पुष्कर अथक रेग्मी – पाल्पाली सेनहरूको वंशवृक्षलाई नियाल्दा अभय राणाका खलक चितौरका राजा रत्नसेनका वंशज धर्मपाल सेन, रिब्दीकोट रियासतका राजा (१४७७–१५००) भएपछि यिनैका पनाती चन्द्रसेनका छोरा रुद्रसेन गद्दी (१५४७–१५७५) मा बसे । यिनै रुद्रसेनले रिब्दीकोटबाट राजधानी पुराना कोट अर्थात पाल्पामा कायम गरी शासन गरेपछि यिनी पाल्पा राज्यका संस्थापक भए । रुद्रसेनकी जेठी महारानी आसनमालाको कोखबाट जन्मेका राजा मुकुन्द सेन (प्रथम) पाल्पाका राजा (१५७५–१६१०) भए । यिनको पालामा पाल्पा राज्य पूर्वमय ब्रह्मपुत्र र गंगाको संगमस्थल, पश्चिममा कुमाउ गढवाल हुँदै श्रीनगर, उत्तरमा धवलागिरी हिमाल मुक्तिक्षेत्र र दक्षिणमा हरिहर क्षेत्रसम्म फैलिई विशाल पाल्पा राज्य हुन पुग्यो र यिनी चक्रवर्ती महाराज मणिमुकुन्द सेन (प्रथम) को रूपमा प्रतिष्ठापित भए ।
विशाल पाल्पा राज्यमा ३५ वर्षसम्म शासन गरी आफूले एकीकृत गरेका राज्य प्रदेशहरूमा शान्ति, सुरक्षा, सुव्यवस्था कायम भई पुत्र, भाई भतिज काकाहरूद्वारा राज्यको संघीय प्रशासन निष्कन्टरूपले चलिरहेको देखि पुत्र माणिक्य सेनलाई केन्द्रीय राज्य पाल्पाको राजा बनाई मुकुन्द सेन (प्रथम) तपस्या गर्न पवित्र तीर्थस्थल देवघाट धाम गए ।
बाबुको गमनपश्चात् राजा माणिक्य सेनले संघीय राज्यका प्रशासकहरूलाई नियन्त्रणमा राख्न नसक्दा उनीहरू आफै जो जो जुन जुन क्षेत्रमा प्रशासक थिए, सोही क्षेत्रका स्वघोषित राजा भए । पाल्पा राज्यको तराई खण्ड बुटवल क्षेत्रमा विनायक सेन राजा भएसँगै यिनले बुटवललाई आफ्नै नामबाट विनायकपुर भनी घोषणा गरे । यिनले बाबु मणिमुकुन्द सेनले निर्माण गरेको मठ मन्दिर, दरवारहरूको संरक्षण गर्दै आफूले पनि गणेश, भगवती, हनुमान र शिवजीको मूर्तिहरू स्थापना गरे । विनायकपुरको फूलवारी परिसरभित्र बाबु मणिमुकुन्द सेन र विनायक सेन समेत भई लगाईएका आँपका पुराना वृक्षहरू अधावधी देख्न सकिन्छ । बुटवलमा विनायक सेनले राज्य गरिरहेको समयमा भारतमा वादशाह अकवरले स्वतन्त्रता, उदारता र कुशलतापूर्वक शान्तिपूर्ण शासन गरिरहेका थिए । वादशाह अकवरको सारा शक्ति मेवाड चितौर अर्थात् दक्षिण भारत विजय गर्नमा लागेकोले बुटवलदेखि गोरखपुरसम्मका प्रदेशहरूमा विनायक सेन र उनका सन्ततीहरूले धेरै पछि सम्म नै सेन वंशी शासन कायम राखेका थिए ।
