Friday 19th April 2024

गीता शर्मा चापागाईंको लघुकथा : ‘साथी’ को पाठकीय टिप्पणी


जन्मदिनको अवसरमा शुभकामनासहित
बन्दना घिमिरे – भरतपुर,चितवनकी चेली,सफल व्यवसायी, कुशल पाठक र लघुकथाकार गीता शर्मा चापागाईंले मिति २०७८/७/४ गते हाम्राे लघुकथा पाठशालामा प्रेषित गर्नु भएकाे लघुकथा “साथी” पढेपछि मेराे मनमा आएका भावनाहरुलाई यहाँ पस्कने जमर्को गरेकी छु ।

टाेखा नगरपालिका- ५,धापासीकी स्थायी बासिन्दा लघुकथाकार गीता शर्मा चापागाईंसँग पाठशालाका कथाहरु, भाग -२ विमाेचनकाे सिलसिलामा एकपटक साक्षात्कार हुने मौका मिलेकाे थियाे ।पहिलाे भेटमै उहाँ मलाई मृदुभाषी,सहयोगी र मिलनसार हुनुहुन्छ भन्ने अनुभव भयाे । कक्षा ७ मा पढ्दानै “कमिलाकाे बिहे” भन्ने कथा लेखेर लेखनयात्रा शुरु गर्नु भएकी कथाकारले अगस्ट १९, २०२० का दिन पहिलाे पटक”स्तर” लघुकथा लेखेर हाम्राे लघुकथा पाठशालामा प्रेषित गर्नु भएको थियाे । जुन लघुकथा हिमाल टाईम्समा साेहिदिन प्रकाशित भएकाे थियाे । उहाँको कथा म भेटेसम्म पढ्ने गर्छु र समयक्रममा उम्दा लघुकथाकारकाे रुपमा अरुले पनि पहिचान गर्नेछन् भन्ने अपेक्षा गरेकी छु ।

प्रस्तुत कथा ” साथी ” मा पात्रकाे रुपमा दुई साथीहरू हरि र सीता छन् । उनीहरु सहपाठी र घनिष्ठ रहेका थिए । एकअर्काको भलाे चिताउथे ।

तिमी जत्तिको प्रखर व्यक्तित्व भएको मान्छे राजनीतिमा आउनुपर्छ है । हरिले आफ्नो सहपाठी रहिसकेकी साथी सीतालाई भन्यो।आफ्नो तारिफ सुनेर ऊ मख्ख परी। उसलाई पनि लाग्यो, सामाजिक काम गर्न एक्लैलाई गाह्रो छ । अगाडि बढ्नुछ भने टिम वर्क चाहिन्छ नै। आफ्नो असल र पुरानो साथीले भनेको कुरालाई मनन गर्दै उसले भनी,” तिम्रो साथ पाए म पक्कै राजनीतिमा हाम फाल्नेछु।”
उसले भन्यो , तिम्रो लागि ज्यान हाजिर छ। परेको बेला आर्थिक,भौतिक, नैतिक जे चाहिन्छ सम्झिनु । लामो समय पछि भेट भएका उनीहरू खाजा खाइसकेर बिदावारी भए।केही समयपछि उनी पार्टीमा प्रवेश गरिन् । पढेलेखेकी प्रखर वक्ता भएकोले अगाडि बढ्न त्यति जुध्न परेन। चुनाव नजिकियो । उनले उपमेयरको टिकट पाइन् । चुनावमा विपक्षी पार्टीका उम्मेदवारले टक्कर दिइरहेका थिए। एउटै शहर हुनाले उनले झट्ट आफ्नो साथी हरिलाई सम्झिइन। साम, दाम, दण्ड, भेदको नीति नअपनाई चुनाव जित्न सकिदैनथ्यो। फोन मार्फत धनी साथीलाई आर्थिक सहयोग गर्न अपिल गरिन्, उनले।
धनी साथीले उत्तर दियो ” माफ गर्नुहोला हामी फरक पार्टीका पर्‍यौं । चुनावमा सहयोग गर्न सकिनँ । निजी जीवनमा हो भने ज्यान हाजिर ।”
उनले असल साथीको पहिचान बुझिसकेकी थिइन् ।यसरी कथाकाे अन्त्य भएको छ ।

प्रस्तुत कथाले “नेपालीहरु स्वभावतः मिलनसार र शुभचिन्तक छन् तर राजनीतिक पार्टीको भने भेडा कार्यकर्ता” भन्ने तथ्यलाई दुई मिलनसार सहपाठी साथीहरूकाे माध्यमबाट राेचक र व्यंग्यात्मक शैलीमा कथा पस्कन सफल हुनुभएको छ कथाकार । हरिले तिमी जत्तिकाे प्रखर व्यक्तित्व भएको मान्छे राजनीतिमा आउनु पर्छ भनेर सीतालाई उत्प्रेरित गरेका छन् भने तिनैले पार्टी फरक हुदाँ सहयाेग गर्न नसक्ने बताएका छन् । निजी जीवनमा हाे भने जस्तोसुकै सहयोग गर्न तत्पर रहदै ज्यान हाजिर भनेर व्यक्तिगत जीवन र राजनीतिक जीवनमा गरिने सहयोग / असहयोग प्रष्ट पारिएको छ ।

