Wednesday 14th May 2025

मध्यरातमा माधवले पठाए ओलीलाई अन्तिम पत्र : २०७५ जेठ २ मा फर्किनुस् नत्र आजै राजीनामा


एमाले नेता माधव नेपालले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीसँग छ बुँदे अन्तिम पत्र पठाएका छन्। विभाजन रोक्‍न अन्तिम कसरत चलिरहेका बेला आइतबार राति नेपालले ओलीलाई यस्तो पत्र पठाएका हुन्।

यी सर्तहरू पुरा गर्न सोमबार बिहान नौ बजेसम्मको अल्लटिमेटम दिइएको छ। नेपालले आफ्नो पत्रमा सर्वोच्चको फागुन २३ को फैसालाअनुसार एकीकरणअघि अर्थात २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने सर्त राखेका छन्। पार्टीलाई एकीकरण अघिको संरचना र अवस्थामा क्रियाशील बनाएपछि मात्र विश्‍वासको मत दिन तयार हुने सन्देश उनले दिएका छन्। अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीको वक्तवय लगत्तै नेपालले यस्तो पत्र पठाएका हुन्।

ओलीले विश्‍वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। सर्त पुरा नभए अधिवेशनअघि नै राजीनामा दिने तयार भएर बसेका छन् माधव पक्षीय सांसदहरू। उनीहरूले राजीनामा दिए ओली विश्‍वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ।

सर्वोच्च फैसलापछि ओलीले बालुवाटारमा बैठक डाकेर एकपक्षीय रुपमा गरेका सबै निर्णयहरू खारेज हुनुपर्ने, गतिविधि अमान्य हुनुपर्ने सर्त राखेका छन्। ओलीले केन्द्रीय कमिटि विघटन गरेर नेपाललगायतका नेताहरूलाई जिम्मेबारीबाट हटाउँदै कारबाही गरेका थिए। माधव नेपाललगायतका ३० जना सांसदहरूलाई स्पष्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्। यी सबै निर्णय र कदम खारेज हुनुपर्ने सर्त माधवले राखेका छन्।

सर्त पुरा नभए नेपाल पक्षका सांसदहरूले सोमबार बिहान नै राजीनामा दिने तयारी गरेका छन्। नयाँ पार्टी दर्ताको तयारी पनि लगभग भइसकेको छ।
ओली पक्षको शनिबार बेलुका बसेको बैठकले ओलीसँग मिलेर जाने अवस्था नरहेको निश्कर्ष निकाल्दै कारबाही भोग्‍नुको सट्टा राजीनामाको  विकल्प रोज्‍ने निर्णय गरेको थियो। यसबीचमा ओली पक्षसँग भएका सबै वार्ता र छलफल असफल भएपछि राजीनामा लागि आइतबार अपरान्ह माधव पक्ष संसद् भवन पुगेको थियो।

राजीनामा लागि संसद् भवन पुगेको माधव पक्षसँग आइतबार अपरान्ह सिंहदरबारमा अन्तिम वार्ता भएको थियो।वार्ताका लागि ओलीले अर्थमन्‍त्री विष्णु पौडेल र उपनेता सुवास नेम्वाङलाई पठाएका थिए। त्यहाँ भएको छोटो वार्ता खासै सकारात्मक भएन। पार्टी एकताका लागि सोमबार बिहानसम्म पर्खिने भन्दै राजीनामा दिन गएको माधव पक्ष संसद भवनबाट फर्किएको थियो। त्यस लगत्तै प्रधानमन्‍त्री तथा अध्यक्ष ओलीले कसैलाई काखापाखा नगरिने र पक्षपात नगरिने भन्दै वक्तव्य निकालेका थिए। तर घुमाउरो रुपमा विभाजनमा लाग्‍नेहरूलाई अपराधीको संज्ञा दिदै यस्तो अपराधलाई इतिहासले माफ नगर्ने चेतावनी दिएका थिए। तर माधव पक्षले माग गरेजस्तो २०७५ जे७ २ को अवस्थामा फर्किने संकेत तथा फागुन २३ पछिका निर्णय र कदम सच्चाउने प्रतिवद्धता वक्तव्यमा छैन।

ओलीको वक्तव्यपछि माधव पक्षले आन्तरिक छलफल गरेर अझै पनि ओली समूह जालझेल गरेर आफूहरूलाई फसाउने रणनीतिमा रहेको निश्कर्ष निकालेको थियो। ओलीबाट २०७५ जे७ २ को अवस्थामा फर्किने स्पस्ट रुपमा लिखित प्रतिवद्धता नभएसम्म ब्याक नहुने भन्दै राजीनामाका लागि तयार भएर बस्‍न आफू पक्षीय सांसदहरूलाई नेपालले निर्देशन दिएका छन्।

स्रोतका अनुसार कांग्रेस र माओवादीसँग सत्ता साझेदारीको नेपाल पक्षको फाइनल डिल भइसकेकोले अब ब्याक हुने संभावना निकै कम रहेको छ। त्यो संकेत आइतबार बेलुकाकाो ब्रिफिङमा माधवले दिएका थिए।

यी हुन् नेता नेपालले पत्रमा राखेका ६ वटा सर्तहरू :
१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचारसंहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।

२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधानविपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने।

३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने।

४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूका बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने।

५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकताअनुसार सञ्चालन गर्ने।

६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने। यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने।


सम्बन्धित शीर्षकहरु

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

प्रतिकृयाहरू
...