Thursday 25th April 2024

स्रष्टा परिचयको साथमा एक रचना, भाग – ३६


स्रष्टा परिचय
नाम – भागवत खनाल
ठेगाना – पाल्पा माथिल्लो खस्यौली
जन्म मिति – २०१६
बा – अम्बिका प्रसाद खनाल
आमा – शोभाकान्ता खनाल
शिक्षा – राजनीतिशास्त्रमा एमए
समाजशास्त्रमा एमए
कानुनमा – एल एल बी
पेशा – अवकाश प्राप्त निजामती कर्मचारी
लेख्न सुरु – २०३७ साल
प्रकाशित – करिब चार सय लेख निबन्ध कविता कथा आदि
किताब – छैन
रचना प्रकाशन – मधुपर्क , युवामन्च , गोरखापत्र , अन्नपूर्ण पोस्ट , राजधानी दैनिक , नयाँ पतृका , सेतोपाटी , बाह्रखरी , तानसेन गुठीको प्रकाशन , प्रशासन.कम , सोपान आदि ।

हाल – अध्यक्ष देवकोटा साहित्य परिषद

मुर्दा पनि हाँसिरह्यो

आज पण्डित उदारनाथ बिरामी भएर इन्तु न चिन्तु ओछ्यानमा ढलेका छन् । निस्लोट जरोको बिचमा उनी मन्द स्वरमा बर्बराउँछन् । धेरै अघिको कुरा हो, उदारनाथका पिता पण्डित आनन्दनाथ भन्थे ‘अब सात सालको लहर चल्यो । अब अर्कै जमाना आउँछ । अब छोइछिटो बन्द हुन्छ । सबै मानिस भगवानका सन्तान हुन्, सबै बराबर । पण्डित भए तापनि बडो उदार विचारका थिए आनन्दनाथ । उनकै प्रेरणाले गाउँमा भेदभाव कम हुँदै गयो । पसिनाको सम्मान हुन थाल्यो । उनी भन्ने गर्दथे , ‘काम सानो र ठूलो कहिल्यै हुँदैन । श्रम र पसिनाको सम्मान गरौं ।’ त्यस्ता सुधारवादी अगुवा आनन्दनाथ चालिसको उमेरमै घाँस झार्न जाँदा रुखबाट खसेर मरे । आनन्दनाथको निधन हुँदा जेठा छोरा उदारनाथ चौध र कान्छा चार वर्षका थिए ।

आनन्दनाथभन्दा दस वर्ष कान्छो भाइ चञ्चलनाथले कहिल्यै पनि पिताको अभाव महसुस गर्नु परेन । उदारनाथ भन्ने गर्थे , ‘मेरो भाइ मेरो घरको चन्द्रमा हो ।’ दाइले भाइलाई हुर्काए , बढाए र पढाए । उनी भन्ने गर्दथे , ‘मलाई भगवानले तैंले पढ्नु पर्दैन ,
तेरो काम भकारो सोहोर्ने , बन्चरो चलाउने र गाई बाख्रा चराउने हो भनेर वरदान दिएका छन् । मैले पनि भनिदिएँ , ठीक छ भगवान ! म भकारै सोहोरेर जिन्दगी बिताम्ला , तर मेरो भाइलाई सुब्बा नबनाई छाड्दिन ।’ सपनीमा झुल्केका भगवान उदारनाथलाई हेर्दै व्यङ्ग्यपूणर् तरिकाले मुस्कुराएका थिए । उदारनाथ पनि के कम, भनिदिएका थिए , ‘मेरो कपाल नदुखोस् भगवान , म डबल पसिना बगाएर भए पनि भाइलाई पढाएरै छाड्नेछु । सुब्बा बनाएरै छाड्नेछु ।’ हुन पनि भाइ चञ्चलनाथ
गोठभित्र नपसेर र खेतबारी नकुचेरै हुर्क्यो । आज बा आनन्दनाथ बितेको सन्ताउन्न वर्ष भयो । चञ्चलनाथ सरकारी अधिकृत पदबाट अनिवार्य अवकाश भएको पनि तीन वर्ष पूरा भइसक्यो । समयका पखेटा चलेको चालै नपाइकन जमाना कहाँबाट
कहाँ पुग्यो ।

