Thursday 17th September 2026

उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने


तीतोपाटी डटकम-६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । तर प्रावधानहरु खुकुलो बनाइएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ ।निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।

‘जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने र संक्रमण दर पनि घट्दै गएकाले यो निर्णय गरिएको हो’ प्रजिअ पराजुली भन्छन्, ‘यसको अर्थ जोखिम सकिएको भन्ने चाहिँ होइन, नागरिक आफैंले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’

हार्डवेयर पसल दैनिक खुल्ने, अन्य व्यवसायलाई बार तोकियो

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् ।

त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।

‘स्मार्ट लकडाउन ?’

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिको बैठकले बुधबार ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । त्यसमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै आर्थिक, सामाजिक गतिविधिलाई अघि बढाउने भनिएको थियो ।

यस सम्बन्धी प्रावधानको खाका सीसीएमसीले गृहसहितका मन्त्रालयहरुलाई दिएको थियो । मन्त्रालय र विज्ञसँगको छलफलपछि सीसीएमसीले बनाएको ‘स्मार्ट लकडाउन’कै मोडल अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा खुकुलो बनाएका हुन् ।

उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।

साभार-अनलाइन खबर
हेर्नुहोस् निषेधाज्ञाको सूचना


सम्बन्धित शीर्षकहरु

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

अमेरिकी संसदको तल्लो सदनले रूसविरुद्ध नयाँ कडा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यो विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ अनुमोदनका…

प्रतिकृयाहरू
...