तितोपाटी- भिजिट भिसामा विभिन्न देशमा रोजगारीमा पठाउने भन्दै म्यानपावर कम्पनीले कामदारसँग राहदानी सकंलन गरिरहेको पाइएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले भिजिट भिसामा कामदार यूएई पठाउनका लागि राहदानी संकलन गर्दै आएका तीनवटा म्यानपावरमा अनुगमन गरेको थियो ।
अनुगमन गरिएका म्यानपावरमा १ हजार २ सयभन्दा धेरै राहदानी फेला परेको विभागले जानकारी दिएको छ । ती म्यानपावरले कुन देशमा कामदार पठाउन राहदानी लिएका हुन् भन्ने नखुलेको विभागको अनुगमन टोलीले जानकारी दिएको छ ।
विभागले सिनामंगलस्थित स्काई अफ द वोड, इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालि र सुर्खेत ओभरसिज प्रालिमा अनुगमन गरेको थियो । विभागले सुर्खेत म्यानपावरले भिजिट भिसामा ११ जना कामदार यूएई पठाउन लागेको राहदानीसमेत फेला परेको बताएकाे छ ।
उक्त म्यानपावरले ११ जनालाई नेपालबाट भिजिट भिसामा रोजगारीका लागि यूएई पठाउन लागेको र उनीहरूको उडान तालिका भोलि रहेको विभागको अनुगमन टोलीका अधिकृत कुशल बरालले बताए ।
विभागको टोली अनुगमनमा आएको थाहा पाएपछि सुर्खेत म्यानपावरका सञ्चालकहरू कार्यालय बन्द गरेर भागेका थिए । अनुगमन टोलीले पटक-पटक फोन गरेर बोलाउँदा पनि म्यानपावर सञ्चालक १ घण्टापछि आउने भन्दै तर्किए ।
विभागको अनुगमन टोलीले स्काई अफ द वोड म्यानपावरबाट करिब ७ सय राहदानी फेला परेको जनाएको छ । ती राहदानी एजेन्टले कामदारसँग लिएर म्यानपावरलाई बुझाएको विभागले बताएको छ । यस्तै, विभागको टोलीले इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालिमा भने राहदानी मात्र भेटिएको थियो ।
म्यानपावर कम्पनी यूएईमा भिजिट भिसामा कामदार पठाउन राहदानी जम्मा गरिरहेको सूचनाका आधारमा अनुगमन गर्दा एउटै म्यानपावरमा ७ सयभन्दा धेरै पासपोर्ट फेला परेको विभागका अनुगमन अधिकृत कुशल बरालले बताए । अनुगमनका क्रममा टाेलीले राहदानीसँगै कम्प्युटरको सीपीयूसमेत जफत गरेकाे बरालले बताए ।
‘भिजिट भिसामा धेरै रकम लिएर म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाइरहेको विभागले सूचना पाएको छ । यसरी भिजिट भिसामा कामदार पठाउन म्यानपावरलाई अनुगमन मात्र होइन वैदेशिक रोजगार ऐनअनुसार कारबाही हुन्छ । यो अवैध काम हो’, उनले भने, ‘अनुगमन टाेली आउँदा कार्यालय बन्द गरेर भाग्ने म्यानपावर अब सिल हुन्छ । अवैध काम नगरेको भए किन कार्यालय बन्द गरेर भाग्छन् ? गलत काम गर्ने म्यानपावरका सञ्चालक भागिरहेका छन् । म्यानपावरले भिजिट भिसामा कामदार पठाउने काम गर्दै छन् ।’
Alfa Care NepalNCell
विभागले अवैध रूपमा भिजिट भिसामा कामदार पठाउने म्यानपावरलाई कानुनी कारबाही गर्ने र त्यस्ता म्यानपावरलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीस्वरुप काराेबार रोक्का गर्न सकिने उनको भनाइ छ ।
कोरोना भाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि म्यानपावरका एजेन्ट र व्यक्तिले यूएईमा कामदार पठाइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यूएईलगायतका विभिन्न देशमा राम्रो काम र सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरू ठगीमा पर्ने क्रम सुरु भएको भन्दै त्यसरी वैदेशिक रोजगारीमा नजान विभागले सूचनासमेत जारी गरेकाे छ ।
भिजिट भिसामा यूएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाउने गरेको भिजिट भिसामा जाने महिलाले बताएका छन् । नेपालमा भिजिट भिसामा जाने प्रायः सबै राति २ बजेको एयर अरेबियाको उडानमार्फत पठाइने गरिएको छ ।
तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीबीच सेटिङ मिलाएर भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाए पनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।
हाल दैनिक यूएई भिजिट भिसा २ सयभन्दा धेरै नेपाली दलालले पठाइरहेका छन् । जसमध्ये १ सय ५० जना महिला रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।
साभार शिलापत्र बाट