Monday 6th May 2024

कुवेत सहित अन्य देशबाट ३ सय ८८ श्रमिक सम्पर्कबिहिन


तितोपाट- गोरखा दर्बुङका गणेश गुरुङ वैदेशिक रोजगारीका लागि २०७२ सालमा साउदी हिँडे। परदेशमै हराउँछन् श्रमिक साउदी पुगेको ७ महिनासम्म परिवारसँग कुरा भइरहेको थियो। त्यसयता उनी परिवारको सम्पर्कमा छैनन् । यतिका वर्ष भइसक्यो, मेरो श्रीमान्ले फोन पनि गर्नु भएको छैन। कसैसँग सम्पर्कमा आउनु भएको छैन,’ गणेशकी श्रीमती पुजा गुरुङ सुनाउँछिन्। २०७२ पुसमा गणेशका साथीहरुले घरमा फोन गरेका थिए।

‘गणेश सडक दुर्घटनामा पर्‍यो, हेर्दाहेर्दै प्रहरीले लग्यो। कहाँ लग्यो थाहा भएन’, साथीहरुले पुजालाई सुनाएका थिए । पुजालाई त्यो कुराको विश्वास नै लाग्दैन । ‘मृत्यु भएको भए कम्पनीले शव पठाउनु पर्ने, किन पठाएन? उहाँका साथीहरुले मलाई झुटो कुरा सुनाए कि? पुजा अझै विश्वास गर्न तयार छैनन्।

कम्पनीले आधिकारिक जानकारी नपठाएकाले गणेशको मृत्यु भएको हो वा होइन भनेर अझैसम्म पुष्टि हुन सकेको छैन। गणेशको खोजी गरिदिनु भनेर परिवारले वैदेशिक रोजगार विभाग, बोर्ड, कन्सुलर, श्रम तथा परराष्ट्र मन्त्रालयलगायत सबै सम्बन्धित निकाय चहारे, तर पनि गणेशको कुनै पत्तो लागेको छैन।

सिन्धुलीका सुकुले राईको कथा भने केही भिन्न छ। २०६६ सालमा रोजगारीको खोजीमा विदेशिएका सुकुुले ३ वर्षसम्म परिवारको सम्पर्कमा थिए ।

फर्निचर कामका लागि भनेर गएका उनले मलेसिया पुगेपछि आफूले खेतबारीमा काम गर्नुपर्ने बताएका थिए। थोरै पैसा पनि पठाउँदै थिए। उनले पठाएको पैसाले ऋण साहुबाट लिएको ऋणको किस्ता तिर्दै थिइन् उनकी श्रीमती सबिता। ३ वर्षपछि उनी बिस्तारै परिवारसँग सम्पर्कमा आउन छाडे। ६ वर्षसम्म श्रीमानको अत्तोपत्तो थिएन। एक वर्षअघि फेरि उनी परिवारको सम्पर्कमा आएका थिए।

‘उहाँले एक वर्ष अगाडि भिडियो फोन गर्नु भएको थियो। एक जना महिलासँग बिहे गरेको छु। उसले मोबाइल पनि खोस्छ। लुकेर फोन गरेको। म यहाँ कैदीजस्तै भएको छु। म मेरो छोराछोरीसँग फर्किन चाहन्छु मलाई जसरी हुन्छ निकाल भन्नुभएको थियो। त्यस यता एक वर्षदेखि सम्पर्कमा हुनुहुन्न,’ सुकुलेकी श्रीमती सविताले सुनाइन्।

मलेसियामा एक फिलिपिनी युवतीसँग विवाह गरेर बसेको र बच्चा पनि भएको भन्दै उनले भाइबरमार्फत् फिलिपिनी श्रीमतीसँगको फोटोसमेत पठाएका थिए ।आफ्ना श्रीमान हराएको भन्दै भौतारिएकी सविता श्रीमानको खोजी गरिदिन आग्रह गर्दै प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)सम्म पुगेकी थिइन् ।

