Thursday 2nd April 2026

भारत निर्मित कफ सिरप सेवनबाट दर्जनाै बालबालिकाको मृत्यु पछि सेवन नगर्न WHO को चेतावनी


विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले चार ब्रान्डका कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएको हुन सक्ने भन्दै यी कुनै पनि उत्पादन सेवन नगर्न विश्वव्यापी चेतावनी जारी गरेको छ । ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको र ६६ जना बालबालिकाको मृत्युसँग जोडिएको हुन सक्ने संगठनले बताएको छ ।

डब्लूएचओले प्रयोग नगर्न सुझाएका सिरपमा ‘प्रोम्याथेजिन ओरल सलुसन’, ‘कोफ्याक्समेलिन बेबी सिरप’, ‘मेकअफ बेबी कफ सिरप’ र ‘मेगरिप एन्ड कोल्ड सिरप’ छन् । यी सबै कफ सिरप भारतीय कम्पनी मैदन फर्मास्युटिकल्स लिमिटेडद्वारा हरयानामा बनेको हो । यी उत्पादनको गम्भीर असर गाम्बियामा भेटिएता पनि अरु देश र प्रान्तमा पुगेको हुन सक्ने आंकलन गरिएको छ । डब्लूएचओले यी उत्पादनले विशेषगरी बालबालिकामा गम्भीर असर र मृत्यु नै हुन सक्ने चेतावनी दिएको छ ।

पश्चिम अफ्रिकामा रहेको गाम्बिया एक पर्यटकीय गन्तव्य हो । गाम्बियाका चिकित्सा अधिकारीहरूले जुलाईको अन्त्यमा पाँच वर्ष मुनिका बालबालिकाहरूमा तीव्र रुपमा मिर्गौलामा समस्या वृद्धि भएको पत्ता लगाएपछि यसबारे सोधिखोजी भएको हो । गाम्बियाको सरकारले हाल सबै सिरपको प्रयोगलाई प्रतिबन्ध गरेको छ । यसको सट्टा ट्याब्लेट प्रयोग गर्न आग्रह गरेको छ । गाम्बियाका स्वास्थ्य सेवा निर्देशक मुस्ताफा बिट्टेले सिरपमा प्रतिबन्ध लगाएपछि मृत्युको संख्या घटेको, तर पछिल्ला दुई हप्तामा भने दुई जनाको मृत्यु भएको बताए । उनले गाम्बियामा हाल औषधि सुरक्षित छ कि छैन भनेर परीक्षण गर्न सक्ने प्रयोगशाला नभएकाले जाँचका लागि विदेश पठाउनुपरेको बताए । उनले भने–‘गाम्बियाले विश्व बैंकसँग गुणस्तर प्रयोगशालाको लागि अनुदान प्राप्त गर्न छलफल गरिरहेको छ।’

डब्लूएचओले यी चारवटै सिरपको नमुना परीक्षण गर्दा भारी मात्रामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा पाइएको थियो । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल मानवका लागि विषाक्त हुन्छन् । यसले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न नसक्ने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन हुने र मिर्गौलामा गम्भीर असर पर्न गई मृत्यु हुन सक्छ ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस गेब्रेयसले ती कलिला बालबालिकाको मृत्यु उनीहरुका परिवारको लागि हृदयविदारक रहेको बताए । उनले भने ‘यी उत्पादनहरू हाल गाम्बियामा मात्र देखिए पनि अरु देशले यी उत्पादनको निगरानी र अनुगमन बढाउन आवश्यक छ।’ कफ सिरपका कारण मृत्यु भएका बालबालिकाका अभिभावकले गाम्बियामा न्यायको माग गरिरहेका छन् । भारतीय सरकारले यसको उत्पादनबारे छानबिन गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले अरु बिरामीलाई हानी हुनबाट रोक्न यसको बिक्रीवितरणमा रोक लगाउन आवश्यक रहेको बताएको छ । यी उत्पादनहरूका सबै ब्याचहरू राष्ट्रिय नियामक निकायहरुले विश्लेषण नगरेसम्म असुरक्षित मानिएको छ ।

२० महिने छोरा गुमाएकी मिस कुयातेह भन्छिन्–‘६६ ठूलो संख्या हो । हामीलाई न्याय चाहिन्छ । ती सबै बच्चाहरु निर्दोष थिए।’ अर्का अभिभावक एलियु किजेरा देशको स्वास्थ्य प्रणालीबाट रुष्ट छन् । उनले गाम्बियामा बच्चाको उपचार नभएपछि छिमेकी राष्ट्र सेनेगल पनि लगे । त्यहाँ बच्चाको स्वास्थ्य अवस्थामा केही सुधार देखिएपनि उनी बाँचेनन् । ‘यदि देशमै राम्रो औषधि र उपकरण भएको भए मेरो छोरा र अरु कयौं बालबालिकाको जीवन जोगिन्थ्यो होला,’ उनले भने।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...