Friday 20th March 2026

पहिरोको कारण कास्की र लम्जुङमा ७ जनाको मृत्यु, म्याग्दीमा ९ वेपत्ता


अविरल वर्षासँगै खसेको पहिरोले  पुरिएर पोखराका दुई स्थानमा बिहीबार राति ४ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जनाको सनाखत हुन सकेको छैन  ।

पोखरा–१८ सराङकोट गोठादीमा राति २ बजेतिर पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ । उक्त घरमा परिवार सदस्यको जन्मदिन परेकाले आफन्त र इष्टमित्र पनि डाकिएका थिए । पहिरोमा परेर अन्य ६ जना घाइते भएको र उनीहरूलाई मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसै गरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हेमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घरसँगै तीन बाख्रा पनि पुरिएका छन् ।

त्यस्तै  लमजुङमा पनि अविरल वर्षाको कारण बिहिबार राती खसेको पहिरोले एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।

उनीहरुलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुऱ्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसै गरि म्याग्दीमा पाँच घर पुरिएका छन् भने ९ जना बेपत्ता छन् । एउटा बेलिब्रिजसमेत भत्किएको छ ।धौलागिरि गाउँपालिका–६ मराङको घन्टीवाङबाट खसेको पहिरोले रिखाका भीमबहादुर जुग्जाली र धनबहादुर जुग्जालीका सहित चार घर बगेका छन् । पहिरोमा भीमबहादुरको परिवारका चार र धनबहादुरको परिवारका तीन जना बेपत्ता छन् । त्यस्तै मालिका गाउँपालिका–७ बिमको दुलेमा सोमनाथ पौडेलको घर बग्दा दुई जना बेपत्ता भएको स्थानीयले बताए । पहिरोले त्यहाँको शिव आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...