Monday 27th January 2025

एनआरएनए कुवेतले इ-पासपोर्ट लगायतका नेपाली श्रमिकका समस्या समाधान गर्ने विषयमा दूतावासलाइ बुझायो ज्ञापन पत्र


कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषयद कुवेतले कुवेतमा रहेका नेपाली श्रमिकका गुनासो सम्बोधन गर्न नेपाली राजदूतावास कुवेतमा ज्ञापन पत्र बुझाएको छ । कुवेतमा रहेका नेपालीहरूले विद्धुतीय राहदानीको लागि भरिने अनलाइन फारम भर्नका लागि दूतावासले पर्याप्त मात्रामा एपोइन्टमन्ट कोटा नदिएर राहदानी नविकरण गर्न नपाएको व्यापक जन-गुनासो प्राप्त भएपछि नेपाली श्रमिकहरूका समसामयिक समस्याहरूलाइ सम्वोधन गर्नको लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामाको नेतृत्वमा गएको प्रतिनीधि मण्डलले नेपाली राजदूतावास कुवेतकी कार्यवाहक राजदूत तथा काउन्सिलर सुजनी रानालाइ ज्ञापन पत्र बुझाएको हो । सो अवसरमा केहि दिन अघिमात्रै कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेकी रानालाइ एनसीसी कुवेतले पुष्पगुच्छा र खादा ओढाएर स्वागत समेत गरेको थियो ।

एनसीसी कुवेतको प्रतिनीधि मण्डलले कुवेतमा रहेका नेपालीहरूले विद्धुतीय राहदानीको लागि भरिने अनलाइन फारम भर्नका लागि दूतावासले पर्याप्त मात्रामा एपोइन्टमन्ट कोटा खोल्नु पर्ने, दूतावासले कम्पनीहरूसँग माग प्रमाणिकरण गरे बमोजिम कम्पनीहरूले कामदारहरूले पारिश्रमिक नपाएको गुनासोहरू पनि धेरै आउन थालेकोले सो सम्बन्धमा त्यस्ता कम्पनीहरूमा अनुगमन र निरिक्षण गर्न पनि दूतावासलाइ आग्रह गरेको छ ।
त्यसै गरि एनसीसी कुवेतले मासिक रूपमा संचालन गर्ने फेसबुक लाइभमा नेपाली श्रमिकहरूका जिज्ञासा, गुनासो र समस्याहरू सुनुवाइको लागि दूतावासबाट एक जना प्रतिनीधि उपलब्ध गराइदिन पनि एनसीसी कुवेतले दूतासावसँग अनुरोध गरेको छ ।

छलफलमा नेपाली श्रमिकहरूका गुनासो सुन्नको लागि राखिएको हटलाइन फोन प्रायः जसो नउठ्ने गरेको, अधिकांश श्रमिकहरूसँग सिधा सम्पर्कको लागि फोन नहुने हुँदा दूतावासले ह्वाट्सएप राख्ने व्यवस्था गर्न सुझाइएको थियो ।
त्यसै गरि प्रोजेक्ट भिसामा आएका नेपाली श्रमिकहरूलाइ रोजागारीमा आएको १ वर्ष बित्न नपाउँदै कम्पनीहरूले अतिरिक्त शुल्क माग गरेको भन्दै यस विषयमा दूतावासले कम्पनीसँग समन्वय गरि श्रमिक मैत्री कार्य गर्न पनि अनुरोध गरिएको थियो ।
अनलाइन श्रम स्वीकृति, सामाजिक सुरक्षा कोष तथा टेलि मेडिसिन सर्भिस लगायतका विषयहरूमा पनि दूतावासमार्फत नेपाली समुदायलाइ अपडेट गरिदिन समेत एनसीसीका तर्फबाट अनुरोध गरिएको थियो ।

छलफलका क्रममा कार्यवाहक राजदूत रानाले इ-पासपोर्टको अनलाइन फारम भर्न सहजिकरण गर्न तत्कालै परिणाम देखिने गरि कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै श्रमिकहरूले सम्झौता पत्रमा उल्लेख गरे अनुसार तलब तथा अन्य सुविधा नपाएको गुनासो आएमा त्यस्ता कम्पनीहरूमा अनुगमन र निरिक्षण गरि त्यस्तो भए गरेको पाइएमा त्यस्ता कम्पनीहरूलाइ कालोसूचिमा राखिने जनाउनु भयो ।

