Thursday 1st January 2026

कांग्रेस सरकारबाट जनताले के आशा राख्ने ?


बि. आर. उप्रेती, बारा, नेपाल – हाम्रो देशमा विभिन्न राजनैतिक दलहरू छन् । यी दलहरूमा निर्दलिय पञ्चायती व्यवस्था देखि हाल गणत्रन्त्रात्मक शासन प्रणालीसम्म हरेक काल खण्डको समयावधिमा राम्रा नराम्रा क्रियाकलापबाट पार गर्दै आइरहेका व्यक्तित्वहरु पनि छन् । जे जस्तो सुकै होस् जनता र राष्ट्रको सुख समवृद्धिको लागि भनेर नै हामी राष्ट्र र जनताको सेवक बनी समग्र बिकास गर्छौं भन्दै सबै राजनैतिक दलहरु अग्रसर भएका होलान् । यहाँ कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस पार्टी, माओवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसवादी पार्टी लगायत विभिन्न राष्ट्रिय राजनैतिक दलहरु खडा भएका छन्, धेरै पार्टीहरुले सत्ता सम्हाली पनि सकेका छन् ।

यसरी कांग्रेस र कम्युनिस्ट पार्टीहरुले पटक पटक गरी धेरै अवधि सत्ता बागडोर हातमा लिइ सरकार सञ्चालन गरेका थिए ।
कुनै राजनीतिक दल सरकारमा रहँदा विपक्षमा रहेका दलले हामी सरकारमा भए जनता र राष्ट्रको भलो हुने यस्तो काम गर्थ्यौ, उस्तो काम गर्थ्यौ भन्छन् । नेपाली कांग्रेसले पनि विगतमा भनेको थियो ६५ वर्ष पुगेपछी वृद्ध वृद्धा जनताहरुलाई सम्मान गर्ने र वृद्ध भत्ता दिनुपर्छ भनेर, अहिले खोइ त ? झन् अहिले त नेपाली कांग्रेस पार्टीको नेतृत्वमा गठबन्धन सरकार हुँदा आफ्नो बोली बाचा पुरा गर्न सुवर्ण अवसर थियोे । आफुले दिएको बचन पुरा गर्न सकिथ्यो होला नी, अहिले कुन तगारोले छेक्छ । बिचरा ६५ वर्ष पुग नपुग भएका देशभरका वृद्ध वृद्धा कति आशावादी भएका थिए होलान् । हुन पनि हो गोली र बोली फर्कन सक्दैन भन्ने नेपाली भनाइ पनि छ। नेपाली कांग्रेस सरकारले हामी जनताहरुलाई झुक्याउने काम मात्रै गर्‍यो भनेर चोक चौतारीमा बसेर आफ्ना यस्तै कथा, व्यथाहरु एक आपसमा पोख्ने गर्छन् जनताहरु।

पुर्व बिघटित सरकारले देशभर भूमि सम्बन्धी नयाँ कानून विधान बनाई गरिबहरुको बसोबास र अव्यवस्थित बसेका कृषकहरुको ऐलानी जग्गा नाप नक्सा गरेर जग्गा धनी प्रमाण पुर्जा दिने भनी उक्त कार्य सप्पन्न गर्न आवश्यतानुसार आयोग गठन गरी काम कार्वाही शुरुआत मात्र के गरेको थियो सत्ता परिवर्तन हुनासाथ नेपाली कांग्रेस पार्टीको नेतृत्व सरकारले त्यो आयोग नै विघटन गर्यो । नेपालीमा एउटा उखान नै छ – “बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको घर पनि भत्काई दिन्छ” ठिक त्यही गर्यो नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारले । त्यसपछि न अर्को आयोग गठन गरेर नयाँ कार्य शुरु गर्‍यो, न त त्यसबारे सरकारलाई कुनै चिन्ता छ, न त सरकार केही बोल्छ ।

सरकार बनाउन त तीन महिना लगाउने नेपाली कांग्रेस सरकारले जनताको काम गर्न त झन् के चासो देलान् र । बरु बिगार्ने काम गर्नु पर्यो भने छिटो गर्छ । जस्तै: भूमि सम्बन्धि आयोग कति छिटो विघटन गर्यो। यो नै पहिलो उपहार हो जनताको लागि नेपाली कांग्रेस सरकारले गरेको पहिलो उदाहरणिय विकासको काम । यसरी नेपाली कांग्रेस सरकारले कृषक जनतामाथि ठूलो विश्वास घात गरेको छ। अनि जनताको मन दुख्दैन ? भइरहेको काम निरन्तर हुन दिएको भए हुन्थ्यो खुशी हुन्थे जनताहरु । तर राम्रो काम त गर्न नै जानेन, नराम्रो काम गर्नु पर्यो भने कति हतार हुन्छ। जग्गा नाप नक्सा भएर जग्गाको धनी प्रमाण पुर्जा पाइ सकिन्थ्यो । जनताहरु पनि खुशी हुन्थे, अब यो सरकारले कहिले आयोग गठन गरी काम गराउला र कहिले ऐलानी जग्गा नापी भइ जग्गा धनी प्रमाण पुर्जा पाइएला। “आकाशको फल आँखा तरी मर” भनेझैं भएन र ? कति आशा गर्ने होला भनी देशै भरी जहाँ जतासुकै पनि यही चर्चा छ गरिरहन्छ्न् कृषक जनताहरु ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...