Wednesday 8th May 2024

एनआरएनए नवौं विश्व सम्मेलनको तयारी तीव्र,राष्ट्रपति र प्रधानमन्त्रीले सम्बोधन गर्ने


तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं विश्व सम्मेलनको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ ।

आइतबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले ‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ हुने विश्व सम्मेलनको उद्घाटन १५ अक्टोबरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने निश्चित भएको जानकारी दिए । यस्तै सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । “हामीले यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीज्यू र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई कार्यक्रमको निमन्त्रणा दिइसकेका छौं । उहाँहरुले सहभागिताबारे समय दिइसक्नु भएको छ,” केसीले भने । मुख्य आयोजक नेपाल सरकार रहने सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघसँग समेत सहकार्य गरिएको छ । सम्मेलनका लागि परराष्ट्र मन्त्रालयले एक कमिटी गठन गरिसकेको छ भने एनआरएनले अर्को आन्तरिक कमिटी पनि गठन गरेको महासचिव केसीले जानकारी दिएको नेपाल ब्रिटेन डटकमले जनाएको छ ।

नेपाल सरकार परराष्ट्र मन्त्रालायमा दर्ता भएको संस्था भएको र मुख्य आयोजक समेत भएकाले मन्त्रालय कार्यक्रम सफल बनाउन सक्रियतापूर्वक लागिपरेको केसीको भनाइ छ । सम्मेलनमा अध्यक्षले आफ्नो प्रतिवेदन पेश गर्नुका साथै आर्थिक, सांगठनिक प्रतिवेदन पनि पेश हुनेछ । यस्तै विधानमा गर्नुपर्ने परिवर्तनका विषयमा पनि बैठकमा गम्भीर छलफल हुनेछ । यस्तै सबै राष्ट्रिय समन्वय परिषद्को एकमुष्ट कार्यप्रगति सम्बन्धित क्षेत्रीय संयोजकले प्रस्तुत गर्नेछन् । सम्मेलनमा करिब २ हजार ५०० प्रतिनिधि सहभागी हुने हुँदा काठमाडौंस्थित हायात होटलमै गर्नुपरेको केसीको भनाइ छ । होटलको विकल्पमा अन्य स्थानसमेत छनोट भए पनि अन्त सम्मेलन गर्न सम्भव नदेखिएको उनले बताए । उनका अनुसार नेतृत्व चयनका लागि हुने निर्वाचन करिब ४ घण्टामै सक्नेगरी निर्वाचन कमिटीलाई निर्देशन दिइएको छ भने निर्वाचनमा प्रविधिको प्रयोग गरिने हुँदा तत्काल नतिजा पनि आउनेछ । यस्तै सम्मेलनका देखाउन मिल्ने गतिविधिलाई बाहिर सम्मेलन परिसरमा हेर्न मिल्ने व्यवस्था पनि मिलाइएको केसीले जानकारी दिए । सम्मेलनमा नेपाललाई कसरी समृद्ध बनाउने भन्नेबारे विचार विमर्श गर्दै लगानीका विविध सम्भावनाबारे पनि विचार विमर्श गरिनेछ ।

यसै सन्दर्भमा अफ्रिका, अमेरिका, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनसिसिहरुको महाधिवेशन सम्पन्न भई अन्तर्राष्ट्रिय महाधिवेशन मतदान अधिकार सहितका प्रतिनिधिहरु चयनको कार्य भइरहेका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रतिनिधिहरुको नामावली जसमा कूल मतदाताको संख्यामा २० प्रतिशत थप गरी यही ३० सेप्टेम्बरसम्म सचिवालयमा उपलब्ध गराउनु पर्ने गरी निर्णय गरेको छ । उक्त निर्णय राष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराइसकिएको छ । यसपछि एनसिसिले पठाएका प्रतिनिधिहरुको नामावलीलाई अन्तिम रुप दिइ मतदाताको नामावली प्रकशित गरिने भएको छ । त्यसपछि निर्वाचनको औपचारिक प्रक्रिया मनोनयन, मनोनयन माथि दाबि विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, मतदान र मत गणना गरिने छ । यी सम्पूर्ण प्रक्रिया १७ अक्टोबरभित्र पूरा हुने छ ।

