Wednesday 15th May 2024

के एनआरएनको सदस्य बन्ने चुनावकै लागि मात्र हो


फडिन्द्र भट्टराई- विश्वभरका एनआरएनका राष्ट्रिय समन्वय परिषदहरु आगामी सेप्टेम्बरसम्म राष्ट्रिय अधिवेशन मार्फत नयाँ नेतृत्व चयनको निर्वाचन तालिका सुचिकृत गर्न व्यस्त छन। सिधा अर्थमा भन्दा संसारभरका एनआरएनहरुलाई चुनावी चटारोले छोइकेको छ। आन्तरिक अधिवेशन र निर्वाचनको सपामनपछि आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा पुगेर आगामी दुई वर्षे कार्यकालको आरम्भ र चुनावी सरगर्मीको समापन संगसंगै हुनेछ।

स्वभावत निर्वाचन नजिकिदै गएपछि उम्मेदवारहरु सदस्य बनाउने अभियान लाई तिब्र बनाउन थाल्छन् ताकी आफु ईतर सदस्यको बलमा निर्वाचनको नतिजा आफ्नो पोल्टामा पार्न सकियोस्। जति जति बेला एनआरएनको निर्वाचन समिप आउँछ, त्यति नै बेला एउटा अर्को बहसको थालनी हुन्छ के एनआरएनको सदस्य कसैलाई जिताउन वा हराउन कै लागि बन्ने हो अथवा संसारभर छरिएर रहेका तीसौं लाख नेपालीहरुलाई आफ्नो हितको लागि यो संगठनको खाँचो छ। नेपाली डायस्पोरामा एनआरएनको औचित्य पुष्टीको सवाल पनि निर्वाचन ताका नै धेरै उठने गर्छ किनकि यहि समयमा संगठन र उम्मेदवारको पक्ष विपक्षमा चिया चौतारादेखि मियाँ बीबीसम्म यो विषयले चाहेर वा नचाहेर मनग्गे चर्चा र छलफल पाउने गर्छ। आजको आलेखमा यहि विषयमा केन्द्रित रहेर केहि लेख्ने जमर्को गरेको छु।

जसरी नेपालमा राजनीतिलाई एउटा फोहोरी खेलको संज्ञा दिइन्छ कतिपय अवस्थामा एनआरएन लाई पनि सोही कित्तामा राखेर मुल्यांकन गर्ने गरेको पनि पाइन्छ। राजनीति आफैमा खराब हुन सक्दैन किनकि आम जनताको अभिमत लिएर नेतृत्व लिने कुरा आफैमा गलत होइन। आलोचनामा जति नै समय खर्चिए पनि राजनीतिले प्रत्येक नागरिक माथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारि नै राखेको हुन्छ। समग्र राजनैतिक संगठन उनीहरुले समातेको सैद्धान्तिक धार भन्दा पनि व्यक्ति विशेष र पात्रहरु, महत्वाकांक्षा र तिकडमबाजीको कारण जनता राजनीतिसंग आजित छन् र पनि यो जनताको सरोकार र मतलव बाहिरको विषय हुन सक्दैन।

त्यसैगरी एनआरएन अभियान पनि प्रवासमा बस्ने हरेक नेपालीको लागि आवश्यकता र औचित्य बोकेको संगठन हो। भलै संगठनभित्रको खिचातानी कतिपय अवस्थामा व्यक्तिगत पौठेजोरीको कारण सिंगो संगठन आलोचना र कतिपय अवस्थामा वितृष्णाको विषय बनेको समेत देखिन्छ। यावत कमजोरीहरुलाई नजोडी भन्ने हो भने एनआरएन वास्तवमा प्रवासी नेपालीको छाता संगठन हो। प्रवासी नेपालीहरुको हर कुनै मुद्दाको उठान र त्यसको निष्कर्षात्मक टुंगोमा पुर्याउन सक्ने एक्लो संगठन एनआरएन नै हो भन्नुमा दुईमत नहोला। तसर्थ संगठनलाई बहिष्कार गर्नुको सट्टा कमसेकम यसको एउटा सदस्यको रुपमा अङ्गीकार गर्दै सुदृढिकरणमा लाग्नु आम पब्लिक र विशेषत यसको मुलधारमा पूर्णतया आउन नसकेको बौद्धिक जगतको आजको आवश्यकता हो।

केका लागि बन्ने एनआरएनको सदस्य ?

