Friday 25th September 2026

नेकपा कर्णालीमा विवाद : प्रमुख सचेतक शाह हटाइए


आफुविरुद्ध सत्तारुढ दलकै सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरेका छन्। सोमबार विज्ञप्तिमार्फत संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले ‘प्रमुख सचेतकका रुपमा कामकारवाही सन्तोषजनक’ नभएको भन्दै पदमुक्त गरिएको बताएका छन्।

‘कर्णाली प्रदेशसभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईका काम–कारवाही सन्तोषजनक नभएकाले आजसम्म गरेको कामको लागि धन्यवाद दिँदै तपाईलाई प्रमुख सचेतकको जिम्मेवारीबाट पदमुक्त गरेको छु,’ विज्ञप्तिमा भनिएको छ। मुख्यमन्त्री शाहीले प्रमुख सचेतकलाई पदमुक्त गरिएको बोधार्थ नेकपा प्रदेश कमिटी, पार्टीको केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयलाई दिएका छन्। शाह पूर्व नेकपा एमालेबाट निर्वाचित सांसद हुन्।

शाहलाई पदमुक्त गरेसँगै मुख्यमन्त्री शाहीले दलको प्रमुख सचेतकमा सीताकुमारी नेपालीलाई नियुक्त गरेका छन्। उनी पूर्व माओवादीकी सांसद हुन्। नेपालीलाई दलको विधानको धारा ७ बमोजिम नियुक्त गरिएको उल्लेख छ।

कर्णाली प्रदेशसभाका सत्तारुढ दलका १८ जना सांसदहरुले आइतबार मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। मुख्यमन्त्रीको कार्यकक्षमै पुगेर १८ जना सांसदहरुले प्रमुख सचेतक शाहलाई अविश्वासको प्रस्ताव पेश गरेका थिए। प्रमुख सचेतक शाहले अविश्वासको प्रस्ताव उपर छलफल गर्नका लागि मंगलबार बैठक आव्हान गरेका थिए। ‘पार्टीभित्रको विवाद समाधानका लागि पहल गर्नुको सट्टा तत्कालै बैठक आव्हान गरेर मुख्यमन्त्रीज्यूलाई हटाउने भूमिका खेलेकाले प्रमुख सचेतकबाट उहाँ (शाह)लाई पदमुक्त गरिएको हो,’ मुख्यमन्त्री शाहीनिकट एक सांसदले भने, ‘यसले कर्णालीको नेकपामा झन ठूलो तरंग ल्याएको छ।’

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन्। तिमध्ये १८ जना सांसदले संसदीय दलका नेता एवम् मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। मुलुक संघीयतामा गएपछि गठन भएको प्रदेश सरकारविरुद्ध पहिलोपटक कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...