ने गर्छन्
चौटा नै मुखमा पार्ने गर्छन् ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १३

बुझ्नेलाई ह्यानत्यान जोखिममा
नबुझ्नेलाई सारा ग्यान जोखिममा
के भेटिएला र जोखिममा नपर्ने
आमा बिना शिशुको ज्यान जोखिममा
गुरु बिना शिष्यको ध्यान जोखिममा ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १४
आमा शब्द अति महान छ
आमालाई सदा सम्मान छ
निस्वार्थ सेवामा तल्लीन हुने
दायाँबायाँ धेरै सन्तान छ
यहाँ ईश्वरी वरदान छ ।

सन्तानलाई छत्रछायामा राख्छिन् आमा
सधैं अत्याधिक मायामा राख्छिन् आमा
मातृस्नेह जति ठुलो प्रेम अरु छैन
जहिले पनि आफ्नै छायामा राख्छिन् आमा
जुनसुकै बेला उनकै भलाईमा राख्छिन् ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १५
आमा शब्द नै मीठो सन्तानले बोलाउने
उनी बिनाको संसार सम्झदा मनै लोलाउने
स्वार्थ बिना नै हुर्काउछिन् दायाँबायाँ राखिकन
एउटै व्यवहार गर्दै लिइ काखमा सोलाउने
आफ्नो दुःख बिर्सेर बच्चाको लागि कहलाउने ।

अम्बिका अधिकारी
झापा बिर्तामोड

पञ्चाङ्ग १६

प्रकृतिले आमालाई सृष्टि चलाउनु भनेको छ
यो सुन्दर सृष्टिमा मातृत्व फलाउनु भनेको छ
यसरी नै सृष्टि चलिरहनुपर्छ अनन्त सम्म
आमाको मातृत्वले धरा नै गलाउनु भनेको छ
मरुभूमिमा पनि सद्भाव पलाउनु भनेको छ !

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १७

चराले गुँड सारेका छन्
अर्कैले फूल पारेका छन्
जहिले पनि आर्तलाई
आखिर किन मारेका छन्
सबैले तल झारेका छन् ।

– आर्त अकुलीन

पञ्चाङ्ग १८

सन्तानलाई निस्वार्थ माया गर्छिन् आमा
सन्तानका लागि ओरालो नि झर्छिन् आमा
आमा भन्ने शब्द नै कति मायालु हुन्छ
जस्तै दुःख सुखका भेल नि तर्छिन् आमा
सन्तानका हेरक कष्टको हर्छिन् आमा ।

शोभा आचार्य गौतम
काठमाडौँ


सम्बन्धित शीर्षकहरु

मध्य प्रदेशको नीमच जिल्लाका मुकेश प्रजापति अचानक चर्चामा आएका छन् । ३८ वर्षीय मुकेश प्रजापतिले माटोका भाँडाकुँडा बेचेर आफ्नो परिवारको…

हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन्। दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ।…

कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ । कुवेतको…

प्रतिकृयाहरू
...