Friday 6th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय पैँतीसौँ भाग (१३५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : अभ्यासमा दिएको जस्तो हेरेर मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १

चाहिएको फल लिनलाई गोड्नु पर्छ
नानाभाँती कुराहरू गर्न छोड्नु पर्छ
गरिबीले दु:ख धेरै दियो हामीलाई
गन्तव्यमा पुग्नलाई बाटो मोड्नु पर्छ
भविष्य बनाउन सम्पत्ति जोड्नु पर्छ ।

पूर्णबहादुर श्रेष्ठ

पञ्चाङ्ग २

पात झरेको नाङ्गै रहेछ ओत लागेको रुख पनि
नदेखिने गरि घोप्टिएका छौ किन आफ्नै मुख पनि
प्रकृतिले दिएका रात र दिन भोग्नै पर्छ मान्छेले
यसरी एकान्तमा बसेर कहाँ भेटिन्छ सुख पनि
कराएरै हिँडे सधैँ लेखेपछि मेटिन्न दुःख पनि ।

सविता के.सी.

पञ्चाङ्ग ३

पानी बिना बाली सप्रिदैन
माटो बिना आली सप्रिदैन
सकेसम्म कोशिश गरौँ न
हलि बिना फाली सप्रिदैन
तार बिना जाली सप्रिदैन ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४

साहित्यमा तेरोमेरो मपाइँको खेती भयो
सबैभन्दा म नै ठुलो ठेकोभन्दा नेती भयो
च्याउसरी उम्रिएका पगरीका भोका सबै
ताइ न तुई भाका हाल्नु उद्देश्य नै त्यति भयो
आफन्तले खादा भिर्ने इज्यतको क्षति भयो ।

चन्द्रावती अधिकारी
कोहलपुर बाँके

पञ्चाङ्ग ५

अब देशमा कोहि रहेनन् देशभक्तिको गाना मात्रै छ
शिष्टाचार छैन कतै भ्रष्टाचारको कारखाना मात्रै छ
त्यसैले त सज्जनहरु जति भाग्नै खोज्छन् देश छोडेर
सक्ने जति भागीसके अब नसक्ने अनि साना मात्रै छ
देशमा न राज्य छ न प्रहरी जताततै ठाना मात्रै छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ६

जित्नेले कहिलेकाहीँ हारी दिनु न
हार्नेको पोल्टामा जित पारी दिनु न
धन् नभए नी मन् ठुलो छ हजुरको
हर्ष आँसु आँखाबाट झारी दिनु न
र निष्ठुरीलाई माया मारी दिनु न ।

सूर्य गिरी पोखरा
पञ्चाङ्ग ७

दु:ख मेरै भोगाइ मेरै देख्दै गल्छन् म देखि
सुख मेरै कमाई मेरै कोही जल्छन् म देखि
बाटो चिन्न सजिलो रै’छ मान्छे चिन्न गाह्रो
एउटालाई खुशी पार्यो अरू बल्छन् म देखि
बल्ल बल्ल सफल भए डाढे ढल्छन् म देखि ।

लक्ष्मी दास शर्मा
टासिछोलिङ, साम्ची, भुटान

समपञ्चाङ्ग ८


अनुकूल स्थिति छानेको भन्थेँ
जिन्दगानी उभै तानेको भन्थेँ
एकासी आत्तिँदै ढल्न पुगेछु
समयमा चल्न जानेको भन्थेँ
विभाजित श्रेणी मानेको भन्थेँ ।

चिताए अन्सार धानेको भन्थेँ
तारतम्य चौका हानेको भन्थेँ
तर ठाउँको ठाउँमा रहेछु
आकर्षण पहिचानेको भन्थेँ
जीवन कथा बखानेको भन्थेँ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग ९

