तोयानाथ उपेक्षित – सोसियल मिडियालाई उपेक्षा गर्नेहरु अबका दिनमा सिद्धिदै जानेछन । आजभोली मासिनहरु यिनै सोसियल मिडियाबाट धारणा बनाउने भएकाले मुलधारका भनिएका न्युज एजेन्सीहरु तिनका पछिपछि दौडिएको देखिन्छ । किनकी सोसियल मिडियामा समाचारहरुको सत्यता पत्ता लगाउन सजिलो हुन्छ । साँचो र झुठो छुट्याउन गाहो हुँदैन । तर न्युज च्यानलहरुले मन्द विष पिलाईरहेको कुरा मानिसहरुले पत्तै पाउँदैनन ।
सवै ठाउँमा समाचारहरु हुन्छन तर सवै ठाउँमा पत्रकार हुदैनन । पत्रकारले बनाउने समाचारहरुमा मिसन र भिजनले यर्थाथ र बास्तविकतालाई अन्तै मोडिदिएको हुन्छ । पत्रकारले आफ्नो ईन्ट्रेष्ट अनुकुल समाचारको मर्म र भावनालाई अन्तै प्रवाह गरिदिन्छ ।
तर अब पत्रकारको भर पर्नु पर्ने जमना गए । जसले जहाँबाट जे सुचना दिन्छ उही त्यस समाचारको पहिलो श्रोत र साक्षी हुनेछ । समाचार संकलन गर्नेहरुले उसैलाई पछ्याउने छन । उ पनि एक हिसावले रिपोर्टर नै मानिने छ जसले न्युज ब्रेक गरेको हो । अबका दिनमा न्युज ब्रेक गर्न पत्रकारहरुलाई गाहो छ, सोसियल मिडिया फेसबुक, ट्वीटर, ईष्टेग्राम लगायतबाट हरेक मानिसले न्युज ब्रेक गरिदिनेछन । यस्तो अवस्थामा सोसियल मिडियाको उपेक्षा गर्नेहरु स्वतः सिद्धिनेछन । उनीहरुको विरुद्धमा जनमत निर्माण हुन कति पनि समय लाग्दैन ।
करोडौ जनसंख्यामा मुठिभर मानिस शासक हुने, मुठिभरका मानिस पत्रकार हुने, मुठिभरका मानिसले टेलिभिजन र राष्ट्रिय मिडियाहरुमा अन्तर्वार्ता दिने, विचार राख्ने र त्यसैको वरिपरी मुलुक रुमलिने समय सकिएको छ । को भन्दा को कम ? जसले पनि आफ्ना विचार सहजै आफ्नै घरमा बसेर प्रस्तुत गर्न सक्दछ । मानिसलाई सहि लागे लाईक, सेयर हुदै जान्छ र विश्वको जुनसुकै कुनामा एकै छिनमा पुग्दछ र त्यसले एउटा वहस वा तरंग पैदा गरिदिन्छ ।
अब त सोसियल मिडिया सवैका लागि प्लेटफर्म भईसक्यो । यिनलाई विश्वका कुनै शासकले रोक्न र छेक्न सक्ने अवस्था नै छैन । हरेक विषयमा बहस पैरबी जनताले गर्दछन । आफ्ना स्तर अनुसारका कुरा पस्कन्छन । कुनै अदालतमा कोही वकिलहरुले बहस नगरे हुन्छ अब । न्यायधिसले सोसियल मिडियामा गएर अध्यायन गरे पुग्दछ । कन्टेन्ट सार्वजनिक गरिदिनुस एक से एक बहस त्यहाँ भईरहन्छन । फैसला पहिले नै तयार भईसकेका हकमा सयौ वकिलहरुले बहस गरे पनि त्यसको केही अर्थ हुन्न । न्यायधिसहरुले कसैको मिसिल पढदा पनि पढदैनन र कसैको बहसलाई पनि ध्यान पूर्वक सुन्दैनन् बरु तिनले सोसियल मिडिया भने हेरेका हुन्छन ।
आजका दिनमा कुनै पनि विद्रोह वा आन्दोल दवाउन छ भने पहिले सोसियल मिडिया बन्द गर्दछ किन ? सोसियल मिडियालाई केही होईन भनेर आलोचना गर्नेहरु फेरी पनि चौविसै घण्टा किन सोसियल मिडियामा आँखा चिम्म नगरेर बस्दछन ? किन मुलधारका ठुला मिडिया हौ भन्ने सवै जसो मिडिया सोसियल मिडियामा आफूलाई जोडेर भ्युवर वा फलोवर खोज्न मा तल्लिन देखिन्छन । जो सोसियल मिडियामा आफ्नो सामाग्रीलाई प्रस्तुत गर्दैन उसको कुरा कहि पनि विक्दैन । अनि बोल्ने बेलामा सोसियल मिडियालाई खल्लीवल्ली भन्न कसैले मिल्छ ? कसैले तिनको उपेक्षा गरेर बोल्न सक्छ ? जो बोल्छ त्यो सिद्धिन्छ ।