Tuesday 17th March 2026

कविता- दोषको खोजी- लोक छन्द


तितोपाटी- पुरानो शिक्षा प्रणाली हाम्रो घोकन्ते विद्याको ।
प्रयोग बिना सुगाले जस्तै रटेर घोकेको ।
व्यवहारमा उतार्न गाह्रो रटेर पढेको ।
त्यसैले होला नेपाली हामी पछाडि परेको ।

छाडेर गुण दोषको खोजी सबैले गर्दछ्न् ।
गल्तिको मात्र गणना गरी लुकेर बस्दछ्न् ।
विद्यालयले बच्चाको खालि गल्ति नै कोट्यायो ।
गल्तिको तल त्यो रातो मसी राखेर छुट्ट्यायो ।

गल्तिको डर देखाईकन गुरुले धम्काए ।
गल्तिको मात्र बखान गरी बेसरी थर्काए ।
विचरा बच्चा डरको मारे कोशीस गर्दैन ।
हुनेछ गल्ति भनेर डरी अगाडि सर्दैन ।

गुलाब छाडी काँडाको पछि लाग्दैछ दुनियाँ ।
गिलास आधा भएको मात्र देख्दैछ दुनियाँ ।
अरुको गल्ति ढुकेर मात्र बस्दैछ दुनियाँ ।
कसरी तल खसालौँ भनी कुर्दैछ दुनियाँ ।

अरुको दोष नखोज्नु जाति गुणको कदर ।
गरेको राम्रो आफूको जस्तै अरुको आदर।
हरेक जिउ रोगले ग्रस्त दोष छ कुलमा ।
यथार्थ कुरा सबैले बुझौँ नपरौँ भुलमा ।

इन्द्रको पनि शरिर भरी योनीले भरेको
चन्द्रमा पनि दागले गर्दा मलिन भएको
वषिष्ठ ॠषी जन्मनु पर्‍यो बेश्याको कोखमा
अग्निले पनि पाएको सबै राख्दछ मुखमा ।

कृष्णले पनि गोठालो बनी जन्मनु परेको ।
कामदेवले शरिर बिना रहनु भएको ।
व्यासले पनि जन्मनु पर्‍यो माझिको घरमा ।
नुनको मात्रा भएकै हुन्छ समुद्री जलमा ।

पाण्डव पनि जन्मेका थिए जारको कारण ।
शिवले पनि चिताको भष्म दलेका निधारमा ।
खोजेमा दोष अवश्य मिल्छ हरेक चिजमा ।
छाडेर दोष गुणको पछि लाग हे सज्जन ।
हरि शर्मा
मिशिगन, अमेरिका ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...