Saturday 21st March 2026

नेपाली रैथाने परिकार : हरियो दुधे मकैको फ्याप्लो र छोप अचार


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-पाली रैथाने परिकार हरियो दुधे मकैको फ्याप्लो हाम्रो परम्परागत स्वस्थबद्र्धक खाना हो । यो परिकार हरियो मकै पाउने सिजन असार, साउन र भदौमा निकै लोकप्रिय छ फ्याप्लो एक किसिमको मकैको रोटी हो र यो खाजाको रूपमा छोप अचारसँग खान निकै स्वादिष्ट हुन्छ ।

बच्चादेखि बूढाबूढी सबैलाई मन पर्ने यो नेपालको एक मौलिक खाना पनि हो ।पछिल्लो समय यो परिकार विदेशीले पनि खुब मीठो मानेर खाएको पाइन्छ र त होटल रेस्टुरेन्टको मेनुमा पनि भेट्न थालिएको छ ।

फ्याप्लो बनाउन चाहिने सामग्रीः

हरियो दुधे मकैको घोगा ३ पिस, नून स्वादअनुसार, घ्यु ३ टेबल चम्चा, पानी आवश्यकता अनुसार

मकैको फ्याप्लो बनाउने विधिः

मकैको घोगालाई चक्कुको सहायताले सबै गेडा खुर्केर निकाल्ने र पानी हालेर ब्यालेन्डरमा राम्ररी पिस्ने । यसरी पिसेको मकैको लेदोमा स्वाद अनुसार नून हालेर राम्ररी चलाउने र एक साइडमा राख्ने । ननस्टिक प्यान बसालेर थोरै घ्यू हाल्ने र २ डाडु मकैको लेदो हालेर पातलो गरी फिजाउने । आगोको आचलाई मधुरो गरेर एकछिन पकाउनासाथ फर्काउने र राम्ररी दुवै साइड पाक्न दिने । एवं तवरमा सबै फ्याप्लो पकाएपछि तातो–तातो सिलम, तिल, टिमुर या आलसको छोपसँग खाने ।

नेपाली छोप अचार परापूर्वकालदेखि नै चलिआएको एक किसिमको सुक्खा अचार हो । यो फुर्सदमा बनाएर व्यस्त समयमा खाने गरिन्छ । धेरै किसिमका हाम्रा मौलिक रैथाने छोप अचारहरू अहिले लोप हुने स्थितिमा छन् ।

झुसे तिलको छोप अचार बनाउन चाहिने सामग्रीः

झुसे तिल ५०० ग्राम, नून स्वाद अनुसार, बिरे नून आधा चिया चम्चा, धनियाँको गेडा एक चिया चम्चा, जिरा दाना आधा चिया चम्चा, अफुवा ५ ग्राम, लसुन ७ ग्राम, चुक अमिलो २ चिया चम्चा, सुकेको अकबरे खुर्सानी ५ पिस ।

झुसे तिलको छोप अचार बनाउन चाहिने विधिः

सर्वप्रथम झुसे तिललाई चिसो पानीमा भिजाएर पखाल्ने र केहीबेर सुकाएर सुक्खा बनाउने । बाक्लो कराइ या हाडीमा तिललाई भुट्ने र फिजाएर चिस्याउने । माथि दिएको जिरा, धनियाँ, खुर्सानीलाई पनि एकछिन सुक्खा भाँडोमा भुट्ने र चिस्याउने । अब भुटेको मसला, खुर्सानी, अदुवा र लसुनलाई सिलाउटो, ओखल या ब्यान्डरमा पिस्ने । भुटेको तिललाई पनि सँगै हालेर फेरि पिस्ने र अन्त्यमा नून, बिरेनुन र चुक अमिलो हालेर राम्ररी मिक्स गर्ने र इएर टाइट डिब्बामा सम्हालेर रुमको तापक्रममा स्टोर गर्ने । जुन ३–६ महिनासम्म सजिलै प्रयोग गर्न सकिन्छ ।

यसरी तयार गरेर राखेको छोपलाई निकाल्ने समयमा काठको चम्चा या सुक्खा स्टिलको चम्चा मात्र प्रयोग गर्नुपर्ने हुन्छ । झुसे तिलको छोप अचारजस्तै हामीले आलसको, सेतो या कालो तिलको, भाङको, सिलामको, लप्सिको, ड्राइमिटकोर मुस्ताङी टिमुरे छोप (हिमालयनसल्ट, खुर्सानी, टिमुर) पनि सहज रूपमा माथिकै रेसेपी प्रयोग गरेर बनाउन सकिन्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...