Wednesday 29th July 2026

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?


रासस-टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागिन् र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कइन्। दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भनिन्, ‘‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर प¥यो, पछि पल्लो घरकी दिदीले धान दिइन् । अब दशैँमा भोकै रहनु पर्दैन ।’’

धनकलाका घरमा खाद्यान्न संकट कोरोना महामारीपछि भएको हो । धनकला टीकापुरकै एउटा होटलमा वेटरको काम गर्थिन् । कोरोना संक्रमण फैलन थालेपछि उहाँ काम गर्ने होटल बन्द भयो । होटल बन्द मात्र होइन धनकलाको रोजीरोटी र  तीन छोराछोरी पाल्ने आधार बन्द भयो । सात महिनादेखि रोजगारीविहीन धनकलालाई रु ५० हजारभन्दा बढी ऋण लागिसकेको छ । ‘‘भारतमा रोजगारीका सिलसिलामा रहेका श्रीमान् पनि घर फर्किएका छन् । मेरो कामकाज पनि छैन, गाउँमै ज्यालादारी गरौँ भने पनि पाइँदैन’’, धनकला भन्छिन्, ‘‘अब के खाने ? के दशैँ आउँथ्यो, अब भोकै मर्ने चिन्ताले सताउन थाल्यो ।’’

टीकापुर –१ कै सन्देश चौधरीको परिवारमा पनि साँझबिहानकै छाक टार्न समस्या भएको छ । सन्देश दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ । सन्देशका छोराछोरीले पनि दशैँमा मासु खाने र नयाँ लुगा लगाउने अपेक्षा गरेका छन् तर उहाँसँग राम्ररी खाना खुवाउन सक्ने आर्थिक जोहो छैन । ‘‘म घरघरमा दाउरा चिर्ने काम गर्थेँ, कोरोना महामारीपछि अचेल मानिसले बोलाउनै छाडे’’, सन्देश भन्छिन्, ‘‘आफ्नो जग्गाजमीन छैन, काम पाइँदैन, अनि छोराछोरीको पेट कसरी भर्नू ?’’

धनकला र सन्देशका घरमा मात्र होइन विपन्न बस्तीका धेरै नागरिकका घरमा यस वर्ष दशैँमा चुल्हो बल्न मुश्किल छ ।यहाँका धेरै नागरिक होटल, घर सरसफाइ, ज्यालादारीको गर्थे । यी सबै काम बन्द छन् । ‘‘यहाँ दशैँ होइन दशा आएको छ । अलिअलि हुनेले छोराछोरीलाई नयाँ लुगा, सरसामान किनमेल र माछामासु खाएको देख्दा नहुनेको मन कुँडिएको छ’’, स्थानीयवासी रुपकेश सुनार भन्छन्, ‘‘धनी र गरीबसँगै बस्नु राम्रो रहेनछ, देखासिकी र तडकभडकले विपन्नलाई पीडा दिन्छ ।’’

रुपकेशले भएकाले नभएकालाई खुवाएर, बाँडीचुँडी गरेर दशैँ मनाउनाको साटो यहाँ देखासिकी गर्ने चलनले चाडपर्वले ऋणको भारी बोकाउने गरेको बताए ।कोरोना संक्रमणका कारण लकडाउन भएपछि अतिविपन्न परिवारलाई यहाँका स्थानीय सरकारले खाद्यान्न  वितरण गरेका थिए । एकतानगरकी सुदीक्षा दमाईँ दशैँ, तिहारजस्ता पर्वमा स्थानीय सरकारले राहत कार्यक्रम ल्याउनुपर्ने माग गर्छन् ।

‘‘सरकार नजीकै छ । हामी भोकै मर्ने अवस्था आइसक्यो’’, उनी भन्नुहुन्छ, ‘‘पहिले पहिले मागेर खान्थ्यौँ, आजभोलि अरुका घरमा जान नि डर लाग्छ । यस्तो बेलामा राहत दिए कति खुशी हुने थियौँ ।’’

कैलालीका धेरै नागरिक रोजगारीका सिलसिलामा भारत जान्छन् । परिवार यता बस्ने, पुरुषले कमाएको रकमले धेरैको घर चल्छ । कोरोना महामारीपछि मात्रै भारत तथा विदेशमा रहेका चार हजार नेपाली टीकापुर फर्किएका छन् । ‘‘६ महिनासम्म नकमाएपछि घरमा आर्थिक समस्या नहुने कुरै भएन’’, स्थानीयवासी रुपेश ओली भन्छन्, ‘‘भारतबाट फर्केकाहरुले यहाँ काम पाएनन्, अहिले भारत जाने वातावरण पनि छैन, कतिपय परिवार त  भोकमरी हुने देखिएपछि यहीबीचमा भारत पसेका छन् ।’’

टीकापुर– १ का वडाध्यक्ष गंगाराम आचार्य कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबै क्षेत्र तहसनहस भएको बताउँछन् । ‘‘हामीले लकडाउन भएको करीब एक महिनापछि विपन्न सबैलाई खाद्यान्न दियौँ, हजारौँ परिवारले राहत पाए’’, उनी भन्छन्, ‘‘चुल्हो नै नबल्ने परिवारका घरमा चुल्हो बाल्नेछौँ, वडा कार्यालयले नगरपालिकासँग पहल गर्नेछ ।’’ उनी छिमेकमा नभएका परिवारलाई हेयको दृष्टिले नभई बाँडीचुँडी खान आग्रहसमेत गर्छन् ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...