Sunday 31st May 2026

अमेरिकामा हिमआँधीको कारण कम्तिमा २१ जनाको मृत्यु, विद्युत, पानी तथा ग्यासको समस्याले जनजीवन कष्टकर


तीतोपाटी – अमेरिकाको दक्षिणी भेगमा केही दिनदेखि जारी हिमआँधीमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । यतिखेर अमेरिकाको टेक्साससहितका धेरै राज्यहरूमा हिमआँधीले वितण्डा मच्चाएको छ । गत आइतबारदेखि शुरू भएको हिमआँधीले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । विद्युत प्रसारण बन्द हुनु खानेपानीको पाइपलाइनमा पानी जमेर पानी उपलब्ध नहुनु तथा ग्यास केन्द्रहरूमा खाना बनाउने ग्यासको उपलब्ध नहुँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि बन्द भएको छ। केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको ठूलो असर परेको छ । यसले त्यहाँका बासिन्दालाई ठूलो विपत्ति निम्त्याएको छ। त्यहाँको परिस्थिति अन्धकार बनेको छ। सबैभन्दा खराब स्थिति टेक्सासको छ। त्यहाँ लगभग ६५ लाख घरहरु अन्धकारको सामना गरिरहेको सिएनएनले जनाएको छ । यसमा व्यवसायिक संस्थाहरूका घरहरू समेत समावेश छन् ।

भारी हिमपातका कारण खोप प्रक्रिया पनि प्रभावित भएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। मेडिकल सेन्टर र अस्पतालहरूमा समस्याहरू बढेका छन्। देश भर ३ हजार उडानहरू रद्द गरिएको छ । टेक्सासको उर्जा आपतकालिन अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति जो बाइडेनले सकेसम्म सहयोग पुर्‍याउने आश्वासन दिएका छन्।

राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) का अनुसार दक्षिण–पश्चिम टेक्सासदेखि उत्तर–पूर्वी म्यासाचुसेट्ससम्मको क्षेत्रमा ठूलो हिमआँधी आएको हो । टेक्सास, लुजिआना, केन्टुकी, नर्थ क्यारोलिना र मिजोरी राज्य सबैभन्दा बढी प्रभावित भएका छन् । केही दिनभित्र अर्को आँधी आउने बताउँदै एनडब्लूएसले १५ करोड जनसंख्या रहेका ती क्षेत्रमा चेतावनी जारी गरेको छ । टेक्सासको तापक्रम ३ दशकयताकै कम अर्थात् माइनस १८ डिग्री सेन्टिग्रेट पुगेको छ । गभर्नर ग्रेग अब्बोटले अवस्था निकै भयावह भएको जनाएका छन् ।

सुगरल्यान्ड सहरमा घरभित्र बालेको आगो फैलिएपछि मंगलबार बिहान ३ बालबालिकासहित एक महिलाको मृत्यु भएको छ । त्यस्तै ह्युस्टन सहरमा पनि कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी, ह्युस्टनकै राजमार्ग छेउमा २ जनाको शव भेटिएको छ । प्रहरीले उनीहरूको चिसोका कारण मृत्यु भएको जनाएको छ । नर्थ क्यारोलिनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । दक्षिणी टेनेसीमा पनि एक जना १० वर्षीय बालकको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा समता शुल्क नामक नयाँ कर लागू गरेको छ, जसअनुसार निजी तथा आवासीय शिक्षण…

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा…

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

प्रतिकृयाहरू
...