Sunday 22nd March 2026

रोटी र प्याजको भरमा श्रमिक


तितोपाटी – झापाका राजु मुर्मुलाई कोरोनाका कारण साउदीको जागीर खोसिएपछि साँझ बिहान हातमुख जोड्न धौ धौ भएको छ। उनी साउदी अरबको सप्लाई कम्पनी अल फाइडरमा काम गर्थे। कोरोनाका कारण ६ महिनादेखि उनी बेरोजगार छन्। कम्पनी बन्द भएपछि खान पनि पैसा नदिएको र फर्किने टुंगो नहुँदा हैरानी भएको उनले सुनाए। बेरोजगार भएपछि उनी स्वदेश फर्कन प्रयास नगरेका होइनन्। घरबाट ५० हजार पैसा मगाएर टिकट काटे पनि उनी आउन पाएनन्। घर आउन उनले दुई सय ३० रियाल तिरेर पीसीआर परीक्षण गरे। तर पनि आउने टुंगो छैन।

उनी अहिले मर्नु न बाँच्नुको स्थितिमा छन्। कम्पनीले पनि उनलाई अन्तै जान भनेकाले थप चिन्तामा छन्। मोरङका महेन्द्र हेमरोनको पनि पिडा उस्तै छ। २६ वर्षीय हेमरोन साउदी पुगेको साढे तीन वर्ष वर्ष भयो। जेद्घा एयरपोर्टमा कार्यरत विरसिंह खत्री ६ महिनादेखि बेरोजगार भएपछि घरबाटै पैसा मागेर खाने गरेको बताउँछन्। ‘पारि श्रमिकको त कुरै छोडौं, कम्पनीले खाने पैसासमेत दिएको छैन’, उनले भने।खत्री अगस्ट २० तारिखमा उड्ने भनेर टिकट काटे पनि उडान रोकिएपछि झन तनावमा छन्। एक्जिट पेपर बनाएर पनि उड्न नपाएको उनले गुनासो गरे। कम्पनीले रुम छोड भन्न थालिसकेको उनले सुनाए।

महोत्तरीका नरेन्द्र सर्वरिया पैसा नभएर आउन नपाएको गुनासो गर्छन्। ५ वटा उडान भइसक्दा पनि पैसा नभएकै कारण उनी आउन पाएनन्। कम्पनीले बस्न नदिएपछि साथीको कोठामा ५÷६ जना कोचिएर बस्नुपरेको उनले सुनाए।

मुर्मु, खत्री र सर्वरिया प्रतिनिधि पात्र मात्र हुन्। खाडी मुलुकमा कार्यरत लाखौं युवा कोरोनाका कारण रोजगारी गुमाएर विचल्लीमा छन्। यता सरकारले ती देशमा कार्यरत नेपालीलाई स्वदेश फर्कन रोकेको छ। भदौ १ गतेदेखि उडानमा कडाइ गर्दै आएको छ। भदौ १६ बाट नियिमत उडान गर्ने तयारी भए पनि खाडीबाट कामदार ल्याउने सरकारको योजना छैन।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार भदौ ८ गतेसम्म ५२ हजार दुई सय ५१ जना स्वदेश फर्किएका छन्। त्यसमध्ये खाडी र मलेसियाबाट ४३ हजार कामदार फर्किएका छन्। अति समस्यामा परेका कामदारलाई निःशुल्क ल्याउन सरकारले निर्देशिका जारी गरे पनि त्यसबाट कामदार लाभान्वित हुन पाएका छैनन्।प्रवासी नेपाली समन्वय समितिका निर्देशक सोमप्रसाद लामिछानेले साउदीलगायत खाडीमा थुप्रै नेपाली समस्यामा परे पनि सरकारले स्वदेश फर्कन बाटो छेक्नु दुःख भएको बताए।

वैदेशिक रोजगार बोर्डको अध्ययन अनुसार खाडी र मलेसिायमा मात्रै चार लाख ७ हजार कामदारले रोजगारी गुमाएका छन्। सीसीएमसीका अनुसार हालसम्म सात हजार आठ सय १७ जना मात्रै साउदीबाट फर्किन पाएका छन्। बोर्डका अनुसार साउदीमा तीन लाख ५० हजार कार्यरत रहेकोमा एक लाख २० हजारले रोजगारी गुमाइसकेका छन्।

नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले सरकारले सर्वोच्चको आदेशको अवज्ञा गर्दै कामदारलाई चुस्ने गरेको बताइन्। स्वदेश फकार्उन ध्यानाकर्षण गराउँदा पनि सरकार गैरजिम्मेवार भएर कामदारको बेवास्ता गरेको बताइन्। ‘रेमिट्यान्सले देश धानेको भन्ने तर कामदार आउन बन्देज गर्नु सरकारको उचित कदम होइन।’ उनले भनिन्।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...