Wednesday 7th December 2022

काव्यात्मक सिन्धुका रूपमा आएको शीत इन्दु


टङ्कप्रसाद पन्थ – कुस्मा १० पर्वतमा घर भई पाल्पालाई कर्मथलो बनाएकी इन्दिरा ज्ञवाली पौडेल शिक्षण कर्ममा संलग्न रहेकी छन् । पद्म पब्लिक मा वि तानसेनमा कार्यरत इन्दिरा विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूमा पनि आबद्ध रहेकी छन् । इन्दिरा ज्ञवाली पौडेलले एकल रूपमा पहिलो कृति शीत इन्दु भ्रखरै पाठकसामु ल्याएकी छन् । नेपाली साहित्यमा मुख्य गरी कविता विधामा पछिल्लो समयमा नवीन प्रयोगको बाढी नै आएको पाइन्छ । त्यस्ता उपविधात्मक प्रयोगहरूको एउटा प्राप्ति शीत काव्य पनि रहेको छ । यसका प्रवर्तक पाल्पाली स्रष्टा पुष्कर अथक रेग्मी हुन् । शीत काव्य समाजसँग आबद्ध रही शीत कविता लेखन र सम्प्रेषणका क्षेत्रमा स्रष्टा इन्दिरा ज्ञवालीको महत्त्वपूर्ण सक्रियता देख्न सकिन्छ । विद्यार्थी कालमा सिर्जना कर्ममा लागेको भए पनि बीचको लामो समय भने यिनको प्रतिभा सुषुप्त रहेको पाइन्छ । कोरोना कहरको एकान्त बास अनि शीत कविताको प्रवर्तनसँगै साहित्यकार इन्दिरा ज्ञवालीको लेखन पनि सक्रिय रूपमा अगाडि बढेको देखिन्छ । शीत काव्य प्रकाशनका पृष्ठभूमिमा हेर्दा समग्रतामा दोस्रो र नारी हस्ताक्षरका पृष्ठभूमिमा हेर्दा पहिलो शीत काव्य कृतिकार बनी शीत कविता लेखनका क्षेत्रमा इतिहास रच्ने काम यिनले गरेकी छन् । शीत काव्य समाज पाल्पाको अध्यक्षको भूमिकामा रहेकी इन्दिराको यसभन्दा पहिले ‘स्रष्टा सिर्जना पाल्पा’ नामक गजलसङ्ग्रहमा यिनका गजलहरू पनि प्रकाशित भएको देखिन्छ । शीत काव्य समाजसँग आबद्ध रही यसको संस्थागत विकास र प्रकाशनका कार्यमा सक्रिय इन्दिराको शीत इन्दु कृतिमा केन्द्रित रही विमर्श गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।
शीत इन्दु परिचय

शीत इन्दु शीर्षकको शीत काव्यसङ्ग्रह साहित्यकार इन्दिरा ज्ञवालीद्वारा २०७८ सालमा प्रकाशनमा आएको हो । शीत काव्य समाज नेपाल प्रकाशक रहेको प्रस्तुत कृतिलाई सासू र ससुराप्रति समर्पण गरिएको छ । शीतको परिकल्पनादेखि काव्यसङ्ग्रह शीत इन्दुसम्म शीर्षकको भूमिका लेखनमा साहित्यकार पुष्कर अथक रेग्मीले शीतको जन्म सन्दर्भ, शीत कविताको स्वरूपगत संरचना, शिल्पप्रविधि, केही आधारभूत मान्यताका पृष्ठभूमिमा इन्दिरा ज्ञवालीलाई शीत ईश्वरको स्थानमा राखी कृतिभित्रको मर्मलाई सतहमा ल्याउने काम गरेका छन् । कृष्ण केसी र दामोदर ढकालको शुभकामना मन्तव्यका साथै सीता विष्ट कार्कीको प्रकाशकीय मन्तव्य यहाँ सामेटिएको पाइन्छ । भूमिका, शुभकामना र विषय सूचीसम्म चौँतीस पृष्ठ र मूल भागमा नब्बे पृष्ठ गरी कुल एक सय चौबीस पृष्ठमा यो कृति निर्माण भएको छ । आवरण पृष्ठको साजसज्जालाई हेर्दा शीर्षक अनुकूल चन्द्र, ताराहरू अङ्कित आकाशको बिम्ब तथा धर्तीमा शीत पोतिएको झलकलाई संयोजन गरिएको छ । आववरण पृष्ठको पछाडिपट्टि कविको तस्बिर र परिचयका साथमा प्रकाशक र वितरकको लोगो चिह्न अङ्कित गरिएको छ । पकेट आकारमा कृतिको निर्माण भएको छ । यसै गरी कागजको स्तर, मूल्य, बँधाइ आदि पनि स्वाभाविक रहेको पाइन्छ । यस कृतिभित्र कुल एक हजार अठासीवटा शीत कविताहरू समेटिन आएको देखिन्छ ।
मूल कथ्य