विनायक सेनपछि क्रमशः जसुसेन, दामोदर सेन र बलभद्रसेन राजा भएपछि पाल्पाका राजा माणिक्य सेनको सन्तानको अपुताली परेकोले बुटवलका राजा अम्बर सेनले बुटवलसहित तराई क्षेत्रलाई पाल्पामा गाभी पाल्पाका राजा भए । अम्बर सेनपछि क्रमशः गन्धर्व सेन, उद्यत सेन (युवराज छँदै स्वर्गीय) र मुकुन्द सेन (द्वितीय) राजा भए । यिनको पालामा पाल्पा राज्यको पुनविस्तार भई पूर्वमा देवघाट, पश्चिममा अर्घा, उत्तरमा धवलागिरी हिमाल र दक्षिणमा गोरखपुरसम्म फैलिएको थियो । यिनको पालामा पाल्पा राज्य समृद्ध वैभवशाली बन्दै गयो । पाल्पामा मुकुन्दसेन (द्वितीय) ले राज्य गरिरहँदा गोरखाका राजा पृथ्वी नारायण शाह नेपालको एकीकरण अभियानमा जुटिरहेका थिए ।
मुकुन्द सेन (द्वितीय) धार्मिक प्रकृतिका राजा थिए । यिनले मठ मन्दिरहरू निर्माण र संरक्षण गरे । रूरूक्षेत्र धाम, रिडीको ऋषिकेशव मन्दिर, पाल्पा भैरवस्थान, देवघाट, बुटवलका जीर्ण मन्दिरहरू, दरवारहरू पुर्ननिर्माण गरे । यिनको पालादेखि नै पाल्पालीको आराध्यदेव भैरवनाथको मन्दिर र रूरूक्षेत्र धाम ऋषिकेशवको मन्दिरमा पुजा गर्दा पञ्चेबाजा बजाउनुपर्ने परम्पराको विकास भयो । मुकुन्दसेन (द्वितीय) को पालामा बुटवलको तिनाउ खोलापारी उत्तरपश्चिमको फूलबारी क्षेत्रमा दरबार निर्माण गरी रङ्गमहल नामाकरण गरे । नेपाल अंग्रेज युद्धको समयमा समेत कर्णेल उजिरसिंह थापाले रङ्गमहल दरबार परिसरभित्र नेपाली सेनाको क्याम्प खडागरी अंग्रेजहरूलाई युद्धमा परास्त गरेका थिए ।
सेन राजाहरूको दरबारहरूमध्ये दक्षिणी पाल्पा, बुटवल क्षेत्रको रङ्गमहल दरबार, शीतकालीन दरबार थियो भने गृष्मकालीन समयका लागि पाल्पा, प्रभास, नुवाकोट र श्रीनगरमा दरबारहरू बनेका थिए । सेनकालीन दरबारहरूको खोजीनीति गर्दा दरबार मात्रको नभई पाल्पा र बुटवलमा थुपै्र सेनकालीन सम्पदा र धरोहरहरू छरिएका पाइन्छन् । यद्यपि यी दुवै क्षेत्रमा उत्खनन्सहित विशेष खोज अनुसन्धान हुन बाँकी नै छ ।
करिब ५ विघाहा क्षेत्रफलमा बुटवल फूलबारीभित्र थुप्रै सेनकालीन धरोहरहरू छरिएका छन् । जसमध्ये सदिऔंदेखि घामपानी, हुरीबतासलाई सहँदै सेनकालीन स्थापत्यकला, कौशल र सम्पदालाई जीवन्त प्रमाणको रूपमा पेश गर्दै बुटवल दरबार (रङ्गमहल) को उत्तरी भित्ता र केही भागहरू खण्डहरको रूपमा ठिङ्ग उभिएको छ ।
विनायक सेनले बुटवलमा शासन गर्दा यस क्षेत्रमा सानो महल बनाई राज्यसत्ता सञ्चालन गरेका थिए र यसै महललाई विस्तार गरी ठूलो बनाउने सोच लिएका थिए । पछि राजा मुकुन्दसेन (द्वितीय) को पालामा ५० हात लम्बाई र २० हात चौडाई क्षेत्रफलमा फैलाई तीनतले रङ्गमहल अर्थात् बुटवल दरबार निर्माण भयो । तत्कालिन समयमा भारत र पाल्पाकै कालीगढहरूद्वारा मुगल शैली र नेपाली शैलीको सम्रीश्रण गरी मिश्रित शैलीमा दरबार निर्माण कार्य सम्पन्न भयो ।
