Thursday 2nd February 2023

लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमको लघुकथा ‘राष्ट्रियता’ को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा ‘राष्ट्रियता’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ पस्कने जमर्को गरेकी छु ।
लघुकथाकार डा. कुसुमाकर शर्मासँग प्रत्यक्ष भेटघाट नभएपनि सामाजिक संजाल र लघुकथाको माध्यमबाट परिचित छु । लघुकथाकार डा. कुसुमाकर शर्माको जन्म २०२० असोज १ गते आला,रुकुमकोट, रुकुम (हाल सिस्ने ६, रुकुम पूर्व)मा बुवा भुवनेश्वर उपाध्याय र आमा मन देवी उपाध्यायको सुपुत्रको रुपमा भएको हो ।

प्रारम्भिक शिक्षा रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट, रुकुमबाट प्राप्त गरी उच्च शिक्षा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी),थाइल्याण्डबाट स्नातकोत्तर र अल्बर्टा विश्वविद्यालय एडमन्टन, क्यानडाबाट विद्यावारिधि गर्नु भएको छ । पेशाले इन्जिनियर साहित्यकार हाल पानी प्रशोधन विशेषज्ञको रुपमा वातावरण मन्त्रालय, अल्बर्टा, क्यानाडामा कार्यरत हुनुहुन्छ । उहाँको पहिलो प्रकाशित रचना ”म को हूँ” कविता हाटारु पत्रिकामा २०३९ सालमा छापिएको थियो ।कविता तथा लघुकथामा कलम चलाउनुहुने साहित्यकार शर्मा पारखी पाठक हुनुहुन्छ ।

प्रस्तुत कथा राष्ट्रियतामा मुख्य पात्रको रुपमा बिद्यार्थी पीटर र सामाजिक शिक्षक रहेका छन् । कथा यसरी शुरु गरिएको छ ।

सामाजिक पढाउने गुरुले आज पढाउने शीर्षक कालोपाटीमा लेख्नु अघि विद्यार्थीहरूलाई हामी कुन देशका नागरिक हौँ भनि सोध्नु भयो । नेपाल भन्दै सबैले एक स्वरमा जवाफ दिए। हामी नेपालका नागरिक हौँ भने हाम्रो राष्ट्रियता के हो? गुरुले दोश्रो प्रश्न सोध्नु भयो।

हाम्रो राष्ट्रियता नेपाली हो पुन सबैले एकै स्वरमा उत्तर दिए। गुरुले कालोपाटीमा आज पढाउने शीर्षकको नाम लेख्नु भयो ‘राष्ट्रियता’। लेखिसकेर विद्यार्थीतिर फर्कनु भयो। यसो हेर्दा पीटर गोर्खाली कुनै उत्तर नदिएर चुपचाप बसेको देख्नु भयो। गुरुले पीटरलाई सोध्नु भयो तिमी किन चुपचाप छौ पीटर ?

मेरो बुवा चाइनिज हुन् र मेरी आमा मलयाली (केरलाकी) हुन्। बुवाले पच्चीस वर्षदेखि नेपालमा जलविद्युत उत्पादनको कम्पनीमा काम गर्नुहुन्छ। मेरी आमा त्यही जलविद्युत कम्पनीको एकाउन्टेन्ट भएर पन्ध्र वर्षदेखि नेपालमा काम गर्दै हुनुहुन्छ। दश वर्षअघि उहाँहरूले विवाह गर्नु भयो । म जन्मनुअघि मात्र उहाँहरूले नेपालको नागरिकता पाउनु भयो। त्यसैले म जन्मदै नेपालको नागरिक हूँ । नेपालमा जन्मिएकोले मेरो थर गोर्खाली राखे । एकै सासमा पिटरले आफ्नो कथा बतायो।

तिम्रो नागरिकता नेपाली भए पछि त तिम्रो राष्ट्रियता पनि नेपाली नै भयो नि ! हैन र ? गुरुले फेरि सोध्नु भयो।
पीटरले अनुहारमा मुस्कान ल्याउँदै भन्यो म चाइनिज हजुरआमालाई धेरै माया गर्छु। उहाँ बुद्धको पूजा गर्नुहुन्छ। अनि प्रत्येक गर्मीको छुट्टीमा उहाँलाई भेट्न चीन जान्छु। हजुरआमाको हातको खाना यति मीठो हुन्छ कि ? सम्झँदै मुख रसाउँछ। भारतको केरलाका बाजे बज्यै मलाई असाध्यै माया गर्नु हुन्छ। उहाँहरू क्रिश्चियन हुनुहुन्छ। मलाई केरलको समुद्री किनार, त्यहाँको नाचगान र संस्कृति मनपर्छ। त्यसैले प्रत्येक जाडो याममा म केरला जान्छु। म चाइनिज बोल्छु, मलायलम पनि मज्जासँग बोल्छु। म नेपालमा जन्मिएको हुनाले यहीँ नेपालीमा शिक्षा दिक्षा लिदै छु।

टाउको उठाएर गुरुका आँखामा हेर्दै बोल्यो, मेरो तन नेपालमा छ। रगतको नाता अन्तरदेशीय स्थानमा फैलिएको छ। अनि मेरो मन तीन तिर बाँडिएको छ। अब तपाईँ भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो ? कथा यसरी समापन गरिएको छ ।

