Thursday 2nd May 2024

ठूला विमानस्थलमा अड्को, सानामा फड्को


रविन्द्र शाही -धेरै लागत भएका ठूला विमानस्थलका आयोजना पूरा नसकेर हैरान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै लागत र स्वदेशी निर्माण व्यवसायीमार्फत् साना विमानस्थलमा गरेको काममा भने फटाफट प्रगति भएको छ।विमानस्थल निर्माण तथा सञ्चालनसमेत गर्दै आएको प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलको क्षमता विस्तार, मर्मत सम्भारजस्ता कामलाई धेरै तीव्रता दिएको छ।जबकी भैरहवा र पोखराका दुई ठूला विमानस्थलमा भने चाहेको गतिमा अघि बढ्न सकेका छैनन्।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले देशका विभिन्न साना-ठूला सहरमा रहेका साना विमानस्थलमा मर्मतसम्भार तथा क्षमता विस्तारका काम समयमै सकिएको जानकारी दिए।उनका अनुसार धनगढी, नेपालगञ्ज, विराटनगर, जनकपुर, चन्द्रगढी, ताप्लेजुङ तथा जोमसोम विमास्थलको मर्मत तथा स्तरोन्नतिको काम यही वर्षभित्र सकिएको छ। एक वर्षभित्रै एक दर्जन विमानस्थलको काम सकिएको उनले जानकारी दिए।

प्राधिकरणले यो अवधिमा डोटीको विमानस्थल कालोपत्रे गरेको छ भने गुल्मीमा कालोपत्रे गर्न सम्झौता भइसकेको छ।यतिमात्र होइन प्राधिकरणले यो बीचमा दुर्गमका विमानस्थलमा सौर्य ऊर्जा जडान पनि गरिरहेको छ।काठमाडौंबाहिरका यी सबै आयोजना १० करोडमाथि लागतका हुन्। गएको एक वर्षमा १ अर्बमाथिका यी काम सम्पन्न भएको पोखरेलले जानकारी दिए।

‘काठमाडौंबाहिरका विमानस्थलमा सुविधा विस्तार भएको छ। अब हाम्रा एयरलाइन्सले जहाज काठमाडौंबाहिरका विमानस्थलमा पनि पार्किङ गर्न सक्छन्,’ उनले भने।पोखरेलका अनुसार धनगढी विमानस्थलको धावनमार्गमा कालोपत्रे थप्ने काम यही आर्थिक वर्षमा सकिएको छ। त्यस्तै डोटीमा पनि कालोपत्रे भएपछि विमानस्थलमा सदाबहार हवाइ सेवा सुरू गर्न बाटो खुलेको छ।पछिल्लो समय नेपालगञ्जमा हवाइ चाप अत्याधिक बढेको थियो। जसबाट त्यहाँ पार्किङ अभाव हुँदै गएको छ। जसका कारण ‘पिक आवर’मा उडान अवतरण नै प्रभावित हुने गरेका थिए।अहिले त्यहाँ पार्किङ वे विस्तार भएका छन्। नेपालगञ्ज विमानस्थलमा अहिले ६ ओटा एटिआर-७२ जहाज पार्किङ गर्न मिल्ने भएको पोखरेलले जानकारी दिए।

जनकपुर विमानस्थलमा रात्रीकालीन उडानका लागि पूर्वाधार विस्तार गरेको प्राधिकरणले विराटनगर विमानस्थलमा पनि पार्किङ वे तथा टर्मिनल भवन निर्माणको काम अघि बढाएको छ। यही अवधिमा झापाको चन्द्रगढी विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम पनि सकिएको छ।प्राधिकरणले यी सबै काम समयमै सम्पन्न गरेको पोखरेलले जानकारी दिए।

‘हामीले यही वर्ष जुम्ला तथा जोमसोमका विमानस्थलको पनि स्तरोन्नति गरेका छौं। त्यस्तै ताप्लेजुङ र इलामका विमास्थलको पनि स्तरोन्नति गरेका छौं। काठमाडौंबाहिर हुने क्षेत्रीय उडानका लागि विश्वसनीय पूर्वाधार निर्माण भएका छन्,’ उनले भने।पूर्वाधार निर्माण भएर बजार परिपक्व हुँदै गएपछि एयरलाइन्सले साना सहरमा पनि उडान सुरू गर्ने पोखरेलको विश्वास छ।

गएको एक वर्षमा प्राधिकरणले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा पनि धेरै काम अघि बढाएको छ।विमानस्थलको क्षमता अभिवृद्धि आयोजना सञ्चालन गरिरहेको प्राधिकरणले धावनमार्ग तथा ट्याक्सी वे विस्तारलगायत काम गरिरहेको छ।धावनमार्ग र ट्याक्सी वेको धावनमार्ग कालोपत्रे फेर्ने काम साढे चार अर्बको लागतमा भैरहेको छ। यो काम यही डिसेम्बरमा सकिने पोखरेलले जानकारी दिए। यसका लागि अहिले चिनियाँ कम्पनीले काम गरिरहेको छ।

यही बीचमा ४४ करोड लागतमा रिमोट पार्किङ वे बनाएको छ। त्यहाँ दुई ठूला जहाज राख्न मिल्छ। त्यस्तै प्राधिकरणले विमानस्थलको दक्षिणतिर अहिले २ ठूला २ साना जहाज राख्न मिल्ने पार्किङ वे बनाइरहेको छ। यसको लागत ६० करोड रहेको छ। यी सबै काम एक वर्षदेखि सञ्चालित छन्।पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलेको विदेशी ठेकेदार र भैरहवा विमानस्थलबाहेक अरू सबैतिर समयअनुसार धमाधम काम भइरहेको बताए।’साना लागतका स्वदेशी ठेक्काका काम हाम्रोमा धमाधम भइरहेका छन्। केही अपवादलाई छाड्ने हो भने पोखरामा लक्ष्यभन्दा बढी नै काम भइरहेको छ भने काठमाडौंमा पनि राम्रै काम भएको छ। अहिले हाम्रोमा कुनै आयोजनामा पनि ढिलासुस्ती छैन,’ उनले भने।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...