उदारनाथले जीवनभर घाँस काटे । गाई , बाख्रा र भैंसी स्याहारे । दाउरा चिरे , वन जङ्गल चाहारे , तरुल खने । भाइ चञ्चलनाथ बेलाबेलामा घर जान्थ्यो । दाइ गरुङ्गो घाँसको भारी बिसाएर कमिजको टुप्पोले मुख पुछ्दै मुसुक्क हाँस्थे । मटमैलो पहिरन
, पसिनाले छपक्क भिजेको शरीर , खुट्टामा बिजोडा फित्ता भएका चप्पल । दाजुले भाइलाई यसो नियालेर हेर्थे , ‘अहो ! के भयो मेरो भाइलाई ? सुब्बा भएर पनि खुसी हुन नसक्ने कस्तो दुःखी जीवन ? चन्द्रमा जस्तो अनुहारमा कसरी ग्रहण लाग्यो ?’
उदारनाथको छोरो सिन्धुनाथ जेटीए पढेर घरमै बसेको छ । उसलाई जागिर खान मन लागेन । पिताले पनि जागिर खोज्न जा भनेर कर गरेनन् । सुब्बा भएको भाइ त अँध्यारो अनुहार लिएर हिँड्छ भने झन जेटीएको हालत के होला ? जे भयो राम्रै भयो ।
सिन्धुनाथले ऋणधन गर्दै उन्नत खेती गरेर बसेको छ । जीवनप्रति कुनै गुनासो छैन ।

कर्मशील जीवन नै उसको लक्ष हो । पसिना , परिश्रम र परोपकारलाई नै जीवनको मार्ग बनाएको छ उसले । सान नभए तापनि समाजमा मान छ । अभिमानबाट टाढा मर्यादा गर्न लायक स्वाभिमानयुक्त साधा जीवन । जाडो होस् या गर्मी , बाबुछोरा मिलेर निरन्तर परिश्रम गर्छन । तातो घाममा थोरै समयका लागि बारीको धरीमा खरीको रुखमुनि बसेर चिसो हावाको सुख भोग्दै बाबुछोरा मुखामुख गरेर मुसुक्क हाँस्छन् । नाकको टुप्पाबाट झरेको पसिनाको थोपो नाभीको खाल्टोमा पसेर शीतलता दिन्थ्यो । उनीहरूको अनुहारको भङ्गिमाले भनिरहेको प्रतीत हुन्थ्यो, ‘स्वच्छ मन हुनेका लागि यो धर्ती नै स्वर्ग हो ।’ मानिसहरू दुबै बाबुछोरालाई भन्ने गर्दथे, ‘कति दुःख गर्न सकेको ?’ उदारनाथ मुसुक्क हाँस्दै उल्टै प्रश्न गर्दथे , ‘दुःख भनेको के हो ? सुख भनेको के हो ? म त एउटै कुरा जान्दछु , मानिसको जन्म कर्म गर्न भएको हो ।’

अनि छोरो सिन्धुनाथ सहानुभूति राख्नेतर्फ मुखातिव हुँदै भन्थ्यो , ‘के हो ठूलो जगतमा ? पसिना विवेक !’ बेलाबेलामा घर आउने भाइलाई मलिन देखेर उदारनाथ खिन्न हुन्थे । एक दिन उनले भाइलाई सोधेका थिए , ‘के भयो ? किन सधै चिन्तित देखिन्छौ ? सुब्बा भएर पनि खुसी हुन नसक्ने मान्छे के पाए खुसी हुन्छ ?’ उनले भाइलाई नियालेर हेरेका थिए । निधारमा तीन धर्का परेछन् । दुबै गालामा स्थायी रूप धारण गरेका उराठलाग्दा र निस्याइला धर्साहरू । उदारनाथलाई के थाहा भाइले पालन पोषण गरेका ती धर्साहरू ऊ स्वयंका आर्जन थिए । राग , द्वेष , ईर्ष्या , अनुचित आकांक्षा र अभिमानका प्रतीक थिए ती धर्साहरू । उनलाई के थाहा कि शिक्षा पाउनु भनेको जानकार हुनु मात्र हो, ज्ञानी हुनु होइन । उनी अशिक्षित भएर पनि ज्ञानवान थिए । चञ्चलनाथ शिक्षित भएर पनि अज्ञानी । दाजुको सन्तुष्टिको भाँडो भरिलो थियो , भाइको भाँडो उभिन्डो भएको हुँदा कहिल्यै भरिंदैनथ्यो । आफूप्रति दाजुको सूक्ष्म अवलोकन देखेर भाइले भनेको थियो , ‘तपाईंलाई पो सर्वत्र आनन्द छ र सधै हाँसिरहनुहुन्छ । आफूलाई कत्रो टेन्सन छ ।’

