Friday 11th September 2026

हुम्लामा महिलालाई कपाल मुडेर दिसा खुवाइयो


परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ । परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् । उनीसँग सम्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई निर्घात कुटपिट गरिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि कुटपिट भएको उनले बताएकी छिन् । ‘मान्छेहरू जम्मा भएर दिसा खुवाए, त्यसपछि मेरो कपाल मुण्डन गरे,’ उनले भनिन्, ‘कपाल मुडिदिएपछि टाउकोमा कपडा बेरेर बसेकी थिएँ, फेरि सबैले मोसो लगाए, हातखुट्टा बाँधेर कुटपिट गरे ।’गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । गाउँले सबै आएर कुट्दा आप्mनो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले बताइन् । ‘जुत्ताको माला लगाएर गाउँभर डुलाए, मेरा छोराछोरी चिच्याइचिच्याई रोइरहेका थिए, मलाई आफ्नो पीडाभन्दा पनि छोराछोरीको मनले रुवाइरहेको छ,’ उनले भनिन् ।

कुटपिट गर्ने श्रीमान्सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरी ल्याएको छ । घटना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘महिलाको दोष हो भने श्रीमान्ले उजुरी दिन सक्छन्, कानुनी उपचार खोज्न सक्छन् । तर, कुटपिट गर्ने, मोसो लगाउने, दिसा खुवाउने र कपाल मुण्डन गर्ने अमानवीय काम भएको छ,’ जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान सुरु भएको छ, दोषीलाई कारबाही हुन्छ ।’

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...