सेवाग्राहीहरूको सहजताको लागि दूतावासको हटलाइनमा ह्वाट्एप राख्न सकिने नसकिने विषयमा दूतावासमा आन्तरिक छलफल गरि निष्कर्षमा पुगिने दूतावासपक्षले जानकारि गराएको थियो भने यहि २०८० बैशाख महिनाबाट दूतावासबाटै अनलाइन श्रम स्वीकृति दिने गरि सबै तयारी हुँदै गरेको पनि जानकारी दिइएको थियो ।

छलफलमा दूतावासका तर्फबाट कार्यवाहक राजदूत तथा काउन्सिलर रानाका अलावा प्रथम सचिव प्रेमराज गौतम, द्वितीय सचिव श्रीकृष्ण सिलवाल, सहचारि नविन पराजुली र श्रम सहचारी हेम कुमार अधिकारीको उपस्थिति रहेको थियो भने एनसीसी कुवेतको प्रतिनीधि मण्डलमा अध्यक्ष लामाको अलावा महासचिव दिल कुमार पाख्रिन, संरक्षक अर्जुन तामाङ, सल्लाहकार आनन्द आचार्य, आइसीसी सदस्यहरू हरि लावती तथा माधव पौडेल, सचिव मनिश के. सी. तथा जीवन कुमार बि. क. को उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र जस्ताको तस्तैः

श्री सुजनी राना ज्यु,
कार्यवाहक राजदूत तथा काउन्सिलर
नेपाली राजदूतावास, कुवेत।

विषय: ज्ञापन पत्र।

महोदय,
लगभग ७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। पछिल्ला समय नेपाल सरकारले जारी गरिएको नियम अनुसार अब बन्ने र नविकरण हुने सबै पासपोर्ट ई-पासपोर्ट बनाउनु पर्नेछ। कुवेतबाट पनि धेरै पासपोर्टहरु बनेर आएका छन। यो कार्यमा नेपाली दूतावास कुवेतले अहम भुमिका निर्वाह गरेको छ। त्यसको लागि गैर आवासीय नेपाली संघ नेपाली दूतावास कुवेत प्रती हार्दिक आभार व्यक्त गर्दछ। तर, पछिल्ला केही समयदेखी ई-पासपोर्टको अनलाइन फारम नखुलाइएको, सर्वसाधारणले अपोइन्टमेन्ट नपाएको, कसैले अपोइन्टमेन्ट पाएर पनि अनलाइन फारम भरेवापत बढी शुल्क असुलेको भन्ने जस्ता अधिकतम जनगुनासो प्राप्त गरिरहेको कारण यसै विसय संग अन्य कुवेतका समसामयिक समस्याहरुलाइ पनि निराकरण गर्न बुँदागत रुपमा यो ज्ञापन पत्रमा उल्लेख गरि पेश गरेका छौँ।

१. ई-पासपोर्टको लागि राहदानी विभागले निर्देशन गरे अनुसार एक महिना पुरै दिनको लागि आवेदन फारम खुला गरिनुपर्ने।

२. कुवेतमा ६०,७५,८० केडिको तलवको लागि नेपालमा ठुलै पैसाको बिट्टो लगानी गरेर आएर भने जस्तो तलव सुविधा नपाएको र ८५ केडि भन्दा कम तलव भएका कम्पनिहरुले डिमान्ड बनाउँदा ८५ वा सो भन्दा बढिको नक्कली डिमान्ड बनाएर डिमन्ड पास गराइरहेकोले यश विसयमा नेपाली दूतावासले कडाइका साथ अनुसन्धान गर्नुपर्ने।

३. कुवेतमा घरेलु कामदार तथा जो प्रत्यक्ष नेपाली दूतावासको सम्पर्कको पहुँचमा नरहेका नेपालीहरुको समस्यालाइ पनि सम्बोधन गर्न गैर आवासीय नेपाली संघले गर्ने मासिक फेसबुक लाइभ (प्रत्यक्ष प्रसारण) मा नेपालि दूतावासबाट एक जना सहभागी हुने।


सम्बन्धित शीर्षकहरु

बेरुत: लेबनानी सेना कमाण्डले शनिबार दक्षिणी सीमावर्ती गाउँका बासिन्दाहरूलाई इजरायली सेनाले छोडेका माइन र अन्य विस्फोटक पदार्थका कारण आफ्नो घर…

निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र…

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

प्रतिकृयाहरू
...