उदारनाथलाई टेन्सन शब्दको अर्थ नै थाहा थिएन । उनी त त्यही भाइले दिएका पुराना लुगा पहिरेर दुलहा जस्तो देखिएको अनुभव गर्थे । भाइले दाजुलाई दिने गरेको भनेको तिनै पुराना लुगा हुन् । कहिल्यै खर्चबर्चबारे सोधेन । बरु दाजुले भाइ बिदा भएर जाने बेलामा ‘बाटोखर्च छ कि छैन ?’ भनेर सोध्ने गर्दथे । उनी कुरौनी चुक , खुदो ,अदुवा , कागती जे घरमा हुन्थ्यो दिएर पठाउँथे । उदारनाताले भाइलाई सोधे , ‘टेन्सन भनेको के हो ? कसैले गाली गर्‍यो ? कि कसैले निन्दा गर्‍यो ? कि श्रीमति रोगी भइन्
, कि छोराछोरी दुर्जन निस्के ?’ चञ्चलनाथ आफूलाई बडो विद्वान र दाजुलाई पटमूर्ख मान्थ्यो । ऊ सुब्बा मात्र होइन , धेरै माथिल्लो ओहोदामा पुगिसकेको थियो । उसले ‘अपठित र मूढ’ दाजुलाई सरकारी नोकरीबारे बताउनुको कुनै प्रयोजन देखेन ।

आफ्नै अहङ्कारको भारीले थिचिएर बिरूप र निकम्मा बनेको थियो ऊ । जागिरे जीवनमा हाकिमहरूको अगाडि भिजेको बिरालो जस्तो ‘म्याउ’ गर्ने ऊ आफ्ना सहायकहरूको अगाडि ढाडे बिरालो झैं ‘भ्याऊ’ गर्थ्यो । दाजु भाउजू र भतिजो उसको सोचाइमा महाका गँवार र मूर्ख थिए । उसले भनेको थियो , ‘टेन्सन भनेको दुःख, पिर, चिन्ता र मनको ताप हो । तपाईं यस्ता कुरा बुझ्न सक्नुहुन्न दाइ । तपाईंलाई सधै हाँसिरहने सुविधा छ । तपाईंलाई त मस्ती छ नि ।’ उदारनाथ फेरि मुसुक्क हाँसे । दाजुको मुस्कान भाइको छातीमाथिको बज्र बन्यो । यो मान्छे जे कुरामा पनि किन हाँसिरहन्छ हँ ? कस्तो दिल र दिमाग लिएर जन्मेछ यो । आज चञ्चलनाथले दाजु उदारनाथलाई ढुंगाको फूल जस्तो देख्यो । दाजु भन्दै गए, ‘एक बारको जिन्दगीमा किन रुनू ? बिहान सबेरै उठ्छु । गोबरसोत्तर गर्छु । गाई भैंसी दुहुन्छु । एक लोटा बासी पानी कलकली खान्छु । दिसापिसाब खुलेर खलास हुन्छ । फेरि एक गिलास तात्तातो दूध पिउँछु । नौ बजे भात , आटो , ढिंडो जे उपलब्ध छ खुसीले खान्छु । दिनभरि काम गर्छु । साँझपख भुटेको मकै र भटमास झराम झराम चपाउँछु । एक बटुको मोही सन्न पिएर फेरि चौपारीतिर गफ गर्न जान्छु । मलाई कुनै दुखेसो छैन भाइ । म तिमीलाई पनि मजस्तै हँसिलो देख्न चाहन्छु ।’