गणेश र सुकुलेजस्ता वैदेशिक रोजगारीको खोजीमा परदेशिएका थुप्रै युवा परिवारसँग सम्पर्कविहीन हुने गरेका छन्। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा मात्रै सन् २०१३ देखि हालसम्म रोजगारीको सिलसिलामा परदेशिएका युवाहरु परिवारको सम्पर्कमा नभएको भन्दै ३ सय ८८ वटा उजुरी परेका छन्। परेका उजुरीमध्ये पीएनसीसीले विभिन्न संघसंस्थाहरूको समन्वयमा २ सय ३१ उजुरीमाथि सम्बोधनमा सहयोग पुर्‍याएको छ।

परिवारसँग सम्पर्कविहीन भएका कतिपयलाई परिवारको सम्पर्कमा ल्याएको तथा उनीहरूको वास्तविक अवस्था पत्ता लगाएको पीएनसीसीले जनाएको छ। केही उजुरी प्रकृयामा रहेको जनाइएको छ। हराएका श्रमिकसम्बन्धी पीएनसीसीमा परेका उजुरी हेर्दा सबैभन्दा ठूलो संख्यामा पुरुषहरू हराएका छन्।

सबैभन्दा बढी मलेसियामा हराउँछन्

मलेसियामा धेरै नेपाली श्रमिक छन्। त्यहाँ पुगेर परिवारसँग सम्पर्कविहीन हुनेहरूको संख्या पनि सबैभन्दा बढी छ। पीएनसीसीमा परिवारसँग सम्पर्कविहीन भएको भन्दै परेका ३ सय ८८ उजुरीमध्ये सबैभन्दा बढी २ सय उजुरी मलेसियाका छन्। त्यसपछि साउदी गइ सम्पर्कविहीन भएका ६७ उजुरी परेका छन्। कुबेत गएर सम्पर्कविहीन भएको भन्दै ४६ वटा उजुरी परेका छन्। त्यस्तै कतार, बहराइन, ओमानलगायत अन्य मुलुकमा गएका धेरै श्रमिक सम्पर्कबिहीन हुने गरेका छन्।

किन हराउँछन् श्रमिक ?

विदेशमा विभिन्न कारण जेल परेको अवस्थामा समेत उनीहरू परिवारको सम्पर्कमा नआएका घटना सबैभन्दा बढी भएको पीएनसीसीले जनाएको छ। गन्तव्य मुलुकमा पुगिसकेपछि उतै आफ्नो सम्पर्कमा आएका महिलासँग प्रेम सम्बन्धमा परेर थुप्रै पुरुष परिवारको सम्पर्कमा नआएको पाइएको छ। महिलाहरु पनि गन्तव्य मुलुकमा पुगेपछि आफ्नो सम्पर्कमा आएका पुरुषसँग प्रेम सम्बन्धमा परेपछि परिवारसँग सम्पर्कविहीन हुने गरेका थुप्रै घटना छन्। त्यस्तै पारिवारिक मनमुटाव, विदेशमा मृत्यु भएको अवस्थामा उनीहरूको शव परदेशमै गायब पार्ने समस्याका कारण समेत श्रमिकहरु वर्षौँदेखि परिवारको सम्पर्कमा आउन सकेका छैनन्। घरेलु कामदारको हकमा रोजगारदाताले परिवारसँग सम्पर्क गर्न नदिने समस्याका कारण कतिपय श्रमिक परिवारको सम्पर्कबाट टाढा रहेर बन्दीजस्तै काम गर्न बाध्य छन्।

हराएका श्रमिक खोजीका लागि छैन सरकारी संयन्त्र

रोजगारीको खोजीमा दैनिक १ हजारभन्दा बढी युवा विदेशिने गर्छन्। खाडीदेखि युरोप, अमेरिकालगायत मुलुकमा रोजगारीको सिलसिला तथा विभिन्न कारणबाट पुगेका व्यक्ति हराउने गरेका छन्। तर कति श्रमिक परिवारको सम्पर्कमा आएका छैनन् भन्ने यकिन तथ्यांक सरकारसँग नै छैन। हराएकालाई खोज्न कुनै सरकारी संयन्त्र पनि बनेको छैन। परिवारको सम्पर्कमा नआएका श्रमिकको खोजीका लागि बलियो सरकारी संयन्त्र नहुँदा उनीहरुका आफन्तलाई पीडामाथि पीडा थपिएको छ।

