Sunday 17th May 2026

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाका सांसदले दर्ता गराए अविश्वासको प्रस्ताव


कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव प्रस्ताव ल्याएका छन् । मुख्यमन्त्री शाहीले संसदीय दल तथा सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका हुन् ।

नेकपाका १८ सांसदले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशसभा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहमार्फत उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रदेश सभा सदस्य तथा नेकपा कर्णालीका सहइन्चार्ज यमलाल कँडेलको नेतृत्वमा नेकपाका १८ सांसदले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई अविश्वासको प्रस्ताव बुझाएका हुन् ।
नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको र नियम २४ को (१, २, ३, ४) बमोजिम यथाशक्य बैठक बोलाएर मार्ग प्रसस्त गर्न आग्रह पनि गरेका छन् ।सरकारविरुद्ध हस्ताक्षर गर्नेमा पूर्वएमालेका १४ र पूर्वमाओवादीका चारजना छन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद रहेका छन् । ‘नेपालमा नै पहिलोपटक हामीले कर्णालीबाट अभ्यास गरेका छौँ,’ अविश्वासको प्रस्ताव पेस गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद कँडेलले भने, ‘३३ सांसदमध्ये हामी १८ जनाले अविश्वासको प्रस्ताव ल्याएका छौँ ।’ मुख्यमन्त्री शाहीले संसद् र सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेका कारणले अविश्वासको प्रस्ताव ल्याएको सांसद कँडेलले दाबी गरे ।

मुख्यमन्त्री शाहीले सरकारका काम कारबाही र गतिविधिमा प्रभावकारी भूमिका खेल्न नसकेका कारणले अविश्वासको प्रस्ताव पेस गरिएको सांसद अमरबहादुर थापाले बताए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्वएमाले
यामलाल कँडेल सुर्खेत २(ख), चन्द्रबहादुर शाही मुगु १(ख), करवीर शाही जाजरकोट १(ख), कुर्मराज शाही कालिकोट १ (क), अमरबहादुर थापा दैलेख १(ख) सुशीलकुमार थापा २ दैलेख (क), मीना रखाल दैलेख दानबहादुर परियार मुगु १ (क), पदम रोकाया जुम्ला १ (ख), पद्मा खड्का सुर्खेत, कौशिलावती खत्री जाजरकोट, खड्कबहादुर खत्री सुर्खेत १ (ख), बहमीक्यादी बोहोरा डोल्पा र देवी ओली रुकुमपश्चिम रहेका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्वमाओवादी 
पुष्पा घर्ती सुर्खेत, राजु नेपाली सुर्खेत, धर्मराज रेग्मी दैलेख र डम्बरबहादुर विष्ट सुर्खेत रहेका छन् ।

संसदीय दलको बैठक २८ असोजमा 
अविश्वास पेस गर्ने सांसदहरूले २८ असोजमा संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन् । संसदीय दलको नेताका रूपमा मुख्यमन्त्री शाहीले संसदीय दलको बैठक बोलाउन नपाउने र अब संसदीय दलको सचेतकका रूपमा गुलाजंग शाहीले संसदीय दलको बैठक आह्वान गर्ने कँडेलले बताए ।

उपसभामुखद्वारा पनि हस्ताक्षर
तत्कालीन नेकपा माओवादीको कोटाबाट कर्णाली प्रदेश सभाको उपसभामुखमा निर्वाचित पुष्पा घर्तीले पनि मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छिन् ।
सरकारका संग्लन मन्त्रीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । सभामुख र मन्त्रीबाहेक अन्य सांसदहरूले हस्ताक्षर गरेको प्रदेश सभा सदस्य कँडेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव फेस गर्छु : मुख्यमन्त्री
मुख्यमन्त्री शाहीले लामो समयदेखि अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्नेहरूले ल्याएको प्रस्ताव फेस गर्न आफू तयार रहेको बताएका छन् । ‘सरकारका राम्रा काम प्रचार गर्ने कुरा त परै जावस कानुन बनाउने कुरामा पनि चासो दिएको देखिँदैन, खालि सरकार परिवर्तनको हल्ला गर्ने र खोचे थाप्ने काम भइरहेको छ । यसरी कर्णालीको विकास सम्भव छैन,’ उनले भने, ‘अहिले अविश्वासको प्रस्ताव ल्याए, त्यसको सामना गर्न तयार छु ।’

उनले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने बताए । ‘प्रधानमन्त्री ओलीविरुद्ध पनि यस्ता कुरा आएकै हुन् । दलको आन्तरिक कुरा हो यो । संसदीय दलको बैठकमा छलफल हुन्छ,’ उनले भने ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...