चञ्चलनाथ केही बोलेन । उसको दिमागमा पाँच वर्षअघिको घटना याद आयो । दाजुले ‘म यज्ञ गर्दैछु घर आऊ’ भनेर बोलाएका थिए । ऊ घर पुग्दा दिउँसोको समय थियो । आँगनभरि मानिसहरू बसेका । दाइ उदारनाथ नयाँ गेरु रङ्गका लुगा पहिरेर
मुसुक्क हाँस्दै यज्ञको कर्ता बनेर बसेका । भाउजू पनि बडो सिङ्गार गरेर पहेँलो साडीमा सजिएर रानी जस्ती भएर बसेकी । ऊ टक्क उभिएर यज्ञको भव्यता नियालिरहेको थियो । ब्राह्मणहरु समवेत स्वरमा मीठो वेद ध्वनि गान गर्दै थिए ।

ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः।
स्वस्ति नः पूषा विश्ववेदाः।
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः।
स्वस्ति नो ब्रिहस्पतिर्दधातु ।
ॐ शान्तिः शान्तिः शान्तिः ।
हे महान कीर्तिस्वरूप इन्द्रदेव ! हाम्रो कल्याण गर । हे विश्वका ज्ञानस्वरूप पूषादेव ! हाम्रो कल्याण गर । हे बलशाली गरुडदेव ! हाम्रो कल्याण गर । हे बृहस्पति ! हाम्रो मङ्गल गर । चञ्चलनाथ क्षणभरका लागि मुग्ध भयो । उसलाई दाइको जीवन र जगत देखेर द्वेषमिश्रित रहर लाग्यो । ऊ एक रातका लागि घर आएको थियो । साँझ दुई भाइबीच भलाकुसारी भयो । उसले सोधेको थियो , ‘पैसाको बन्दोबस्त के कसो छ दाइ ? म त हतारमा आएँ । पैसातिर त ध्यानै गएनछ ।’ दाजुले भनेका थिए , ‘भाइ आयौ म धन्य भएँ । धर्मकर्मको काम आफ्नै कमाइले गर्नुपर्छ रे । अरुले दिएको पैसा र वस्तु दान गर्नु शास्त्रसम्मत हुँदैन रे । बरु नगर्नू , किन्तु हात नपसार्नू ।’ दाइ मन्द मन्द मुस्कुराइरहेका थिए । भाइले भन्यो , ‘त्यो त ठिकै छ । तर यत्रो खर्च गर्ने रकम कसरी जुटाउनुभयो ?’ दाइले बडो गौरवसाथ भनेका थिए , ‘खसी बेचेको पैसा थियो । पाडापाडी बेचेको पैसा थियो । अदुवा बेचेको पैसा थियो । खुदो बेचेको पैसा थियो ।’ गौरवान्वित अनुहार उज्ज्वल देखियो । सन्तोष र शान्तिमा बस्न जान्ने जीवन मुस्कुरायो

भाइले मनमनै सोच्यो, गाउँमा क्या मजा छ । शीतल हावा खायो, स्वच्छ पानी खायो, बाबु बाजेको सम्पत्तिमा ढलिमली गर्‍यो , आनन्दले बस्यो । उसले सोधेको थियो , ‘यो यज्ञ गरेर के फाइदा छ दाइ ?’ दाइ फेरि हाँसे । ‘यो गरेर के हुन्छ भन्ने त मैले सोच्दै सोचिन भाइ । बाले गरेको देखेको थिएँ , बाजेले गरेको सुनेको थिएँ । हाम्रो परम्परा हो । मेरो पालामा यसमा सुधार पनि भएको छ । यहाँ छुवाछूत र भेदभावको भावना छैन । समाजमा सकारात्मक सन्देशको सञ्चार भएको छ । यही निहुँले छिमेकी र इष्टमित्र जुटेका छन् । रमाइलो भएको छ । म , मेरी धर्मपत्नी र छोरो सबैजना खुसी र सन्तुष्ट छौं ।’ भाइलाई शंका लाग्यो , ‘यो दाइले पक्कै पनि बाको धन हातलागी गरेको हुनुपर्छ । जेटीए पढेको छोरोलाई घरमै राखे । म बाहिर , मेरी जहान बाहिर , मेरा सन्तान बाहिर । यी दाइ देख्नका मात्र सोझा रहेछन् । प्रशस्त धन नभई कोही यस्तो हँसिलो हुन्छ ? यस्तो जोसिलो हुन्छ ? यस्तो खँदिलो ज्यान र पोटिलो अनुहार हुन्छ ? धनात् धर्म ततःसुखम् त्यसै भनिएको होइन । यिनकी दुलही र छोरो पनि महाका चतुर छन् ।’