‘विभाग, मन्त्रालय, बोर्ड भएजति सबै ठाउँमा धाउँदा पनि न हामीले सास पाएका छौँ, न त लाश, कहाँ गएर कसलाई गुहार्ने ?’ गणेशकी श्रीमती पुजा सुनाउँछिन्। गणेश र सुकुलेजस्ता परिवारको सम्पर्कमा नआएका श्रमिकका परिवारले कहाँ गएर कसलाई उजुरी गर्ने, कुन संयन्त्रमार्फत आफ्ना हराएका सदस्यको खोजी गर्ने भन्ने समस्या छ।वैदेशिक रोजगारीका क्रममा हराइरहेका श्रमिकहरुको सवाल पनि जटिल भएकाले यस विषयलाई स्थान दिएको पीएनसीसीले जनाएको छ । यस विषयमा सरकार, कूटनीतिक नियोगलगायत सम्पूर्ण सरोकारवाला निकायले गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्ने पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए।

के भन्छन् सरोकारवाला ?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि गिरीप्रसाद आचार्यले वैदेशिक रोजगारीका सिलसिलामा थोरै संख्यामा श्रमिकहरु सम्पर्कविहीन हुनु पनि दुःखद भएको बताए ।यसका लागि सरकारले समन्वयकारी भूमिका बढाउनु पर्ने महसुस भएको छ’ उनले भने, ‘हामीले यसरी सम्पर्कबिहिन हुने श्रमिकहरुको सम्बन्धमा दुई देशको श्रम सझदारी एमओयुमा समेट्छौँ ।’परराष्ट्र मन्त्रालयका प्रतिनिधि कृष्णकुमार सुवेदीले परदेशमा थुप्रै श्रमिक विभिन्न समस्याका कारण पनि परिवारसँग सम्पर्कमा आउन नसकेको बताए ।

‘खाडीमा मात्र होइन, युरोप अमेरिका लगायतका मुलुकमा जाने श्रमिकहरु समेत परिवारको सम्पर्कमा आउन सकेका छैनन् । एजेन्टमार्फत् अवैध बाटो हुँदै जाँदा उनीहरु हराउने, समस्या छ। कतिपयलाई त एजेन्टहरुले बाटोबाट नै गायब पारेका घटन पनि छन्’ उनले भने, ‘यस्ता समस्या समाधानका लागि हामी श्रम मन्त्रालय तथा सबै सरोकारवालासँग मिलेर काम गर्छौँ ।’

मानव बेचबिखन अनुसन्धान व्युरोका डिएसपी सुधिरराज शाहीले वैदेशिक रोजगारीका सिलसिलामा हराएका श्रमिकहरुको खोजीका लागि प्रहरीले पनि सहयोग गर्न सक्ने बताए ।

‘हामीले विभिन्न देशमा विभिन्न कारण हराएका मानिसहरुका लागि ईन्टरपोलमार्फत् एल्लो नोटिस जारी गर्दै आएका छौँ । जटिल मुद्धाहरुमा मात्रै एल्लो नोटिस जारी गरिन्छ डिएसपी शाहीले भने, ‘हराएका श्रमिकको खोजीका लागि पनि इन्टरपोलमार्फत एल्लो नोटिस जारी गर्न सकिन्छ । यसका लागि छलफल गर्न सकिन्छ ।’यो खबर नेपाललाईभमा निर्मला घिमिरेले लेखेकी छिन।


सम्बन्धित शीर्षकहरु

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रसाद बराललाई ‘प्रेस स्वतन्त्रता सेनानि’ सम्मान प्रदान गरिएको छ । काठमाण्डौमा सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

प्रतिकृयाहरू
...