Monday 6th April 2026

बंगलादेशमा चुनावमा शेख हसिना विजयी, लगातार चौथो पटक प्रधानमन्त्री बन्ने


विगत १५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकाल जितेकी छिन् ।

शेख हसिनाको पार्टी अवामी लिग र उनका सहयोगीहरूले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितिसकेका छन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन स्थगित भएको छ ।

देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उसका सहयोगीहरूले यो निर्वाचन बहिष्कार गरेका छन् । यस कारणले शेख हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ।

बीएनपीले भोटिङमा धाँधली भएको आरोप लगाएको छ । आइतबारको नतिजा बीएनपीका नेता र उनीहरूका समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो। निर्वाचनको नतिजा सोमबार औपचारिक रुपमा घोषणा हुने बताइएको छ ।

आधिकारिक तथ्याङ्कले मतदान निकै कम रहेको र करिब ४० प्रतिशत मात्रै मतदान भएको देखाएको छ । आलोचकहरूले त यी तथ्याङ्कहरू पनि बढाइचढाइ गरिएको बताउँछन् ।

स्वतन्त्र उम्मेदवारले ४५ सिट जितेका छन् । यी स्वतन्त्रहरू पनि अवामी लिगकै रहेको बताइएको छ । जबकि जातीय पार्टीले आठ सिट जितेको छ ।

पहिलोपटक सन् १९९६ देखि २००१ सम्म बंगलादेशको प्रधानमन्त्री भएकी शेख हसिनाको यो समग्रमा पाँचौं र लगातार चौथो कार्यकाल हो।

भोट दिएपछि शेख हसिनाले पत्रकारहरूलाई भनिन्, “म यो देशमा प्रजातन्त्र कायम होस् भन्ने सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेकी छु।”

अर्कोतर्फ, मानवअधिकार संगठन ह्युमन राइट्स वाच (एचआरडब्लु) ले अक्टोबर २८ मा विपक्षी र्‍यालीमा भएको हिंसापछि झण्डै १० हजार कार्यकर्ता पक्राउ परेको अनुमान गरेको छ । यस हिंसामा १६ जनाको मृत्यु भएको छ भने ५,५०० भन्दा बढी घाइते भएका छन् ।

संगठनले बंगलादेश सरकारले ‘सत्तारुढ अवामी लिगका राजनीतिक विरोधीहरूले जेल भरेको’ आरोप लगाएको छ। तर, अवामी लिगले यी आरोप अस्वीकार गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...