दाजु उदारनाथ चार दिनको झाडा पखालाले नै निकै गले । स्थानीय स्वास्थ्य संस्थाको औषधिले काम गरेन । तर पनि उनी हतास छैनन् । झाडा पखालापछि जरो आउन थाल्यो । थोरै शीतल महसुस् भएको समयमा चिन्तित पत्नी , छोरो र कुटुम्बलाई
शान्त्वना दिन्छन् उनी । उनी भन्छन् , ‘यो जीवन नश्वर छ । यो जगतका सबै सजीव र निर्जीव वस्तुहरू नाशवान छन् । यहाँ जो जन्मन्छ , त्यो अवश्य मर्छ । यहाँ , जन्म नै मृत्युको सन्देश हो । यहाँ मिलन नै बिछोडको सन्देश हो । यहाँ सृजना नै विनाशको
सन्देश हो । यहाँ प्राप्ति नै गुमाउनुको सन्देश हो । हामी समझदार नभएर मात्र दुःख भएको हो यहाँ । मानौं मलाई अझै अरु बाँच्ने रहर होला रे । तर मेरो इच्छाले के हुन्छ ? जन्म र मृत्यु मेरो हातको कुरा होइन । जुन कुरा मेरो काबुभित्र छैन , त्यसको चिन्ता गरेर म के पाउँछु । बाँचिएछ भने अझै कर्म गरौंला , हाँसेरै जीवन बिताउँला । मरिएछ भने प्रकृतिको शाश्वत नियम हो , सकियो ।’ उपस्थित सबै उनको कुरा सुनेर शान्त भए ।

आफूलाई बडो जीवन र जगत बुझेको ठान्ने शिक्षक र स्थानीय कर्मचारीहरू क्षणभरका लागि अनपढ उदारनाथको ज्ञान देखेर स्तब्ध भए । चञ्चलनाथ चढेको बस सुस्त गतिमा अघि बढिरहेको छ । बिहान नौ बजेतिर बस सिद्धबाबाको डरलाग्दो बाटो पार गरेर अघि बढ्यो । सारा यात्रुहरूले कालको मुखबाट उम्केको महसुस गरे । किन्तु चञ्चलनाथलाई डर लागेन । आज ऊ डरको सीमाको अतिक्रमण गरेर निडर भएको छ । जिन्दगीले उसलाई कुनै पनि कुराबाट डर मान्नु नपर्ने मुकाममा ल्याएर थेचारेको छ । उसले घडी हेर्‍यो । दस बजेछ । एक बजेतिर रिडी पुगिएला । कतै कुनै व्यवधान भएन भने तीन – चार बजेसम्म घर पुगिएला । केराबारी पुगेपछि सबै यात्रुहरूले खाना खाए । परन्तु उसलाई खान मन लागेन । ऊ एक बोतल पानी मात्र खाएर बसमा बसिरह्यो ।

आज चञ्चलनाथको नियतिले फेरि अर्को कोल्टे फेर्न नपर्नेगरी दारुण जीवनतर्फ कोल्टे फेरेको छ । उसका तीन भाइ छोरा कुलङ्गार निस्के । कुनै भरोसालाग्दा भएनन् । बाबुसँग भएको लट्टीपट्टी बाँडेर बसेका छन् । कुनैले पनि राम्रो इलम पाएनन् । छोरा भएर मात्र के गर्नू ? न आफ्नो लागि केही गर्न सके , न आमाबाबुका लागि काम लागे र न त समाजका लागि नै । चञ्चलनाथ आज शोकमग्न छ । पत्नी बितेको तीन महिना भयो । छोराहरू ‘लुकाएको धन खै ?’ भन्दै पालैपालो थर्काउन आउँछन् । बा मसँग बस
भनेर कोही भन्दैन । चञ्चलनाथलाई घरमा दाइ बिरामी भएको थाहा छैन । अब ऊ आगामी जीवन दाइसँगै गाउँमा बिताउने योजनामा छ । दाइको खुट्टामा ढोगेर काला भैरम र भगवान ऋषिकेशवलाई साक्षी राखेर माफी माग्ने योजनामा छ ऊ ।