प्रस्तुत कृति शीत कविताको इतिहासमा एक हजारभन्दा माथि शीत कविताको सिर्जना गरी प्रकाशनमा ल्याइएको दोस्रो कृति हो । विविध विषय र भावसम्बद्ध कविताहरू यहाँ समेटिएका छन् । विषय सूचीको वितरणलाई हेर्दा यहाँ पन्ध्रवटा शीर्षकहरू रहेका छन् । विचारलाई फैलाउने क्रममा वा विषय सन्दर्भलाई व्यापकता दिँदा उनन्चालीसवटा उपशीर्षकमा तन्काइएको पाइन्छ । माता र पिताप्रतिको भक्तिभाव, शीत काव्यको जन्म र विकास, निबन्ध, चाडपर्व, छन्द, रस, संवाद, कथा, मुक्तक, गाउँखाने कथा, उखान, दोहोरी, अन्त्याक्षरी, गीत, विविध गरी पन्ध्रवटा अध्यायको झलक यहाँ देख्न सकिन्छ । यस दृष्टिले हेर्दा प्रस्तुत कृतिमा विविध विषय र सन्दर्भहरू जोडिएर आएको पाइन्छ । विधागत प्रकृतिलाई केन्द्रित गरी शीत कविताको रचना गरिएको छ । शीत काव्यसँग सम्बन्धित अनुभूतिहरू पनि यहाँ प्रस्तुत भएको पाइन्छ । निबन्धमा शीत भनी देवकोटा, घिमिरे, पृथ्वीनारायण शाहको योगदानलाई प्रकाश पारिएको छ, यहाँ निबन्धभन्दा पनि जीवनीपरकता पाउन सकिन्छ । दसैँ, तिहार, छठ, माघी, असार जस्ता विषयमा केन्द्रित हुँदै हाम्रा परम्परा, चाडपर्व, आस्था र विश्वास, कृषि संस्कृति अनि जीवनशैलीको झलक प्रस्तुत भएको पाइन्छ । छन्दमा शीत शीर्षकअन्तर्गत सारु, स्त्री, मधु, मही छन्दमा केन्द्रित भई शीत रचना गरिएको छ । केही वर्णविन्यासगत त्रुटिको स्थिति देखिए तापनि छन्दलाई आत्मसात गरी शीत लेख्न सकिने दृष्टान्तलाई यहाँ प्रस्तुत गरिएको छ । नवरसमा शीत शीर्षकमा साहित्यमा अस्तित्वमा रहेका नौवटा रसहरूमा केन्द्रित रहेर शीत कविताको रचना गरिएको छ । यहाँ रस भावगत विविधताको आस्वादन पाइनुका साथै इन्दिरा ज्ञवालीको सिर्जना सामथ्र्यलाई साक्षात्कार गर्न सकिन्छ । संवादमा शीत शीर्षकमा रवि र शतिको संवाद, आमा र छोरीका बीचको संवाद, लक्ष्मी र इन्दुको संवादात्मक झलक प्रस्तुत गरिएको छ । प्रकृति वा जड वस्तुलाई पनि मानवीकरण गरी मानवीय संवेदना जगाउने कुरामा स्रष्टा सफल रहेको पाइन्छ । कथामा शीत शीर्षकमा शीत कवितालाई आख्यानात्मक कलेवरमा ढाल्ने प्रयत्न गरिएको छ । पछिल्ला दुईवटा शीर्षकका तुलनामा ‘कर्मको फल’ शीर्षकमा आख्यानात्मकता अनुकूल बन्न गएको देखिन्छ । मुक्तकीय प्रविधिमा बाँधिएर शीत कविताको रचना गर्ने कला पनि यहाँ देख्न सकिन्छ । गाउँखाने कथा, उखान, गीत, अन्त्याक्षरी ढाँचामा पनि शीत लेखनको प्रयोग यहाँ भएको छ । शीतमा दोहोरी नै खेल्न सकिने दृष्टान्तका रूपमा इन्दिरा ज्ञवाली र कृष्ण केसीका बीचको शीत दोहोरीलाई लिन सकिन्छ । विविध शीत शीर्षकमा बुढाबुढीको समस्या, बुहारीको बुहार्तन, ऋतु समयको प्रभाव, मानवीय कर्तव्य र स्वाभिमानका स्वरहरू मुखरित भएको पाइन्छ । विविध विषय र भावहरूलाई समेटी योजनाबद्ध रूपमा शीतको सिर्जना भएको पाइन्छ । विषयगत विविधता, भावगत विविधता, निर्माण वा संरचनागत विविधतालाई यस काव्यमा प्रयोग गरिएको छ । यसलाई शीत लेखनको प्रयोग मूलक कृतिका रूपमा पनि लिन सकिन्छ । मानवीय प्रवृत्तिको उद्घाटन गराउनुका साथै संवेगात्मक अवस्थालाई पनि यहाँ प्रस्तुत गरिएको पाइन्छ ।