दरबारको जगमा बलिया र्इंंट्टाहरू, कहीँ ढुङ्गा तथा ईंटका गाह्रोहरू ९ फिट लम्बाई, ६ फिट चौडाई र २ फिट मोटाई भएका पक्की पाको ईंटाका गाह्रोहरू लगाइए । पर्खाल, गारो, भित्ता, कोठा, बरण्डाहरू आदि निर्माण गर्दा ढुङ्गा, पाको र्इंट्टा, टायल, झिंगटी, काठ, माटो, भुस आदि प्रयोगमा ल्याइए । चुना, भेली, मास, भुस आदि मिश्रित सुर्कीद्वारा बग्रलेपन गरियो ।
पहिलो र दोस्रो तलामा काठले छाएपछि तेस्रो तलाको छाना झिंगटीले छाइयो । छाना छाउँदा ९ इन्च लम्बाई, ४ इन्च चौडाई र १ इन्च मोटाइका झिंगटीहरू प्रयोगमा ल्याइए । गेरु, रातो, कालो, पहेंलो, सेतो, नीलो आदि रंगको प्रयोग गरी रङ्गमहल भव्य, दिव्य र नव्य रूपमा ‘अन्तःपुर’ शैलीमा शोभायमान पारियो । दरबारको वरीपरी बगैंचा निर्माण गरियो । वृक्षहरू लगाइए । जुन कतिपय अधावधी रहेका छन् ।
यो ऐतिहासिक रङ्गमल हाल बुटवल फुलबारीस्थित मणिमुकुन्द पार्कभित्र दरबारको उत्तरी भित्ताबाहेक अन्य सबै संरचनाहरू भग्नावशेषका रूपमा रहेका छन् । वर्तमान समयमा भग्नावशेषलाई अवलोकन गरी हेर्दा विभिन्न कालखण्डमा विभिन्न किसिमले दरबार प्रयोगमा ल्याइएको पाइन्छ । मुगल शैलीमा खोपा र झ्यालका चोंसाहरू, गारोमा भएका चरहरू, चौकोस विनाका झ्याल ढोकाहरू, र्इंट्टा र ढुङ्गाहरूले बनेका फरक–फरक संरचनाहरूले गर्दा दरवार समय समयमा पुनर्निर्माण हुँदै आएको भन्ने पुष्टि हुन्छ । यद्यपि बुटवल दरबार ः रङ्गमहल कहिले र कसरी भत्कियो भन्ने बारेमा यकिन हुन सकेको छैन । रङ्गमहल दरबार निर्माण र संरक्षणको पर्खाइमा रहेको छ । आगामी दिनमा रङ्गमहलप्रति सरोकारवालाहरूको शोध, खोज र सोंचमा अभिवृद्धि भएको खण्डमा र राज्यद्वारा ध्यानाकर्षण भई लगानी भएको अवस्थामा सेनकालीन बुटवल दरबार ः रङ्गमहलबारे नविनतम अनुसन्धानात्मक ऐतिहासिक तथ्यहरू सार्वजनिक हुँदै जानेछन् । सेनकालीन भाषा, कला, संस्कृति, साहित्य, सम्पदा, परम्परा र धरोहरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि हामीले आ–आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरौं । (लेखक स्रष्टा समीक्षक हुन् ।)
सन्दर्भ सामग्रीहरू ः
खनाल, मोहनप्रसाद (२०६१) सेन राज्यको राजनीतिक इतिहास, काठमाडौं ः नेपाल र एसियाली अनुसन्धान केन्द्र ।
घिमिरे, विष्णुप्रसाद (२०४५) पाल्पा राज्यको इतिहास, भाग–१, चितवन ः पदमा घिमिरे ।
घिमिरे, विष्णुप्रसाद (२०५६) पाल्पा राज्यको इतिहास, भाग–२, चितवन ः चितवन अध्ययन केन्द्र ।
रेग्मी, पुष्कर अथक (२०७९) अनुस्मृति, ऐतिहासिक प्रबन्ध संग्रह, पाल्पा ः पाल्पा साहित्य समाज ।
रेग्मी, पुष्कर अथक (२०८०) अस्तित्व, सेनकालिन ऐतिहासिक आख्यान, पाल्पा ः पाल्पा साहित्य समाज ।