बस हार्थोकबाट ओरालो लाग्यो । चञ्चलनाथलाई तन्द्रा लागे जस्तो भयो । दाजुले यज्ञको अनुष्ठान गरेको छ महिनापछिको कुरा हो । उसको घरमा पत्नी र तीन भाइ छोराहरू समेतको बैठक बस्यो । छोराहरू खर्चिलो स्वभावका थिए । सुरुमा ऊ आफैले जे माग्यो त्यही दिएर हाकिमी पारा देखाएको थियो । पछि उनीहरू टाउकोमाथि चढ्दै गए । छोराहरूले कुबाटो समातिसकेका थिए । तर ऊ चाहिँ यस्तै हो , पछि ठीक हुँदै जान्छन् भन्ने सोचेरै बसिरह्यो । बैठकबाट ऊ दाजुसँग अंश माग्न गाउँ जाने निणर्य भयो । चञ्चलनाथ घर पुग्यो । भाइलाई झनै चिन्तातुर देखेर उदारनाथले सोधेका थिए , ‘के भयो भाइ तिमीलाई ? आज त झन चिन्तित देख्दछु ।’ वार कि पार भनेर आएको भाइले प्वाक्क भनेको थियो , ‘मेरो तनावको कारण तपाईं हो बुझ्नुभो ?’ उसले सिधा शब्दमा दाजुलाई भनेको थियो , ‘बाको पालाको गरगहना र पैसा खै ? मलाई सोझो सम्झेर हेपेको ? यति पैसा र यति सुनचाँदी छ भन्न किन नसकेको ? मलाई नगदी , जिन्सी सबै बराबर चाहियो ।’ भाइका कुरा सुनेर दाइ एकक्षण गम्भीर भए । हुन त खेतीबाट जे जति उत्पादन हुन्छ सबै अविरल श्रम र पसिनाबाट मात्र हुने हो । बाको पालाको धनपैसा र सुनचाँदी त के धागो पनि छैन ।तथापि उनले भाइलाई सोध्नुपर्थ्यो । वयस्क भएपछि ‘तेरो मेरो’ छुट्ट्याउनु पर्थ्यो । उनी भाइतर्फ हेर्दै फिस्स हाँसेका थिए । दाइ हाँसेको देखेर भाइलाई खपिनसक्नु भयो । ‘म कत्रो कत्रो पदमा पुग्दा एक दिन हाँस्न पाएको छैन , तिमी चाहिँ सधै हाँसिरहने ? हाँसो के तिम्रो पेवा हो ?’ दाइ भाइको कुरा सुनेर आश्चर्यचकित भए । हाँसो पनि कसैको पीडाको स्रोत हुन सक्दोरहेछ भनेर भयभीत भए उनी । उनलाई सहसा आफ्नो जीवनभरिको हाँसोले कतिलाई पीडा दियोहोला भनेर महसुस भयो । उनी त्यस दिनदेखि भाइ चञ्चलनाथको अगाडि कहिल्यै हाँसेनन् । भोलिपल्ट भाइले समाज बोलायो । दस बाह्र जना गाउँलेहरू जम्मा भए । सात जना
भाइको हर्कत देखेर दुःखी भए । उदारनाथको मुस्कानमय जिन्दगी देखेर जलन भएका तीन जनाले भाइलाई उक्साउन थाले । उदारनाथले घरमा भएका सबै सामान निकालेर आँगनमा फैलाए । गाउँभरि उदारनाथको आँगनमा सम्पत्तिको बिस्कुन सुकाएको छ रे भन्ने हल्ला चल्यो । भाइहरू आपसमा लडेको थाहा पाएका छिमेकीको रबैया जस्तो हुन्छ , उदारनाथ र चञ्चलनाथको हकमा पनि त्यही भयो । जे लिनु थियो चुपचाप लिएको भए हुन्थ्यो । यस्तो तमासा गर्नुको कुनै प्रयोजन थिएन । उदारनाथको अनुहार त्यो अवस्थामा पनि उज्यालो थियो । उनी भन्दै थिए , ‘ल मेरो घरमा भएको सम्पत्ति यही हो । पण्डित रुद्रनाथजीले बराबर बाँडेर भाइलाई रोजाउने व्यवस्था मिलाउनु पर्‍यो । भाइलाई रोजेको मलाई छाडेको ।’ उदारनाथले श्रीमतीको कान र घाँटीमा लगाएका गहना मात्र होइन नाकको फुलीसमेत निकाल्न लगाएर बाँडे । भाइ चञ्चलनाथ एक एक हिसाब लिने अठोट गरेर कम्मर कसेरे आएको थियो । उसले भन्यो , ‘ए दाइ ! तिमी त जिन्दगीमा कहिले आपद् विपद पर्छ के थाहा ? त्यस अवस्थाका लागि पनि कम्मर बलियो पारेर बस्नुपर्छ भन्थ्यौ । खै त त्यो आपद् पर्दा काम लाग्ने जिनिस ?’ उदारनाथले आपत् कालमा काम लाग्छ भनेर कन्धनीमा बाँधेर राखेको औंठी पनि निकाले र काटेर आधा आधा भाग लगाए । उनी भाइको सामुन्नेमा हाँसेर प्यारो भाइलाई पीडा दिने पक्षमा थिएनन् । परन्तु जस्तो सुकै परिस्थितिलाई पनि सहज रूपमा लिने र कसैप्रति वैरभाव नराख्ने मानिसको अनुहार अँध्यारो कसरी हुनु ? लोभ , लालच र आसक्तिले जित्न नसक्ने कर्मवीरको अनुहार कसरी निन्याउरो हुनु ? जे जति सामान थिए , ती जीवनयापनका साधन मात्र थिए । ती जीवनका साध्य थिएनन् , गन्तव्य थिएनन् , सौभाग्य या अभाग्यका प्रतीक थिएनन् । मानिसलाई कतिले पुग्ने भन्ने सीमा छैन । के पाएर मानिसको चञ्चल चित्त शान्त हुन्छ भन्ने कुनै सीमा छैन ।

