पुष्कर अथक रेग्मी – नमस्ते आधुनिक लघुकथा मञ्चको छैठौं वार्षिकोत्सबको अवसरमा दोस्रो दिन मञ्चको वालमा लघुकथाकार लक्ष्मण अर्यालद्वारा लिखित एवं संप्रेषित कथाको शीर्षक ‘चोर’ हो ।
के काम गरेको थिइस र पकडाउ परिस भनी पुलिसले सोद्धा चोरले सटिक जवाफ दिन्छ ” जीवनवृत्ति ” । नेपाली शव्दकोष अनुसार जीवनवृत्तिको अर्थ खाइजिविका, जिविका,परबस्ती,रोटी ,वर्तनी भन्ने हुन्छ ।
सुखदुखका साथ रोजीरोटी गरी बसेका व्यक्तिलाई चोर भनी समातिन्छ र केरकार गर्ने क्रममा पुलिसढले आफूबाट केहि प्रतिफल नपाएकोले समातिएको हुँ भन्रे रहस्योद्घाटन सहित कथाको समापन हुन्छ ।
पुलिस र चोर पात्र रहेको सम्वादात्मक शैलीको कथा पुलिस चौकीकै सेरोफेरोमा चोरद्वारा ,” यसपल्ट तपाईंका मान्छेलाई अलिकति प्रसाद नबाड्दा म पकडाउमा परे” भनी कथा समाप्त हुन्छ । कथाको समाप्तिनै यतिको बलियो छ कि जसबाट सयौं कथाहरूको पुनर्जन्म हुन्छ।
समाप्तिसंगै नेपाली जनताका दैनन्दिनीसंग गासिएका यक्ष प्रश्न, प्रशासनिक अक्षमता, भ्रष्टाचार , दलाली र घुसघोरीसंग सम्बन्धित अनुत्तरित प्रश्नहरूको उठान भएको छ ।
बिशेषत : मुलुकको गृह प्रशासनभित्रनै दरो आर्थिक चलखेल हुने, कमिसन खानु, खुवाउनु पर्ने , दोषि भन्दा निर्दोषिलाई सजाय दिइने, प्रमाण विनानै गिरफ्तार गर्ने, केसहरूलाई विषयान्तर गर्ने ,मुद्दाको उठान र सम्बोधन न्यायसंगत नहुनु जस्ता कार्यहरू बढदै गएको परिप्रेक्ष्यमा ‘चोर’ कथाले साच्चैनै लुकेका चोरहरूलाई उदाङ्गो पारिदिएको छ ।
विम्ब र प्रतीकको प्रयोगसंगै बौद्धिक पाठकका लागि संप्रेषित कथा सशक्त र कुरोमा चुरो भएको कथा रहेको छ । उपयुक्त शव्द चयन र आवश्यक सम्वादमा संरचित कथा
पाठकका लागि महनीय, स्रष्टाका लागि मननीय,द्रष्टाका लागि उदाहरणीय , सोंचका लागि अनुसन्धानीय एवं सबैका लागि संग्रहणीय रहेको छ । लघुकथाकारलाई बधाई !
******
मूल कथा
लघुकथा : चोर
लघुकथाकार :लक्ष्मण अर्याल
पुलिसले उसलाई केरकार गर्दै भन्यो – “किन ल्याए तँलाई यहाँ ?”
उसले भन्यो – “मेरो काम तिनीहरूलाई मन परेन रे साप ।”
“के काम गरेको थिस् र त्यस्तो ?” – पुलिसले सोध्यो ।
“जीवनवृत्ति ।” – उसले छोटोमै उत्तर दियो ।
पुलिसले फेरि सोध्यो – “कस्तो जीवनवृत्ति ? के भन्न खोज्या खुलस्त भन् ।”
उसले ह्वाङ्गै खोल्यो – “चोरी ।”
“चोरी गर्नु पाप हो । किन चोर्छस् यसरी तँ ?” – पुलिस अलिकति आदर्श मोलेर बोल्यो ।
उसले पिटाइको पर्वाह नगरेरै भन्यो – “भोकले । भोको पेटले धर्म र पाप छुट्याउनै सक्दैन साप । सुन्नुस् न – यसपल्ट तपाईंका मान्छेलाई अलिकति प्रसाद नबाँड्दा म पक्राउमा परेँ ।”