१८५ शब्दमा लेखिएको कथा यथार्थपरक ,सरल छ ।थाेरै शब्दमा धेरै गहिराे भाव छ ।संवादबाट शुरु भएको कथा बिचमा मनाेवाद हुदै अन्त्यमा पनि संवादमानै टुंगिएको छ, याे पक्ष राेचक लाग्याे मलाई । साथीहरूकाे मिलनबाट शुरु भएको कथा राजनीतिक कारणबाट बिछाेडिएकाे छ अर्थात् बिपरित भावमा टुंगिएकोले लघुकथाकाे मानकमा थपक्क बसेकाे छ । पुरै कथा दुई साथीहरू हरि र सीताकाे सम्बन्ध बिच घुमेकाे हुनाले शिर्षक सार्थक छ । समाजमा रहेकाे राजनीतिक पार्टी माेह देखाईएकाे छ । राजनीतिक कार्यकर्ताहरु कसरी बिभाजन हुदैछन् भन्ने कुरालाई कथाले स्पष्टरुपमा उजागर गरेकाे छ ।

यत्ति हुदाहुदै पनि कथामा केही कमजोरी पनि रहेका छन् । कथाकाे अन्त्यमा उनले असल साथीकाे पहिचान बुझिसकेकी थिईन् भन्ने वाक्य आएकाे छ जसले कथा लाई उत्कर्षबाट अधाेगति तर्फ धकेलिएको महसुस भयाे मलाई । याे अन्तिम लाईन हटाउदा राम्रो हुनेछ भन्ने सुझाव दिन चाहान्छु म कथाकारज्युलाई ।त्यस्तै केही व्याकरणीय त्रुटीहरु पनि सच्याउन अाग्रह गर्दछु ।

अन्त्यमा समाजसेवी लघुकथाकार गीता शर्मा चापागाईंलाई ढिलै भएपनि जन्मदिनको असिमित शुभकामना व्यक्त गर्दै फेरि पनि सुस्वास्थ, दीर्घायु तथा अटल सौभाग्य र अविरल साहित्यिक यात्राको शुभकामना व्यक्त गर्दछु ।

लघुकथा:- साथी
गीता शर्मा चापागाईं

तिमी जत्तिको प्रखर व्यक्तित्व भएको मान्छे राजनितीमा आउनुपर्छ है अब ” हरीले आफ्नो सहपाठी रहिसकेकी साथी सीतालाई भन्यो।
आफ्नो तारिफ सुनेर ऊ मख्ख परी।
उसलाई पनि लाग्यो, सामाजिक काम गर्न एक्लैलाई गाह्रो छ । अगाडि बढ्नुछ भने टिम वर्क चाहिन्छ नै।आफ्नो असल र पुरानो साथीले भनेको कुरालाई मनन गर्दै उसले भनी , तिम्रो साथ पाए म पक्कै राजनीतिमा हाम फाल्नेछु।
उसले भन्यो , तिम्रो लागि ज्यान हाजिर छ।परेको बेला आर्थिक भौतिक नैतिक जे चाहिन्छ सम्झिनु। लामो समय पछि भेट भएका उनीहरू खाजा खाइसकेर बिदावारी भए।
उनी एउटा पार्टीमा प्रवेश गरिन् । पढेलेखेकी थिइन् । प्रखर वक्ता थिइन् । उनलाई अगाडि बढ्न त्यति जुध्न परेन। चुनाव नजिकियो । फलस्वरूप उनले उप मेयरको लागि टिकट पाइन् । चुनावमा विपक्षी पार्टीका उम्मेदवारले टक्कर दिइरहेका थिए।एउटै शहर भएको हुनाले उनले झट्ट आफ्नो साथी हरिलाई सम्झिईन। साम, दाम, दण्ड, भेदको नीति नअपनाई चुनाव जित्न सकिदैनथ्यो। फोन मार्फत धनी साथीलाई आर्थिक सहयोग गर्न अपिल गरिन् उनले।
धनी साथीले उत्तर दियो ” माफ गर्नुहोला हामी फरक पार्टीका पर्यौ। चुनावमा सहयोग गर्न सकिनँ । निजि जिवनमा हो भने ज्यान हाजिर ।

उनले असल साथीको पहिचान बुझिसकेकि थिइन् ।


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...