अचानक बसको परिचारकले चञ्चलनाथको कानैमा ‘यो बाजे कति सुतेको हँ ? यहीँ झर्ने भनेको हैन ?’ भनेपछि बल्ल ऊ झल्याँस्स भयो । घडी हेर्‍यो । सात बजेछ । ऊ अधोमुख र उद्विग्न चित्त लिएर दाइको आँगनमा पुग्यो । आँगनमा पुग्दा उसले भित्र
मानिसहरू बोलिरहेको सुन्यो । उसलाई सरासर भित्र पस्ने हिम्मत भएन । यही आँगन हो , जहाँ उसले नाकको फुलीदेखि एक गोली धागोसम्म फैलाउन लगाएर तमासा देखाएको थियो । यही आँगन हो जहाँ उसको चुत्थो व्यवहार देखेर भाउजूले पछ्यौराको टुप्पोले आँसु पुछे पनि दाजु भने मुस्कुराइरहेका थिए । यही आँगन हो, जहाँ ऊ सुब्बा भएको उपलक्ष्यमा दाइले सारा गाउँलेहरूलाई बोलाएर खिर खुवाएका थिए । यही आँगन हो जहाँ उदारनाथाले उसलाई ‘ऊं मङ्गलम् भगवान बिष्णु मङ्गलम् गरुडध्वज ! मङ्गलम् पुन्डरिकाक्ष मङ्गलाय तनो हरि’ भन्दै असंख्य पल्ट बिदाइ गरेका थिए । यही आँगन हो , जहाँ उसले अभिमान गर्दै पसिनामा भिजेका दाजुप्रति सिकसिको मानेको थियो ।