विश्व सम्मेलनमा भग लिन मध्यपूर्व, मलेशिया, अफ्रिकाका गैरआवासीय नेपालीहरु र नेपाल भित्रका इच्छुक नेपाली नागरिकहरुको लागि १०० अमेरिकी डलर र यस बाहेकक गैरआवासीय नेपालीहरुका लागि २०० अमेरिकी डलर प्रतिनिधि शुल्क तोकिएको छ । भाग लिने प्रतिनिधिहरुले संघले तोकेको बैंक खाता वा सचिवालयमा आइ तोकिएको शुल्क बुझाएर १४ अक्टोबर बेलुका ७ बजेसम्म नाम दर्ता गरी सक्नु पर्ने छ । यस सम्बन्धी थप जानकारीका लागि आ–आफ्ना देशका राष्ट्रिय समन्वय परिषदहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ । सम्मेलन सम्बन्धी सम्पूर्ण तयारीहरु तिव्रताका साथ अघि बढिरहेको छ । यस सम्मेलनमा प्रायोजक भई सहयोग गर्न समेत अनुरोध पठाइसकिएको छ । गैरआवासीय नेपाली संघको यस सम्मेलनलाई भव्य रुपमा सफल बनाउन वर्तमान कार्यसमितिले सबैमा हार्दिक अनुरोध गरेको छ ।

सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने कुरा भए पनि सरकारी आयोजनामै हुने कार्यक्रम भएकाले कुनै प्रभाव नपर्ने केसीले दाबी गरे । उनले संघमा राजनीति नचल्ने भए पनि नेपालमा भने राजनीतिक दलसँग सहकार्य गरेर काम गरिरहेको बताए । “हाम्रो संस्थामा राजनीति चल्दैन । तर हाम्रा चासोहरु सम्बोधनका लागि नेपालमा भने पोलिटिकल सहकार्यबिना सम्भव हुँदैन । उहाँहरुको सहयोग नरहेको भए एनआरएन नागरिकता नागरिकता आउँदैनथियो,” उनले भने, “उहाँहरुकै पहलमा अबको ५–६ महिनाभित्र तपाई हाम्रो हातमा नागरिकता आउँछ ।” उनले नयाँ पुस्तालाई एनआरएनए नागरिकता लिन कुनै समस्या नहुने अवस्था सिर्जना रहेको भन्दै निकट भविष्यमै विदेशी भूमिबाटै नेपाली नागरिकता रहेको अवस्थामा मताधिकार प्रयोग गर्न सक्ने अवस्था बन्न लागेको सो क्रममा बताए ।
उनले हालसम्म ८१ मध्ये ६५ देशका राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भएको भन्दै केही देशमा भने प्राविधिक कारणले सम्पन्न हुन नसकेको जानकारी आएको बताए । राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भएसँगै त्यहाँबाट प्रतिनिधि चयन भएपछि विश्व सम्मेलनमा सहभागी हुन पाइन्छ । सम्मेलनमा करिब २५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ । सो क्रममा एनआरएन अभियन्ता संगीता मरहट्ठाले अन्तर्राष्ट्रिय महिला संयोजक र कृष्ण तिमल्सिनाले युरोप उपसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्दै प्रतिवद्धता सार्वजनिक गरेका थिए । आफ्नो घोषणापत्र सार्वजनिक गर्दै मरहठ्ठाले महिलाको कार्यक्षेत्रलाई चुस्त र बनाउने तथा उनीहरुको काम कर्तव्य र अधिकारलाई स्पष्ट बनाउने, महिला सशक्तीकरणका लागि पहल गर्ने, राष्ट्रिय समन्वय परिषद्मा महिलाको प्रतिनिधित्व बढाउन पहल गर्नेलगायतका काम गर्ने प्रतिवद्धता जनाइन् । यस्तै तिमल्सिनाले गैरआवासीय नेपाली संघले उठाउँदै आएका महत्वपूर्ण मुद्दाहरु कार्यान्वयन गर्न लागिपर्ने, संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्न लागिपर्ने, क्षेत्रीय बैठकमा भएको खर्च विवरणलाई पारदर्शी बनाउने, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा केन्द्रसँगको समन्वयमा आवश्यक पहल गर्ने लगायतका ९ बुँदे प्रतिवद्धता सार्वजनिक गरे । कार्यक्रममा केन्द्रीय सदस्य रामशरण सिम्खडा, एनआरएन इंल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुनिल खड्का, एनआरएन युकेका महासचिव फणिन्द्र भट्टराई, एनआरएन अभियन्ता लगायतको सहभागीता रहेको थियो ।
साभार कारोबार दैनिक बाट


सम्बन्धित शीर्षकहरु

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा…

प्रतिकृयाहरू
...