Thursday 5th November 2026

प्रधानमन्त्रीले मन्त्रालय फुटाएमा कांग्रेस विरोधमा उत्रिन्छ: पौडेल


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय फुटाएमा विरोधमा उत्रिने बताएका छन्।प्रधानमन्त्रीले केही मन्त्रालय फुटाउने तयारी गरिरहेका खबर सार्वजनिक भइरहेका छन्। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन राज्यमन्त्रीहरूलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्रीले मन्त्रालय फुटाउन खोजेको चर्चा छ।प्रधानमन्त्री कार्यालयसहित अहिले २१ मन्त्रालय छ। त्यसलाई बढाएर २५ बनाउन लागेको चर्चासँगै विरोध पनि सुरू भएको हो।

मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले विरोध गरेका हुन्।‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेका बेला फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं,’ पौडेलले बिहीबार फेसवुकमा लेखेका छन्। देशले कर्मचारीको पेन्सनसमेत धान्न नसक्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ।

‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोलेर विना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्। कर्मचारीकै पेन्सन धान्न नसक्ने अवस्था भइसक्यो,’ पौडेलले भनेका छन्। देशलाई भार मात्रै पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय फुटाउन नहुने पौडेलको भनाइ छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

“ब्रह्माण्ड यति विशाल छ। यदि यसमा हामी मात्रै छौँ भने, यो अथाह अन्तरिक्षको ठूलो हिस्सा व्यर्थ खेर गएको जस्तो लाग्छ।”…

कहिलेकाहीँ मानिस संसारसँग यति धेरै प्रश्न गर्न थाल्छ कि उसले आफैँसँग संवाद गर्नसमेत बिर्सन्छ। अरूले के भन्छन्, समाजले के सोच्छ,…

आधिकारिक पुष्टि हुन बाँकी काठमाडौं। नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको भन्दै दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर अतिरिक्त महानिरीक्षक…

प्रतिकृयाहरू
...