Monday 23rd March 2026

सेनकालीन ऐतिहासिक आख्यानः अस्तित्व – शुन्योध्याय


पुष्कर अथक रेग्मी – गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ । भगवान नारायणको शरीरबाट उत्पन्न कृष्णगण्डकी (कालीगण्डकी) र भगवान शिवको त्रिशुल प्रहारबाट उत्पन्न त्रिशुलगङ्गा (त्रिशुली) को सङ्गमस्थललाई देवघाट हरिहरक्षेत्र धाम अर्थात श्रीमहादेवको जटाबाट निस्किएको स्वेत गङ्गा र श्रीविष्णुको पसिनाबाट निस्किएको कालीगंगाको एकाकारस्थल, कल्याणकारी पवित्र देवतीर्थ धाम भूस्वर्ग देवघाट हो । माघ महिनाको पहिलो दिन सूर्य मकर राशीमा पदार्पण गर्दा मनाइने मकर संक्रान्ति पर्व देवघाटको अति महत्त्वपूर्ण सांस्कृतिक पर्वको रुपमा रहेको छ ।

आज माघे संक्रान्ति देवघाटमा अपूर्व अद्भूत मेला लागेको छ । म पनि ऐतिहासिक शोध, खोज, सोंच, ओज र अठोटपूर्ण कार्यको लागि देवघाटस्थित चक्रशिला मन्दिर पुगेको छु । माघे जाडो, चिसो मौसम, झमक्क साँझ ढलेर रात परिसकेको अवस्थामा मैले दुवै हात जोडी एक सय आठ पटक चक्रशिला मन्दिर परिक्रमा गरी ढोकामा शिर निहुराई ढोग गर्दा दिव्य आकाशवाणी भयो, “हे अथक । तिमी प्रातः मध्यान्ह र साँयकालीन समयमा पनि आएर मेरो परिक्रमा ढोग गरेका थियौ। अहिले रात पर्दा पुनः आएका छौ । के मनसुवाले आएका हौ ? कह वत्स ।”

दिव्य आकाशवाणी सुनेपछि आश्चर्यचकित हुँदै मैले शिर उठाएँ । बन्द भइसकेको मन्दिरको ढोका उघ्घेर भित्र झिलिमिली उज्यालो भइरहेको पाएँ । विस्मित चकित भई बोल्न नसकी दुबै हात जोडिरहँ । फेरि आकाशवाणी भयो, “अथक आऊ, भित्रै आऊ, कह । के कहन, माग्न आएका छौ ? वत्स कह, माग ।”
म हात जोड्‌दै भित्र गएँ । चक्रशिलालाई ढोग गरें । दुवै घुँडा टेकेर हात जोड्दै बिन्ती गरेँ, ‘प्रभु, हजुरको निगाहले ममा सम्पूर्ण भरिपूर्ण छ । यो भरिपूर्ण सुख, शान्ति, समृद्धि, पुस्तान्तरणसम्म रहिरहनेछ ।”

‘वत्स तिम्रो मनको कुरा कह । चक्रशिलाबाट वाणी आयो ।

‘प्रभु, अस्तित्वको खोजीमा आएको हुँ । मैले भनें ।

‘अस्तित्व खोजेर पाइने कुरा होइन । वत्स । यो त भाव अवस्था सत्ता विद्यमानता हो। चक्रशिलाबाट दिव्य वाणी आयो ।

‘प्रभु मलाई सेनकालीन पाल्पाको अस्तित्वको कथा सुन्ने, लेख्ने, सुनाउने र चरितार्थ गराउने मनसुवा छ । कथा आज्ञा होस् प्रभु । मैले हात जोड्दै, निहुँरिदै, ढोग गर्दै भर्ने ।

‘वत्स, अस्तित्वको कथा लामो छ । तिमीलाई म अहिले संक्षेपमा मात्रै कहन्छु ।’ चक्रशिलाबाट वाणी आयो ।

‘आज्ञा होस् प्रभु । म कथालाई श्रवण गर्दै विभिन्न अध्यायमा लिपिबद्ध गर्दै अस्तित्व माहात्म्य तयार पार्नेछु ।’ भनी मैले झोलाबाट कलम र कागजका पानाहरु निकाली, सजिलोसँग बसी लेख्ने तयारीमा रहें ।

चक्रशिलाबाट दिव्य वाणीमा आज्ञा भयो, ‘हे अथक ! तिमीदेखी म अति प्रसन्त भएँ । सर्वप्रथम यो कथा तिमीलाई नै कहँदैछु । सुन, लेख र चरितार्थ गर ।”
(अथकको सेनकालीन ऐतिहासिक आख्यान ‘अस्तित्व’ बाट क्रमश …)


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...