शान्ता शाक्य, धापाखेल ललितपुर । बाटामा त्यस्तै १०-१२ वर्षको केटालाई कठालो समातेर एकजना मान्छेले रिसाउॅदै र फतफताउॅदै लगिरहेको हुन्छ । म उनीहरूको पछिपछि लागेर हेरिरहेको हुन्छु ।
“ अंकल छोडिदिनुस् न “ केटो रूॅदै भनिरहेको हुन्छ ।
“तॅ चोर बजियालाई थानामा लगेर छोड्ने हो , यहाॅ छोड्ने हो र !”उक्त मान्छे बंकिंदै तान्दै लगिरहेको हुन्छ । विभिन्न पसल अगाडि थुप्रै मान्छेहरूले के भयो , के ग-यो , किन तानेर लगिराखेको भन्दै प्रश्न गरिरहेका हुन्छन्।
“यो केटालाई सबैले चिनिराख्नोस् है , यो चोर हो चोर । यो मात्र होइन ,अन्य तीनजना पनि छन् । मेरो साइकल चोर्दै गर्दा यसलाई समातें अरू भागे ।”
मन्दिर अगाडि पुजारीले भनिरहेको हुन्छ “ यस्तै चारजना केटाहरूले राति दानबाकस फोरेर सबै पैसा लगेको पछि मात्र थाहा पाइयो, केही गर्न सकिएन । थानामा लगेर सिस्नो पानी लगाउनुपर्छ यस्तालाई ।”
पुजारीको कुरा सुनेर केटो डाॅको छोड्छ ।
“छिटो हिड्, थाना आइपुग्न लाग्यो, अझ रून्छस् ! पढेर ज्ञानी बन्नु छैन , चोरेर हिंड्छस् ,बजिया ।”
“अंकल … अंकल नचोरेर के गर्ने नि , बाआमा दिनभर ज्यामीकाममा जानुहुन्छ । म एक्लै डेराको कोठामा बस्नुपर्छ । चोरेर ल्याउॅदा मात्र मीठो खान पाइन्छ, त्यो पनि लुकीलुकी ।सबै साथीहरू मोबाइलबाट अनलाइनमा पढ्छन् । मसॅग मोबाइल पनि छैन, कसरी पढ्ने नि , भन्नुस् त !”
“फटाहा कुरा गर्छस् ।”
“सत्तेसत्ते धरोधर्म झुठो बोलेको होइन नि ।”
अप्ठेरो मानी मानी फेरि बिस्तारै भन्छ – “ अंकल….अंकल तपाईॅसॅग एउटा पुरानो मोबाइल छ भने मलाई दिनुस् न , म ज्ञानी भएर पढ्छु ,चोर्ने काम त म गर्दै गर्दिन नि । दिनुस् है ।”
उसको कुरा सुनेर एक्कासि उक्त मान्छे टक्क अडिन्छ । एकछिन घोरिरहन्छ । बिस्तारै उसले केटाको कठालो छोडिदिन्छ र
सजल ॲाखाले उसलाई एकटकले हेरिरहन्छ …हेरिरहन्छ ।