भित्र कसैले भनेको सुनियो , ‘उदारनाथ दाइलाई एकपटक काठमाडौं लैजानुपर्छ । भाइ काम लाग्ने भनेको यस्तै अवस्थामा त हो नि ।’ चञ्चलनाथमा भित्र पस्ने हिम्मत थिएन । ऊ थ्याच्च ढिकीको छेउमा बस्यो । फेरि कोही बोलेको सुनियो , ‘उदारनाथ
दाइको दाइमारा भाइले के सेवा गर्ला , के खर्च गर्ला । त्यसका छोरा सिन्धुनाथ जस्ता भलाद्मी छैनन् भन्ने सुनिन्छ । हुन त उदारनाथ दाइ आफ्नो भाइलाई मेरो भाइ मेरो घरको चन्द्रमा हो भनेर थाक्नुहुन्न । उहाँको विचारमा ऊ चन्द्रमा होला । परन्तु मेरो
विचारमा त ऊ घोर निशा हो ।’ फेरि सिन्धुनाथ बोलेको सुनियो , ‘म तम्घासबाट एम्बुलेन्स बोलाएर बालाई भोलि बिहानै काठमाडौं लिएर जान्छु । जुन मानिसको अनुशासन , मर्यादा र करुणाको मापन गर्ने फित्ता छैन त्यस्तो बाबुको छोरो हुँ म ।
यस्तो बाबुलाई म अभिमानी काकाको घरमा लिएर जान्न । म मेरो पितालाई कसैको अनुग्रहको बोझले थिचिने परिस्थितिको निर्माण गर्न चाहन्न । मेरो बाबुलाई म कसैको कृतज्ञताको भारी बोकाउन चाहन्न । मेरा पिता भुटेको भटमास र मकै खाएर पनि
त्यसलाई उत्पादन गर्ने धर्ती मातासँग सधै कृतज्ञ हुनुभयो । आफ्नी जननी र जन्मभूमिप्रति सधै कृतज्ञ हुनुभयो । यो संसारमा खुसी र हाँसो प्रदान गर्ने अनेकौं स्रोतहरू होलान् । परन्तु मेरा पिताले सदैव आफूलाइ उपलब्ध परिस्थितिलाई नै खुसीको स्रोत बनाउनुभयो । मेरो पिता पसिना , विवेक र करुणामा रमाउनुभयो । मेरो बासँग धन नभए तापनि मान छ । कन्धनीमा बाँधेर राखेको चार आना औंठी दुई टुक्रा पारेर लैजानेको दैलो म पनि कुच्दिन र मेरो बालाई पनि कुच्न दिन्न । म उहाँलाई
मेरो औकातले भ्याएसम्म सेवा र उपचार गर्छु ।’

यस्तैमा हेर्दाहेर्दै उदारनाथको अन्तिम अवस्था भयो । छोरो सिन्धुनाथ ‘बा बा’ भन्दै चिच्याउन थाल्यो । चञ्चलनाथ दौडेर भित्र पस्यो । निमेष भरमै सबै मिलेर उदारनाथलाई आँगनमा तुलसीको मठमा लगेर सुताए । उदारनाथले अन्तिम सास फेरे । चञ्चलनाथ एक छेउमा उभिएर छाती पिट्दै रोइरहेको थियो । आज उसको रोदन अन्तरात्माको अतल गहिराइबाट फुटेको थियो । उसका आँखाबाट झरिरेका बलिन्द्रधारा आँसु हृदय फुटालेर बाहिर निस्किरहेका थिए । यद्यपि दुनियाँको नजरमा त्यो अश्रुधारा एक अभिमानी भाइको पाखण्ड मात्र थियो । परन्तु त्यहाँ कोही पनि यति निर्दयी थिएन कि दाजुको देहावसानमा रोइरहेको भाइलाई उपहास या निन्दा गरोस् । चञ्चलनाथले मृत दाजुको अनुहारलाई नियालेर हेरिरह्यो । उदारनाथको अनुहारमा मृत्युको उपस्थिति थिएन । यमदण्डको प्रकोपको कुनै चिन्ह थिएन ।

अनन्त यमपाशको कुनै लक्षण थिएन । मानौं उनी सबैलाई सन्देश दिइरहेका थिए कि ‘जो जीवनलाई उत्सव मानेर जिउँछ , उसको मृत्यु पनि उत्सव जस्तै हुन्छ ।’ जीवनमा सधै हाँसिरहने उदारनाथको हाँसो मृत्युले पनि खोस्न सकेन । उनी जीवनमा जस्तै
मृत्युमा पनि देदीप्यमान भएर मुस्कुराइरहेका थिए ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...