तितोपाटी-नदी किनारमा राखिएको शवमाथि नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको थियो। खोरीगाड दोभानको बगरमा उभिएका मान्छेहरु सबैको अनुहार मलिन र उदास थियो। एकजना मलामीले लम्पसार पारिएको शवतिर हेर्दै भने, ‘जिन्दगीभर राजनीति-राजनीति भने तर त्यही राजनीतिले यस्तो हालत बनायो।’
बझाङ छबिसपाथिभेरका रमेशबहादुर बोहरा यहाँका नेता थिए। स्थानीय तहका सबै समस्या समाधानका लागि सधैं अग्रसर रहन्थे। कसको घरमा के समस्या छ भन्ने उनलाई कण्ठै थियो। लोकतन्त्रले मात्र हामी दुर्गमका दुःख बुझ्छ भन्ने ठान्थे उनले। तर, नियति यस्तो निर्मम भइदियो कि अरुको समस्या टाउकोमा राखेर हिँड्ने उनै रमेशले मलेसियामा ज्यान गुमाए। त्यो पनि अकालमा।
‘चुनावमा ऋण लागेपछि मलेसिया भासिएका थिए उनी। १३ मंसिरमा उनको अचानक मृत्यु भएछ’, मृतकका भाइ बसन्त बोहराले नेपाल लाइभ सहकर्मीसँग एकै सासमा भने, ‘दाइको मृत्युको कारण पनि थाहा पाइएको छैन। हामीले त पत्याएकै थिएनौं। यस्तो होला भन्ने कसैले सोचेको थिएन।’शुक्रबारमात्रै छबिसपाथिभेरा गाँउपालिका वडा नम्बर ७ का बोहराको अन्तिम संस्कार गरियो।
दाहसंस्कारमा जम्मा भएका उनका आफन्त, सुभेच्छुक र पार्टी कार्यकर्ताहरु उनको मृत्युपछि मात्र एउटा राजनीतिकर्मीको विवशता र बाध्यताका आयामहरुबारे छलफल गरिरहेका थिए। भएको के रहेछ भने, गाउँपालिकाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट बोहरा वडाध्यक्ष पदको उम्मेदवार बनेका थिए। चुनावमा साम–दाम त हाम्रो संस्कृति जस्तै बनेको छ। पैसा खर्च गर्ने र भोट बटुल्ने स्पर्धा नै चल्छ। उम्मेदवार बनेका बोहरालाई पनि निर्वाचन जित्नुपर्ने दबाब थियो।
स्वभाविक रुपमा यस्तो दबाब छिचोलेर वडाको नेतृत्व लिन उनले आफ्ना साथीभाइ र आफन्तहरुसँग ऋण लिए। खर्च गरे। तर, उनले झिनो मतान्तरले चुनाव हारे।चुनावमा बोहरा १ सय २ मतले पराजित भएका थिए। चुनावमा उनको झण्डै ७–८ लाख रुपैयाँ खर्च भएको थियो। पैसा खर्च भए पनि बोहरा पराजित भए’, उनका एक आफन्तले सुनाए, ‘चुनावमा पराजित हुनुको पीडा त छँदै थियो त्यसैमाथि पनि उनी ऋणका कारण बेचैन थिए। हामीसँगको भेटमा यत्रो पैसा कसरी चुक्ता गर्ने भन्ने चिन्ता मात्र गरिरहन्थे।’
अन्ततः झण्डै दुई वर्षअघि उनी घरका लालाबाला छोडेर ऋण तिर्नकै लागि मलेसिया उडे। बोहराका दुई छोरी र एक छोरा छन्। जेठी छोरी १० वर्षीया, कान्छी छोरी ३ वर्षीया र छोरा ८ वर्षका छन्।पैसाको पीर नलिनु, म तिर्छु। बालबच्चा पढाउँछु भनिरहनुहुथ्यो’, रमेशकी श्रीमती अञ्जनाले भक्कानिदै भनिन्, ‘आधा ऋण त तिरिसक्नु भएको थियो तर बीचैमा के भयो के भयो थाहै भएन।’श्रीमानको मृत्युका पछाडि अधिक चिन्ता र दबाब पनि कारण रहेको उनले बताइन्। ‘मान्छेहरुले ‘हर्ट हट्याक’ले बितेको भन्छन्। चिन्ताका कारणले पनि यस्तो भएको हुनसक्छ। बरु यतै बसेको भए जीवन रहन्थ्यो होला’, श्रीमती अन्जनाका आँखाबाट आँसु बगे, ‘अब यी बालबच्चाको भविष्य मैले कसरी बनाउने? कति दुःख गर्ने? -नेपाल लाईभ बाट