Wednesday 16th September 2026

महिला फुटबलकी स्ट्राइकर सावित्रालाई एक वर्ष आराम गर्न डाक्टरको सुझाव


एपिएफ र नेपाली राष्ट्रिय फुटबल महिला टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आगामी एक वर्ष मैदानबाहिर रहने भएकी छिन् । उनी महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको क्रममा सोमबार चोटग्रस्त बनेकी हुन् । खेलको ७९औँ मिनेटमा पुलिसको डी बक्सभित्र हेडिङ गर्ने प्रयासमा उफ्रिएकी उनी ‘ल्यान्डिङ’ नमिल्दा चोटग्रस्त बनेकी थिइन् । मैदानमै सामान्य उपचार गरेपछि बाहिर निकालिएकी उनलाई थप उपचारका लागि सातदोबाटोस्थित बिएन्डबी अस्पताल पुर्‍याइएको थियो । थप परीक्षणपश्चात् डाक्टरले उनलाई आगामी एक वर्ष आराम गर्न सुझाब दिएका हुन् ।

घुँडाको एसियल टियर भएकाले उनको शल्यक्रिया पनि गर्नुपर्नेछ । शल्यक्रिया जति चाँडो भयो, उनी त्यति नै छिटो मैदानमा फर्कने सम्भावना छ । ‘डाक्टरले एक वर्षसम्म मैदानबाहिर रहनुपर्ने जनाएको छ । उनको शल्यक्रिया पनि गर्नुपर्नेछ’, एपिएफकी प्रशिक्षक भगवती थापाले भनिन्, ‘उनको उपचार प्रक्रिया सुरु त भएको छ । तर, समय लाग्न सक्छ । उनीजस्तो खेलाडी चोटग्रस्त हुनु देशकै लागि ठूलो दुर्भाग्य हो ।’

जारी लिगमा सावित्राको ४३ गोल

जारी लिगमा सावित्रा एक्लैले ४३ गोल गरेकी छिन् । अग्रपंक्तिमा उनको सशक्त प्रदर्शनले एपिएफले १० खेलसम्म निरन्तर जितको नतिजा आत्मसात् गरेको छ । सर्वाधिक ३० अंक जोडेको एपिएफ उपाधिको निकै नजिक पनि पुगेको छ ।
एपिएफले प्रतियोगितामा बाँकी रहेको आफ्नो दुईमध्ये एकमा मात्रै जित हात पारे पनि उपाधि जित्ने छ । पाँच अंकले पछि रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब उसको दुईमध्ये एक खेलमा बराबरीमै रोकिएको अवस्थामा समेत एपिएफले प्रतियोगिता जित्नेछ ।

यद्यपि, सावित्रा चोटग्रस्त बन्दा एपिएफको उपाधि यात्रा सोचेजस्तो सहज भने पक्कै हुनेछैन । ‘उनी नहुँदाको अवस्थाका लागि पनि हामीसँग योजना त छ । प्रतिस्पर्धामा सहभागी भएपछि जितको तयारी त जसरी पनि गर्नु नै पर्छ’, भगवती भन्छिन्, ‘यद्यपि मैदानमा उनको अभाव खड्किनेछ । प्रतियोगितामा हाम्रा लागि आधाभन्दा बढी गोल उनैले गरेकी छिन् ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...