Saturday 17th January 2026

विदेश जाने महिला ७१ प्रतिशत बढे


तितोपाटी- यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ।

यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू विदेशमा रहँदै आएपछि उनीहरूले समाजिक सञ्जालबाट विदेशको बसोबास र त्यहाँका सेवासुविधा तथा अवसरबारे ज्ञात भए र आफूलाई त्यहीअनुसार सक्षम बनाउँदै लगेको देखिन्छ।

महिलाहरू पनि आफु सक्षम रहेको र विदेशमा समेत काम गर्न सक्ने क्षमता रहेको तथ्यांकले उजागर गरेको विभागका निर्देशक ढुण्ढीराज लामिछानेले बताए। जनगणना ०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१ लाख ६९ हजार ४ सय ७८ व्यक्तिहरू नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन्। तीमध्ये १७ लाख ६३ हजार ३ सय १५ पुरुष ८१.२८ प्रतिशत र ४ लाख ६ हजार एक सय ३ महिलाहरू अर्थात् १८.७२ प्रतिशत महिलाहरू छन्।

२०६८ सालमा विदेशमा अक्सर बसोबास गर्नेहरू १९ लाख २१ हजार ४ सय ९४ थियो, तीमध्ये पुरुष १६ लाख ८४ हजार २९ अर्थात् ८७.६४ प्रतिशत थिए। महिलाहरू २ लाख ३७ हजार ४ सय अर्थात १२.३६ प्रतिशत मात्र थिए।

पहिले छोरीहरूलाई अभिभावकले एक्लै विदेश अध्ययन होस वा कामका लागि पठाउन हिचकिचाउने गरेका थिए भने हाल अवस्था फेरिएको छ। अचेल अभिभावकम छोराछोरी समान हुन् भन्ने चेत आएकैले आमाबुवाले छोरीलाई पनि राम्रो शिक्षादीक्षा दिन थालेको र अध्ययनको सिलसिलामा समेत विदेश पठाउने गरेको देखिएको लामिछाने बताउँछन्। समाजिक सञ्जालले पनि छोरीहरू देशविदेशबारे आफैं बुझ्ने बनाइदिएको छ। जसका कारण अध्ययन मात्र होइन कामको सिलसलामा समेत नेपाली चेलीहरू विदेशिने गरेको नतिजाले देखाएको छ।

‘समग्रमा हेर्दा ०६८ को तुलनामा ०७८ मा विदेशिने महिला संख्या ७१.०९ प्रतिशतले बढेको छ,’ निर्देशक लामिछानेले विश्लेषणात्मक अनुभव सुनाए, ‘विदेशीने पुुरुषहरू घटेका छन्। अब महिलाहरूको शिक्षामा पहुँच बढेको तथ्यांकलेनै देखाउँछ ।’ उनले थपे ‘नेपाली महिलाहरू पनि शिक्षित हुदै गएपछि आत्मनिर्भर हुने र आफनो खुटामा उभिने चलन बढेको छ। महिला र पुरुष हरेक क्षेत्रमा समान रूपमा अघि बढेको देखियो यो सकरात्मक पक्ष हो।’

जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट ब्यक्तिहरू विदेशिएको देखिएको उपमहानिर्देशक हेमराज रेग्मीले बताए। उपमहानिर्देशक रेग्मीले प्रस्तुत गरेको तथ्यांकअनुसार सबै भन्दा बढी विदेश जाने पाँच जिल्लाहरू काठमाडौं, कैलाली, झापा, रूपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश अनुपस्थित हुने पाँच जिल्ला मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन्।

जनसख्यामा महिला बढी

विगत दश वर्षको जनसँख्याको सरदर वार्षिक वृद्धि दर ०.९३ प्रतिशत देखिन्छ। जुन अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको थियो। कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ पुरुष अर्थात यस पटकको गणनामा ४८.९६ प्रतिशत पुरुष छन्। भने १ करोड ४९ लाख १ हजार १ सय ६९ महिला छन्।

अर्थात यस पटक महिलाको संख्या ५१.०४ प्रतिशत रहेको छ। १० वर्षअघि ०६८ सालको गणनामा ४८.५ प्रतिशत पुरुष र ५१.५ प्रतिशत महिला रहेका थिए। हालको प्रारम्भिक नतिजा अनुसार लैगिक अनुपात प्रति सय महिलामा पुरुषको संख्या ९५.९१ प्रतिशत रहेको छ ।जुन गत गणनामा ९४.१६ रहेको थियो। नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...