Tuesday 11th February 2025

विदेशी जेलमा ५७१ नेपाली कामदार, कानुनी परामर्श नहुँदा सामान्य मुद्दामै जेल


तितोपाटी- वैदेशिक रोजगारीमा गएका ५ सय ७१ जना नेपाली कामदार विभिन्न देशका जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार रोजगारीका लागि विभिन्न देश पुगेका ४२ जना महिला र ५ सय २६ पुरुष गरी ५ सय ७१ जना नेपाली जेलजीवन बिताइरहेका छन् ।

सचिवालयका अनुसार मलेसियामा दुई जना महिला र २ सय तीन जना पुरुष, यूएईमा १२ जना महिला र १ सय ७३ पुरुष, कुवेतमा तीन जना महिला र ५५ जना पुुरुष, कतारमा ३५ जना पुरुष, साउदीको रियादमा २३ जना र जेद्दामा २१ जना पुरुष जेलमा छन् ।
यस्तै, ओमानमा दुई जना महिला र एक जना पुरुष, बहराइनमा पाँच जना पुरुष र श्रीलंका २५ जना महिला वैदेशिक रोजगारीमा खाडीका देश जाँदा थुनिएका छन् ।  जेलमा थुनिएकामध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । बोर्डका अनुसार २ सय ९३ जनाको सजाय भने तोकिएको छैन । सात जना कामदारलाई आजीवन कारवासको सजाय तोकिएको छ ।  सबैभन्दा धेरै मलेसिया रोजगारीमा गएका कामदार जेलमा परेका छन् । यस्तै, यूएईमा धेरै नेपाली कोमामा रहेको बोर्डको तथ्यांकमा छ । खाडी र मलेसिया रोजगारीमा गएका धेरै नेपाली कामदार जेल पर्ने गरेको बोर्डको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएका नेपाली के कारण जेल परिरहेका छन् भनेर सरकारले अनुसन्धान गर्न नसकेको रोजगारविज्ञले आरोप लगाउँदै आएका छन् ।
सरकारले रोजगारदाता देशमा कानुनी वकिल राख्न नसक्दा रोजगारीका लागि पुगेका नेपाली कामदार जेल परिरहेको रोजगारविज्ञ डा. गणेश गुरुङ बताउँछन् । सरकारले रोजगारदाता देशमा कानुनी परामर्शका लागि गर्ने वकिल राख्ने योजना मात्र बन्यो तर, अहिलेसम्म राख्न नसकेको उनी बताउँछन् । कानुनी समस्याका कारण पनि धेरै नेपाली जेल परिरहेको उनको भनाइ छ ।
कानुनी परामर्शको अभाव  सरकारले रोजगारदाता देशको सम्बन्धित निकायसँग कानुनी परामर्श गरेर विदेशी जेलमा रहेका नेपाली कामदार छुटाउन प्रयास गरिरहेको बताउँदै आएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित देशको कानुन, धर्म र अन्य विषयमा जानकारी नहुँदा सामान्य मुद्दामा जेल पर्ने गरेका छन् ।
वैदेशिक रोजगारीमा गएका कामदार जेल पर्नुको मुख्य समस्या के–कस्ता छन् भनेर सरकारले कूटनीतिक नियोगमार्फत बुझ्ने प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । विदेशी जेलमा रहेका कामदार छुटाउन सम्बन्धित देशमै कानुनी परामर्श (वकिल) राख्ने विषयमा व्यापक छलफल भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘वैदेशिक रोजगारीमा गएको कामदार जेल पर्नुको मुख्य कारण के हो भनेर अध्ययन भइरहेको छ,’ उनले भने, ‘सामान्य मुद्दामा जेल परेका कामदार छुटाउने पहल भइरहेको छ । सरकारले कतिपय देशमा सम्बन्धित देशको वकिलको सहयोगमा जेलमा परेका कामदारको विवरण लिने काम हुँदै छ ।’ सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई रोजगारदाता देशमा समस्या नहोस् भनेर अडियो र भिडियोमार्फत अभिमुखीकरण तालिम दिने अनलाइन प्रणालीको विकास गरिरहेको उनको भनाइ छ ।भाषा र अभिमुखीकरण तालिम राम्रो नहुँदा वैदेशिक रोजगारीका क्रममा धेरै नेपाली कामदारले रोजगारदाता देशमा ज्यान गुमाउने गरेका छन् । विगत ११ वर्षमा करिब ८ हजार नेपाली रोजगारीका क्रममा ज्यान गुमाएको बोर्डको तथ्यांक छ ।

के हुन् जेल पर्नुका मुख्य कारण ?

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार मुख्यत: सम्बन्धित देशको कानुन र भाषाको अज्ञानताकै कारण पनि जेल पर्ने गरेका छन् भने गैरकानुनी क्रियाकलाप गर्नाले पनि जेल पर्ने गरेका छन् । त्यस्तै, झै–झगडा, मदिरा सेवन, सडक दुर्घटना, रोजगारदाता देशको नियम पालन नगर्दा, ज्यान मार्नेजस्ता अभियोगमा जेल पर्ने गरेका छन् ।
खाडीका देश र मलेसिया पुगेका नेपाली कामदार भने अन्य देशका नागरिकसँग झगडा गरेका कारण जेल पर्ने गरेको नियोगहरूले बताउँदै आएका छन् । सरकारसँग खाडीका देश र मलेसियाका जेलमा रहेका नेपालीको मात्र तथ्यांक छ । युरोपेली देशमा कति नेपाली कामदार जेलमा छन् भन्ने तथ्यांक भने छैन ।

-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...