शीत इन्दुभित्र पाइने प्रवृत्ति
नेपाली कविताको इतिहासमा विकास भएको कविताको सूक्ष्म रूप शीतमा बाँधिएर कविता सिर्जना गर्ने कलामा स्रष्टा इन्दिरा ज्ञवाली सफल रहेकी छन् । यिनको प्रस्तुत सङ्ग्रहमा विषयगत विविधताका साथमा जीवनका यथार्थ अवस्थालाई प्रस्तुत गरिएको छ । यस काव्यसङ्ग्रहको समग्र पक्षलाई अध्ययन गर्दा निम्नलिखित प्रवृत्ति रहेको पाइन्छ :
अग्रजप्रतिको सम्मान
कृतिलाई सासू अनि ससुराप्रति समर्पित गरी एक प्रकारको सम्मान भाव व्यक्त गरिएको पाइन्छ । यसै गरी कृतिभित्र ठाउँठाउँमा अग्रजप्रतिको सम्मान भाव जीवन्त बनेर आएको पाइन्छ । माता पिता अनि गुरुहरूप्रतिको अटल आस्था यिनका रचनामा मुखरित भएर आएको छ । यसै गरी लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, पृथ्वीनारायण शाह जस्ता व्यक्तिको योगदानप्रति निष्ठाभाव व्यक्त हुनुले यस कुराको पुष्टि हुन्छ । हाम्रा अग्रजहरूलाई ससम्मान सम्झनुपर्छ भन्ने विचारका साथमा उनीहरूको योगदानप्रति नतमस्तक रहेको पाइन्छ । पाठकमा सन्देश प्रवाहित गर्ने उद्देश्यले पनि यो काव्य उपयुक्त रहेको मान्न सकिन्छ । पहिलो शीर्षकमै माता पिताप्रति आस्था प्रकट गरी शीत लेख्न थाल्नुले पूर्वीय काव्य मान्यताको मंगलाचरणको झल्को पनि यहाँ पाउन सकिन्छ । यसरी अग्रजप्रतिको सम्मान भाव इन्दिरा ज्ञवालीमा संस्कारका रूपमा रहेको पाइन्छ ।
संस्कार र संस्कृतिप्रतिको आस्था
प्रस्तुत कृतिमा विभिन्न चाडपर्वका साथै हाम्रा संस्कृतिसम्बद्ध सन्दर्भहरूलाई उठान गरिएको छ । दसैँ, तिहार, छठ, माघी, तीज जस्ता चाडपर्वहरूको सन्दर्भ उठानद्वारा विविध जाति र संस्कृतिको संगमस्थल हाम्रो राष्ट्रिय पहिचान यहाँ मुखरित भएर आएको पाइन्छ । हाम्रा प्रचलित आस्था, मूल्यमान्यता, खानपान र जीवनशैलीमा आएको परिवर्तनको झलकका साथमा विकृतिबाट सचेत बन्नसमेत आह्वान गरिएको छ । हाम्रा चाडपर्वका फरक फरक विशेषता र तिनले जोड्न पुगेको मानवीय नातालाई यहाँ उजागर गराएको छ । ‘असार’ शीर्षकमा हाम्रो कृषि संस्कृति अनि काम गर्दा दु:ख भए पनि आत्मनिर्भर बन्ने अभियानप्रतिको सुखद पक्षलाई झल्काइएको छ । कृषि क्षेत्रलाई अपहेलना गर्ने प्रवृत्तिप्रति प्रश्न तेस्र्याइएको छ । योग, साधना र जीवनशैलीसम्बन्धी चेतना पनि यहाँ प्रवाहित भएर आएको पाइन्छ । राष्ट्रप्रतिको ममताका साथमा देशभक्तिको भावना पनि अभिव्यक्त भएको पाइन्छ ।
रसभावगत चेतना