आदिदेखि अनादिसम्म छाएका कृष्णजी
पाण्डवलाई न्याय दिन आएका कृष्णजी
गोकुलमा जन्मिएर मथुरामा पुगेका
बाँसुरीको धुनमा गीत गाएका कृष्णजी
गाउॅमा पसी दही चोरी खाएका कृष्णजी ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १०

स्वर्ग हेर्नलाई पहिला मर्नु पर्छ
मरिसके पछि वैतर्णी तर्नु पर्छ
त्यसै स्वर्गमा कहाँ जान पाइएला
जीवित हुँदा राम्रो काम गर्नु पर्छ
गरिबलाई दान दिन सर्नु पर्छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ११

अनुपम फूल समाएर गए
कसैलाई आफै थमाएर गए
जिन्दगानी किन बुझ्न गाह्रो भयो
हाँसे खेले अनि रमाएर गए
आर्त भने आँसु कमाएर गए ।

– आर्त अकुलीन

पञ्चाङ्ग १२

आएन भन्दाभन्दै आयो रसले
सुख्खा यो जगतमा छायो रसले
पानी महत्त्वपूर्ण छ जीवनमा
आहा चराचुरुङ्गी गायो रसले
जमिनले नि रुझ्न पायो रसले ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १३

उनले मलाई तताएर गइन्
दिन र रातमा सताएर गइन्
यसपालिको बजेट सुनेपछि
रक्सी खुवाएर मताएर गइन्
आज सत्य कुरा बताएर गइन् ।

• देवी पन्थी/”

पञ्चाङ्ग १४
खट्न र अट्न सक्ने थुप्रै थुप्रै लजालु बानी छन्
कुनै प्रहरमा आकृष्ट हुने प्रविष्ट दानी छन्
वैरी नै धाए पनि, वृष्टिको बादल छाए पनि
हरेक दृश्य झल्काउने , यिनै आँखाका नानी छन्
अव्यक्त आँखाका नानीमा निर्मल थोपा पानी छन् ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १५

स्वदेश मै पसिना बगाउँ बिदेश किन जानुपर्यो
मन आफ्नु देशमै लगाउँ बिदेश किन जानुपर्यो
परदेशमा गर्ने दुःख आफ्नै देशमा गरौं मिलेर
स्वदेश मै ज्योति जगाउँ बिदेश किन जानुपर्यो
देशको नै बिकास गराउँ बिदेश किन जानुपर्यो ।

खोम काफ्ले,
दागाना, निचुला, भूटान

पञ्चाङ्ग १६

अन्जानमा कसैलाई दु:ख दिनु नपरोस् भन्छु
जस्तोसुकै पीर परे पनि आँसु नझरोस् भन्छु
मान्छे मान्छै भएर जीवन भरी बाँच्न खातिर
गरीबको पनि चाडपर्व सहजै टरोस् भन्छु
हरेक नेपालीको मुहारमा खुसी भरोस् भन्छु ।

राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

पञ्चाङ्ग १७

सबैले केही न केही कर्म समाउनु राम्रो
मेहनत र परिश्रमले कमाउनु राम्रो
कतिले चाहन्छन् तिमी जस्तै भएर जिउन
अरूलाई पिर नपारेर जमाउनु राम्रो
अनि आफूसँग भएकोमा रमाउनु राम्रो ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १८

मेरो त आँसु बाहेक केही छैन साथी
सुख सुविधा केहो? त्यो छैन चैन साथी
शान्ति आउँछ प्रभात बनी सन्ध्यासँग
मधुर सम्बन्ध कहिले भैन साथी
सोचे जस्तो पुग्ने त्यस्तो पनि हैन साथी ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।


सम्बन्धित शीर्षकहरु

मध्य प्रदेशको नीमच जिल्लाका मुकेश प्रजापति अचानक चर्चामा आएका छन् । ३८ वर्षीय मुकेश प्रजापतिले माटोका भाँडाकुँडा बेचेर आफ्नो परिवारको…

हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन्। दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ।…

कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ । कुवेतको…

प्रतिकृयाहरू
...