Thursday 2nd May 2024

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने


गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट तेश्रोपटक विश्वासको मत लिने भएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर पुनः एमालेसहितको नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री दाहालले तेश्रो पटक विश्वास मत लिनुपर्ने अवस्था बनेको हो । बुधबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने कार्यसूची रहेको छ । गतवर्ष पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले यसबीचमा तीन पटक गठबन्धन फेरबदल गरिसकेका छन् ।

पहिलो पटक विश्वासको मत लिँदा प्रतिनिधिसभाको दुई तिहाईभन्दा पनि धेरै मत पाएका प्रधानमन्त्री दाहाललाई दोश्रोपटक बाट भने सत्ता टिकाउनै हम्मे परेको छ । यसपटक पनि प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने र सरकार टिकाउने सहज बातावरण बनाउन सफल भएका छन् ।

नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादीले आफ्नो दलको हैसियतबारे प्रश्न गरेपछि प्रधानमन्त्री दाहाललाई विश्वासमा लिन सकस परेको थियो ।

तर मंगलबार फेरि सत्ता गठबन्धनका साझेदारबीच सहमति पत्रमा हस्ताक्षर भएपछि बुधबार उनले विश्वासको मत पाउने निश्चित छ ।

यसपटक उनलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीले पनि दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन् ।

अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ । दाहाललाई विश्वासको मतका लागि यो मत पर्याप्त छ ।

उनको विपक्षमा भने प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतसँग ६, लोसपासँग ४, नेमकिपा र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् ।

दाहाल २०७९ पुस १० गते एमालेको प्रस्तावमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए । पहिलो पटक उनले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका थिए । यस्तै विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले समेत विश्वासको मत दिएका थिए ।

त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए ।

तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचन पूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यसबेला भने २६२ सांसद उपस्थित रहेकोमा विश्वासको मतको पक्षमा १७२, मत परेको थियो ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...