प्रस्तुत कृतिको अध्ययन गर्ने क्रममा स्रष्टा इन्दिरा ज्ञवालीको शीत साधनामा रसगत रुझान पनि प्रभावशाली बनेर आएको पाइन्छ । शृङ्गारदेखि शान्त रससम्मका नौवटै रसहमा केन्द्रित रही शीत कविताको रचना गर्नुले साहित्यका नौवटै रसमा शीत कविता सिर्जना गर्न सकिन्छ भन्ने प्रमाण पनि प्रसतुत गरिएको अनुभव हुन्छ । सम्बन्धित रसको स्थायीभावलाई ख्याल गरी विभाव, अनुभाव र व्यभिचारी भावको पक्षमा पनि सचेतता अपनाइएको पाइन्छ । रसगत विविधतालाई योजनाबद्ध रूपमा समेट्ने दृष्टिले पनि यो कृति उल्लेखनीय रहेको पाइन्छ । रसको खास प्रकृतिलाई जगाउनका लागि चाहिँने सुझको पनि उपयोग भएको देख्न सकिन्छ ।

छन्दप्रतिको सचेतता
प्रस्तुत कृतिमा शास्त्रीय छन्दलाई पनि आत्मसात गरी शीत सिर्जना गरिएको छ । दुई अक्षरबाट निर्मित हुने, सारु वा चित्र, स्त्री, मधु, मही जस्ता चारवटा छन्दमा बाँधिएर शीत लेख्नुले स्रष्टा इन्दिरामा शास्त्रीय छन्दलाई शीतसँग जोड्ने सामथ्र्य रहेको देख्न सकिन्छ । शीत कवितालाई गेयात्मक तुल्याउने कुरामा पनि ज्ञवाली सचेत रहेको पाइन्छ । धेरै शीतहरू स्वतन्त्र रूपमा रचना भएको भए पनि छन्दमा शीत भनी शास्त्रीय छन्दका अनुशासनमा बाँधिएर शीत कविताको सिर्जना हुन सक्ने आधार यहाँ प्रस्तुत गरिउको छ ।

कर्तव्यबोध
इन्दिरा ज्ञवालीका शीतमा मानवीय कर्तव्यबोधको पाटो सबल बनेर आएको पाइन्छ । मानवीय जीवनका सुख अनि दु:खका पाटाहरू, समानता र सहिष्णुताका भावहरू पनि यहाँ व्यक्त भएको पाइन्छ । यसै गरी कर्तव्य र दायित्वबोधका पृष्ठभूमिबाट मानव जीवनको औचित्यलाई खोजी गर्ने चेष्टा पनि गरिएको पाइन्छ । छोराछोरीको आमा बाबुप्रतिको कर्तव्यलाई पनि यहाँ प्रकाश पारिएको छ । कामना, इच्छा वा शुभेच्छाका भावहरू पनि यहाँ सल्बलाएका छन् । घाँटी हेरेर हाड निल्नका लागि पनि अग्रह गरिएको छ । मानवीय अस्तित्व चेतनाका साथै सिर्जना र निर्माणका स्वरहरू पनि यहाँ मुखरित भएको पाइन्छ ।

व्यङ्ग्यात्मकता
स्रष्टा इन्दिरा ज्ञवालीको लेखनमा व्यङ्ग्यात्मक प्रवृत्ति पनि पाउन सकिन्छ । मानवीय जीवनमा मक्किएर रहेका आडम्बरपूर्ण व्यवहारलाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गर्ने क्रममा व्यङ्ग्यात्मक पक्ष मुखरित भएर आएको देखिन्छ । चाडपर्व वा संस्कृति मान्ने सवालमा होस् वा मानिसका बोली अनि व्यवहारमा पाइने अनावश्यक फुर्तीलाई सन्दर्भ अनुकूल तुल्याई मार्मिक रूपमा प्रहार गर्ने काम यहाँ भएको पाइन्छ । त्यस्ता प्रवृत्तिप्रति प्रहार गरी सुधारको सन्देश प्रवाहित गर्नेतर्फ पनि सचेत रहेको पाइन्छ ।

