प्रशिक्षक :
 ———–
 रामराजा के.सी.
 नारायण प्रसाद निरौला
 भाषा शुद्धीकरण
 —————-
 चन्द्रावती अधिकारी
 चित्र सङ्कलन
 —————
 सामाजिक सञ्जाल
 समायोजक
 ————–
 सविता के.सी.
 आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
 हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसय नौ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
 नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।
 चित्रमा पञ्चाङ्ग
 ===========
 पञ्चाङ्ग १
मजदुरको हातमा हलो टुटेको छैन
 दुई छाक टरेेको छ भलो फुटेको छैन
 जसको शक्ति उसको भक्ति छ देखिएको
 अभावमा हुने मन अझै जुटेको छैन
 काम कै हतार कामबाट छुटेको छैन ।
सविता के.सी.
 दक्षिणकाली- ९
पञ्चाङ्ग २
पानी नपर्दा ऐले जोतेर काम छैन
 जोत्नुमात्रै हुनेछ भोकमा माम छैन
 लामै खडेरी पर्यो यो सालमा किन हो,
 जाऊॅ बाहिर भने गतिलो ठाम छैन
 राम्रो ठाउॅमा जान गोजीमा दाम छैन।।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग ३
गर्व गर्छु म कृषक पसिना बगाउँदै हजुर
 मेहनतमा श्रम अनुदान लगाउँदै हजुर
 हलो र जुवा काँधमा प्यारो लाग्ने आफ्नै मातृभूमि
 अर्गानिक उब्जनीसंगै फल जगाउँदै हजुर
 आफनै परिवेशमा खुसी मग मगाउँदै हजुर ।
संगीता खरेल
 चन्द्रागिरी ८ काठमाडौँ
पञ्चाङ्ग ४
अन्न छैन घरमा चुल्हो बलेर मात्र के भो
 काम गर्दागर्दा आङ नै गलेर मात्र के भो
 कुरा साँचो छ,गरिबीको अन्त्य गर्ने खाँचो छ
 श्रम विना शून्य आश्रम चलेर मात्र के भो
 कामको कदर खै मन जलेर मात्र के भो ?
प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ५
उकाली ओराली झर्नुछ सधैँ
 कृषकले काम गर्नुछ सधैँ
 छैन अझै सिँचाइकाे सुविधा
 प्रकृतिको भर पर्नुछ सधैँ
 दु:खकाे सागर तर्नुछ सधैँ ।
सूर्य गिरी -पाेखरा
पञ्चाङ्ग ६
कुटो र कोदालो गरि खानै पर्ने रहेछ
 तब मात्रै अन्न भकारीमा भर्ने रहेछ
 रातदिन कामैकाम मात्र किसानलाई
 जाडो गर्मी सधैँ लेकबेँसी गर्ने रहेछ
 कहिले त खेतमै बसाईँ सर्ने रहेछ ॥
 सीमा कार्की समर्पण
 मेलचोक पर्सा
समपञ्चाङ्ग  ७
 १
 ज्ञानको आश्रयले अन्धकारलाई हटाउँछ जान्नु
 एक ठाउँ नचाहेको अर्को ठाउँमा अटाउँछ जान्नु
 चाहे मानिस कै कुरा गरौँ लखेट्यकाहरूको यहाँ
 त्यो पीडाले रोएको मनलाई सुख सटाउँछ जान्नु
 मानसिक वेदनालाई दृष्टान्तले घटाउँछ जान्नु ।
 २
 भोको पेटले परिश्रमको खातिर खटाउँछ जान्नु
 उही परिश्रमकै कारण त्यो भोक हटाउँछ जान्नु
 हलो कोदालोको कामले असिनापसिना बनाउँदै
 हातमा कौशल नहुनेलाई डाँडा कटाउँछ जान्नु
 कटाउने मात्र कहाँ, मनको ढ्याङ्ग्रै ठटाउँछ जान्नु ।
अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग ८
जोत्ने मात्रै गरेको गोरु कुटेको छैन
 सबै कुरा देख्दैछु आँखा फुटेको छैन
 किसान मजदुरको दुःखको जिन्दगी
 उन्नत खाले मल बिउ जुटेको छैन
 जति गरे पनि गरिबी छुटेको छैन ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग ९
जहान पाल्ने किसानको रहर कति
 खेतमा पानी सिच्ने छैन नहर कति
 श्रमिकको कुरा सुन्ने होइन कसैले
 मल बीउ माग गर्दा कहर कति
 मुखबाट ओकल्छन ती जहर कति ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग १०
किसानको हात बाट हलो कोदालो छुट्ने कहिले हो
 मज्दुरहरूले प्राकृतिक रुपमा जुट्ने कहिले हो
 मज्दुर दिवसमा त नारा लाउँछन् अनेक थरीका
 नारा अनुसार नि किसानको भाग्य फुट्ने कहिले हो
 दमदारका साथ किसानले भाग्य लुट्ने कहिले हो ।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग ११
धेरै सजिलो काम पाएका छौँ
 अन्न बेचेर दाम पाएका छौँ
 तर किसानको नै छैन वास्ता
 कृषक छ र माम पाएका छौँ
 कृषि देशको नाम पाएका छौँ ।
अरुण कुमार भुजेल
 गोरूबथान,कालिम्पोङभारत
पञ्चाङ्ग १२
किसानले नित्य परिश्रम गर्दछन् खेतमा
 हलाे गाेरु लिइ गाउँ बेसी झर्दछन् खेतमा
 कृषि कर्म नगरे बसि खानेले पाे के खानु
 ठुलै खाेला भएपनि पारि तर्दछन् खेतमा
 धेरै उब्जनी पाउन आस छर्दछन् खेतमा ।
सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग १३
दिवस मनाइन्छ दुःख टुटेको छैन
 खाडीमा पुगे पनि आश छुटेको छैन
 फाइदा जति हाम्रै नामको लिन्छन् किन ?
