Monday 26th January 2026

नेपाल र दक्षिण कोरिया बीचको इपिएस सम्झौता छिट्टै नवीकरण हुने


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो।

मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुंगामा पुर्‍याउन राजदूत पार्कसँग आग्रह गरेका थिए। राजदूत पार्कले इपिएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताए। सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र त्यसपछि २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ।मन्त्री श्रेष्ठले कोरियाली भाषा परीक्षा पास गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकाले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न आग्रह गरेका थिए। रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले पाउने कोटा बढाउन पनि उनले आग्रह गरे।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली कामदार लैजाँदै आएको छ। इपिएस प्रणाली अन्तर्गत १६ देशका विदेशीहरू रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्दछन्। इपिएस अन्तर्गत नेपाली कामदारको संख्या बढाउन दक्षिण कोरिया सरकार सकारात्मक रहेको राजदूत पार्कले बताएका थिए।

सन् २०१८ मा इपिएस अन्तर्गत भाषा परीक्षा पास गरेका दुई हजार नेपाली रोष्टरमा रहने म्याद सकिएकाले प्रक्रियामा सहभागी हुन नपाएको भन्दै मन्त्री श्रेष्ठले म्याद थप गरी प्रक्रियामा सहभागी गराउन आग्रह गरे। मन्त्री श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया रोजगारीमा जानेहरूका लागि भाषा परीक्षा आगामी मे ३० बाट सुरु गर्ने मन्त्रालयको तयारी रहेको बताए।

रोजगार अनुमति प्रणाली अन्तर्गत नेपाली नागरिक ठूलो संख्यामा दक्षिण कोरिया जाने गरेकाले नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगमलाई पनि कोरियामा सूचीकृत गर्न, कोभिड महामारीका कारण सीधा उडान मात्र हुने गरेकाले ट्रान्जिट हुँदै समेत जाने व्यवस्था गर्न पनि उनले आग्रह गरे। जसबाट हवाई भाडा सस्तो पर्ने मन्त्री श्रेष्ठको भनाइ छ। नेपाल वायुसेवा निगमले पनि काठमाडौं–कोरिया उडानको प्रयत्न गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिएका थिए।

सो अवसरमा मन्त्री श्रेष्ठले दक्षिण कोरियामा प्राप्त हुन सक्ने मौसमी कामदारको अवसरबारे पनि राजदूतसँग चासो राखेका थिए। मन्त्री श्रेष्ठले अहिले वैदेशिक रोजगार व्यवस्थापनको कार्य क्षेत्र सङ्घीय सरकारमा मात्र रहेकाले मौसमी कामदारको रूपमा रोजगारी दिन स्थानीय सरकारलाई जिम्मेवार बनाउन खोजिएको विषयमा नीतिगत स्पष्टता कायम गर्दै अघि बढ्न नेपाल सरकार तयार रहेको बताए।

मन्त्री श्रेष्ठले नेपाल सरकारको नीति अनुसार मौसमी कामदारको रूपमा जाने व्यक्तिहरू ‘एम्प्लोई पे पोलिसी’ अवलम्बन हुने गरी दक्षिण कोरिया जाऊन् भन्ने अपेक्षा गरिएको बताए। दक्षिण कोरिया सरकारको सहयोगमा बुटवलमा सञ्चालित सीप तालिम केन्द्रबाट धेरै नेपाली युवा लाभान्वित भएको बताउँदै मन्त्री श्रेष्ठले अन्य प्रदेशमा पनि सीप विकास तालिम सञ्चालन गर्ने मन्त्रालयको योजनामा सहयोग गर्न आग्रह गरेका थिए।

रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया गई फर्केर आउने नेपाली नागरिकलाई पुनःएकीकरणका लागि सहयोग गर्ने दक्षिण कोरिया सरकारको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए। पुनःएकीकरणका लागि दक्षिण कोरिया सरकारले ८० लाख डलर सहयोगको प्रस्ताव गरेको छ। कोरियामा ६५ हजारभन्दा बढी नेपाली इपिएस अन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन्। नेपालीहरू मेहनती र इमानदार भएकाले कोरियाका रोजगारदाताको रोजाइमा पर्दै आएको राजदूत पार्कले बताएका थिए।

-राससबाट

 


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...