शैलीशिल्प
शीत दुई अक्षरीय संरचनामा चार हरफमा निर्मित कविताको सूक्ष्म भेद हो । कुल आठ अक्षरमा एउटा पूर्ण विचारको अभिव्यक्ति हुनुपर्ने मान्यता यसको खास पहिचान हो । सारमा भन्दा बिन्दुमा सिन्धु भर्न सक्ने कलात्मक सामथ्र्य भएको स्रष्टा शीत लेखनमा सफल बन्दछ । विचारलाई सीमित शब्दमा केन्द्रित गरी सघन रूपमा प्रस्तुत गर्दा शीतको काव्यात्मक उचाइ बढ्न जान्छ । इन्दिरा ज्ञवालीको शीत लेखनलाई हेर्दा यस कुरामा उनी सचेत रहेको पाइन्छ । अभिव्यक्तिलाई गेयात्मक ढाँचामा ढाली बिम्ब, प्रतीक र अलङ्कारको विन्यासमा पनि यिनी सचेत रहेको देख्न सकिन्छ । प्रकृतिको मानवीकरण अनि मानव र प्रकृतिको तादात्म्यीकरण यहाँ पाइन्छ । अुप्रासयुक्त र मुक्त दुवै प्रकृतिका शीतको रचना यिनले गरेकी छन् । अघिल्लो र पछिल्लो श्लोकका बीचमा अनुप्रासीय निर्भरताको स्थिति पनि यहाँ पाइन्छ । रवि र शीतलाई पति र पत्नीको बिम्बद्वारा प्रस्तुत गरिनुले अभिव्यक्तिमा प्रतीकात्मकताको छनक पाउन सकिन्छ । कतैकतै शब्दलाई भाँचेर प्रस्तुत गर्नु अनि वर्णविन्यासगत दृष्टिले सावधानी अपनाउन नसक्नुलाई केही सीमाका रूपमा लिन सकिन्छ ।

निष्कर्ष
साहित्यकार इन्दिरा ज्ञवाली यस कृतिका माध्यमबाट नेपाली वाङ्मयका क्षेत्रमा कृतिकारका रूपमा उपस्थित भएकी छन् । कविताको अति सूक्ष्म संरचनामा बाँधिएर हजारभन्दा बढी सङ्ख्यामा श्लोक संरचना निर्माण गर्नु सबैका लागि सहज कुरा होइन । विषयगत विविधता र भावगत सघन मर्मलाई पछ्याइएको प्रस्तुत कृति पठनीय र सङ्ग्रहणीय सामग्रीका रूपमा आएको छ । मानवीय संवेदनालाई जगाउने प्रस्तुत कृतिमा हाम्रा आचार, विचार, संस्कार र मूल्यको बोध गराउने काम गरिएको छ । सूक्तीमय पदावली, गेयात्मक प्रस्तुति, अनुप्रासीय सुझ, शिल्पगत सचेतताका साथमा पाठकमा सन्देश प्रवाहित गर्ने दृष्टिले पनि प्रस्तुत कृति सबल रहेको पाइन्छ । साना बाल प्रतिभा तथा साहित्यप्रति चासो राख्ने तर सिर्जनामा कलम चलाउन नसकेका व्यक्तिहरूलाई साहित्य सिर्जनातर्फ आकर्षित गर्ने कुरामा पनि प्रस्तुत कृतिले उत्प्रेरणा जगाउन सक्ने देखिन्छ । शीत कविताको सिर्जना यसरी गर्न सकिन्छ भन्ने हिसाबले पनि प्रस्तुत कृति महत्त्वपूर्ण सामग्रीका रूपमा आएको छ ।

साहित्यका छन्द, रस तथा विधागत सुझका साथमा शीत सिर्जनालाई प्रयोग गरी विविध आयाममा शीतको सिर्जना हुन सक्ने दृष्टान्त यहाँ प्रस्तुत गरिएको छ । शीतका माध्यमबाट मानवीय संवेदनालाई तत्क्षण अभिव्यक्तिमा लैजान सकिन्छ भन्ने आधार शीतको दोहोरीमा देख्न सकिन्छ । उखान तथा गाउँखानृ कथाको संरचनागत सूक्तीमयतालाई ख्याल गरी शीत संरचनाभित्र गाल्ने काम पनि यहाँ गरिएको छ । विचारको प्रवाहका साथमा विधागत रुझानलाई झल्काउन सक्नु पनि ज्ञवालीको सममथ्र्य मान्नुपर्दछ । कृति प्रकाशनको यस अवसरमा इन्दिरा ज्ञवालीलाई हार्दिक बधाईका साथमा निरन्तर साधनाको शुभकामना ।


Loading...
सम्बन्धित शीर्षकहरु

बसन्त थापा,कुवेत तीतोपाटी- आज यो देशको प्रगतिको वास्तविकता मूल्याङ्कन गर्न गाह्रो हुँदै गएको छ। तथ्याङ्कबाटै विकासका उपलब्धिहरू आँकलन गर्ने हो…

मगर संघ कुवेतको चौंथो अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम अागामी…

शीतहरु १ टप टप शीत वर्षा २ जता ततै तिम्रै चर्चा ३ ज्वती पुञ्ज शीत गुञ्ज ४ शीत धारा अति…

प्रतिकृयाहरू
...