कक्षाकोठामा शिक्षक र बिद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलाप मार्फत हाम्रो समाज विश्वव्यापीकरण उन्मुख रहेकोले राष्ट्रियता भन्दा मानवता र विश्वबन्धुत्वको भावना अझ बृहत् हो भन्ने प्रष्ट पार्न सफल हुनुभएको छ लघुकथाकार ।माझिएका साहित्यकार लिखित लघुकथा राष्ट्रियताबाट शुरु भएर कौतुहलपुर्ण रुपमा विश्वव्यापीकरणमा अन्त्य भएको छ अर्थात् विपरित भावमा समापन भएकाले लघुकथाको मापनमा थपक्क बसेको छ । शिर्षक सार्थक छ ।कथा सरल, सटिक र सुबोध छ ।म जस्ता सिकारु लघुकथाकारहरुका लागि मानक कथा बनेको छ जस्तो लाग्छ मलाई ।

अन्त्यमा साहित्यकार डा. कुसुमाकर शर्मा गौतमको साहित्यिक यात्राले सगरमाथाको शिखर चुमोस् । विदेशी भुमीमा रहेर सदैव नेपाली साहित्यमा रुची, लगाव राख्नुहुने साहित्यकारको लघुकथा संग्रह यथासीघ्र प्रकाशित होस् भन्दै सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन-१०, सर्लाही
हाल गठ्ठाघर, भक्तपुर

लघुकथा – राष्ट्रियता

डा. कुसुमाकर शर्मा गौतम
रुकुमकोट रुकुम पूर्व
हाल एडमन्टन, क्यानाडा

सामाजिक पढाउने गुरुले आज पढाउने शीर्षक कालोपाटीमा लेख्नु अघि विद्यार्थीहरूलाई सोध्नु भयो, ‘हामी कुन देशका नागरिक हौँ?

‘नेपाल’ सबैले एक स्वरमा जवाफ दिए। ‘हामी नेपालका नागरिक हौँ भने हाम्रो राष्ट्रियता के हो?’ गुरुले दोश्रो प्रश्न सोध्नु भयो।

‘हाम्रो राष्ट्रियता नेपाली हो।’ सबैले एकै स्वरमा उत्तर दिए।

गुरुले कालोपाटीमा आज पढाउने शीर्षकको नाम लेख्नु भयो ‘राष्ट्रियता’। लेखिसकेर विद्यार्थीतिर फर्कनु भयो। यसो हेर्दा पीटर गोर्खाली कुनै उत्तर नदिएर चुपचाप बसेको देख्नु भयो। गुरुले पीटरलाई सोध्नु भयो, ‘तिमी किन चुपचाप छौ पीटर?’

‘मेरो बुवा चाइनिज हुन र मेरी आमा मलयाली (केरलाकी) हुन्। बुवाले पच्चीस वर्षदेखि नेपालमा जलविद्युत उत्पादनको कम्पनीमा काम गर्नुहुन्छ। मेरी आमा त्यही जलविद्युत कम्पनीको एकाउन्टेन्ट भएर पन्ध्र वर्षदेखि नेपालमा काम गर्दै हुनुहुन्छ। दश वर्षअघि उहाँहरूले विवाह गर्नु भयो। म जन्मनुअघि मात्र उहाँहरूले नेपालको नागरिकता पाउनु भयो। त्यसैले म जन्मदै नेपालको नागरिक हूँ। नेपालमा जन्मिएकोले मेरो थर गोर्खाली राखे।’ एकै सासमा पिटरले आफ्नो कथा बतायो।

‘तिम्रो नागरिकता नेपाली भए पछि त तिम्रो राष्ट्रियता पनि नेपाली नै भयो नि। हैन र?’ गुरुले फेरि सोध्नु भयो।

पीटरले अनुहारमा मुस्कान ल्याउँदै भन्यो, ‘म चाइनिज हजुरआमालाई धेरै माया गर्छु। उहाँ बुद्धको पूजा गर्नुहुन्छ। अनि प्रत्येक गर्मीको छुट्टीमा उहाँलाई भेट्न चीन जान्छु। हजुरआमाको हातको खाना यति मीठो हुन्छ कि? सम्झँदै मुख रसाउँछ। भारतको केरलाका बाजे बज्यै मलाई असाध्यै माया गर्नु हुन्छ। उहाँहरू क्रिश्चियन हुनुहुन्छ। मलाई केरलको समुद्री किनार, त्यहाँको नाचगान र संस्कृति मनपर्छ। त्यसैले प्रत्येक जाडो याममा म केरला जान्छु। म चाइनिज बोल्छु, मलायली पनि मज्जासँग बोल्छु। म नेपालमा जन्मिएको हुनाले यहीँ नेपालीमा शिक्षा दिक्षा लिदै छु।’

टाउको उठाएर गुरुका आँखामा हेर्दै बोल्यो, ‘मेरो तन नेपालमा छ। रगतको नाता अन्तरदेशीय स्थानमा फैलिएको छ। अनि मेरो मन तीन तिर बाँडिएको छ। अब तपाईँ भन्नुहोस् गुरु मेरो राष्ट्रियता के हो?’


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ ।…

तितोपाटी- कुवेतमा नागरिक परिचयपत्र अर्थात (PACI) ले डेलीभरी कम्पनी सँगको सम्झौता नवीकरण नगरेपछि नागरिक सूचना सार्वजनिक प्राधिकरणले सिभिल आइडी कार्डको होम डेलिभरी…

नारायण कोइराला - आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित गरिसक्नुभएका समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापकिकरणका लागि रामबहादुर सुन्दरीमाया…

प्रतिकृयाहरू
...