 बोलीमा समृद्ध काममा जुटेको छैन
 अझै नि विकासको मूल फूटेको छैन ।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग १४
यहीँ आउ न मजदुर दिवसलाई दिन बनाउनु पर्यो
 बाँझिएको बारी खन तिमी अरुलाई पनि खनाउनु पर्यो
 कति गर्यौ मजदुरी अर्काको देशमा कति छर्यौ नि पसिना
 कृषि गरौं यहीँ देशलाई कृषिप्रधान नि भनाउनु पर्यो
 अब त बुढी आमासङ्गै बसेर चाड पनि मनाउनु पर्यो ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग १५
किसान हुँ आफ्नो धर्म कर्म भुल्न सक्दिनँ
 जतिसुकै होस् फाइदा अन्त फुल्न सक्दिनँ
 भएको मन मस्तिष्क बिगार्नु कसरी पो?
 मौका आयो भन्दैमा लोभमा चुल्न सक्दिनँ
 घुमन्ते झैँ कामै छाडि कतै डुल्न सक्दिनँ ।
#पृथक प्रकृति ,झापा
 पञ्चाङ्ग १६
बञ्जर भूमी जोत्नेहरू नी किसान हुन्छन्
 गाई गरू पनि किसानका परान हुन्छन्
 हेला नगरौँ पशु सम्झि गाई गरू लाई
 मानिसको झैँ उन्को पनि योगदान हुन्छन्
 हामी सबै मिले समस्या समाधान हुन्छन् ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग १७
सबैले आ-आफ्नो कर्म गरे राम्रो
 आर्तलाई सके धर्म गरे राम्रो
 रमाए माटोमा खेतीवाल दाइ
 खुसीले कृषिमा पर्म गरे राम्रो
 रमाएर सारा नर्म गरे राम्रो ।
– आर्त अकुलीन
पञ्चाङ्ग १८
कर्मनै धर्म भनेर खेतबारी जाेत्ने गरे
 शृङ्गार गर्ने भनेर वरिपरी पाेत्ने गरे
 सत्यता हरायाे नक्कलीकाे मात्र बिगबिगी
 सत्ता आफै भ्रष्ट भएर आफन्त पाेस्ने गरे
 निम्छराे जनता चारैतिर बाट साेस्ने गरे ।
प्रद्युम्न चालिसे
 भक्तपुर कटुञ्जे
पञ्चाङ्ग १९
काँधमा बाेकेर हिँड्नुछ मैले याे हल छ भारी
 खेतमा जाेतेर हाल्नुछ मैले याे मल छ भारी
 ज्यान याे पालेर भर्नुछ मैले भकारी देशकाे,
 क्या गर्ने हाेला साेच्नुछ मैले याे पल छ भारी
 बीउ त्याे राेजेर राेप्नुछ मैले याे कल छ भारी ।
टीकाराम जाेशी, टीकापुर ।
पञ्चाङ्ग २०
मजदुरकाे हातबाट हलाे छुटेकाे छैन
 नहेप्नुस् प्रभु उसकाे भाग्य फुटेकाे छैन
 सब थाेक नै पुग्छ पसिनाकाे कमाईले
 अझै सही समय उसकाे जुटेकाे छैन
 यहाँ भाग्य कसैले कसैकाे लुटेकाे छैन
 नवराज भट्ट
 कञ्चनपुर
 
 