कुनैपनि संगठनको मेरुदण्ड भनेकै यसका सदस्यहरु हुन्। वर्तमानमा देखिए जस्तो अत्यन्तै न्यून र झिनो सदस्य संख्यालाई लिएर संगठन प्रतिनिधीमुलक बन्न सक्दैन। विदेशमा रहेका सयौं संघसंस्थाहरुको आ आफ्नो स्थानमा महत्व र आवश्यकता छ तथापि प्रवासी नेपालीको समग्र आवाजलाई बुलन्द गर्न अर्को कुनै राजनैतिक, भौगोलिक अथवा जातीय संगठन हुन नसक्ने कुरा स्पष्ट छ।

तर यो भनिरहदा प्रवासमा रहने हरेक जात जाती, समुदाय वर्ग र पेशाका नेपालीहरुको समग्र खाँचोको मुद्दालाई पनि एनआरएनले नेतृत्व गर्न सक्दछ र सक्नु पर्दछ। हामी क्षेत्रीय अथावा अन्य कुनै आधारमा अरु संघसंस्थामा आबद्ध हुंदाहुंदै ती संस्थाहरुको आफ्नो सकृयतालाई कायम राखेर पनि एनआरएनसम्म आफ्ना मुद्धाहरुको पहुच बनाउन र एनआरएनमार्फत ती मुद्धाहरु उठान गर्न सकियो भने सबै क्षेत्र र समुदायका व्यक्तिहरु लाभावान्वित हुन सक्नेछन्।

एनआरएन अभियानको डेढ दशक बितिसक्दा जे जति हुनुपर्ने हो त्यति नभए पनि केहि नभएको भन्न अलि असान्दर्भिक नै होला। उदाहरणको लागि नागरिकता निरन्तरताको मुद्धालाई लिन सकिन्छ। एनआरएन अभियान नहुँदो हो त आज नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान सायदै आउन सक्थ्यो। यसलाई एनआरएनले स्थापित गर्न सकेको एउटा महत्वपूर्ण र आंशिक सफलताको रुपमा लिन सकिन्छ। भलै एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई र वंशजका नागरिकहरुको क्याटेगोरीलाई यसले सम्बोधन गर्न सकेको छैन।

अब बन्ने भनिएका नागरिकतासम्बन्धी कानुनहरुको निर्माणमा चौतर्फी दबाब र तयारीका साथ गैरआवासीय नेपालीको हितलाई ध्यानमा राखेर सुनुवाई गराउनुपर्ने चुनौति छ। विशेषत नेपालमा रहेको एउटा तप्का नागरिकता मुद्धामा सकारात्मक नभइराखेको परिप्रेक्षमा हाम्रो भावना र भविष्य दुवैलाई मध्यनजर गर्दै यसलाई चिर्न ठूलै कसरतको चुनौती आगामी दिनमा देखिएको छ।

गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकताका प्रावधानहरु के हुने ? गैर आवासीय नेपालीहरुले कहाँ र कसरी नागरिकता प्राप्त गर्न सक्ने ? उनीहरुले लिने पासपोर्टको क्याटेगोरी कसरी छुट्टयाइने ? प्रयोग र व्यवहारिकताको हिसाबले यसको प्रभावकारिता कति हुने ? आदी इत्यादी अनेक प्रश्नको सम्बोधनको लागि तयारी भावी दिनको लागि थपिएको छ।

अहिले चुनावी प्रयोजनको लागि मात्र एनआरएन सदस्यताको प्रश्न उठिरहदा के पनि बिर्सिनु हुदैन भने भोलिका दिनमा एनआरएन सदस्यता प्राप्त गरेपछि मात्र अन्य सेवा सुविधाको लागि मान्य हुने बाटो नेपाल सरकारले कतिपय सवालमा लागु गर्न सक्छ। त्यो अवस्थामा प्रवासका नेपालीहरु एनआरएनभित्र रहनुको विकल्प हुनेछैन। अहिले नै पनि एनआरएन कार्डको प्रयोग मार्फत नेपालको प्रवेशाज्ञा (भिसा ) मा शुल्ककै हिसावले पनि ठुलो सहुलियत प्राप्त हुँदै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ तर त्यसबाट कसले कसरी लाभ लिन सक्छ भन्ने स्पष्ट हुन बाँकी छ। भोलिका दिनमा यसको प्रभावकारितामा अभिवृद्धि हुँदा पनि त्यसको प्रत्यक्ष लाभ सबै एनआरएन सदस्यहरुले लिने नै छन्।

प्रवासी नेपालीहरुको लागि नेपाल सरकार र सरकारका विदेशस्थित कुटनैतिक निकायहरुमा हुने ’रिकग्निसन’ को कारण पनि सम्बन्धित देशका दूतावासहरुले प्रदान गर्ने सेवा सुविधामा पनि एनआरएन सदस्य हुनुको तात्विक फरक रहन्छ। त्यतिमात्र होइन, सम्बन्धित देशको निकायसंग नेपाली समुदायको मुद्धा उठान गर्ने आधिकारिक निकाय अन्तत्वगत्वा एनआरएन नै हो र हुनेछ।

नागरिकताको प्रश्न पहिलो पुस्ताको सवालमा भन्दा भावी सन्ततिको सवालमा अत्यन्तै महत्वपूर्ण हुनेछ भन्ने कुराको मनन गरेर पनि यसमा खास चर्चा हुनु आवश्यक छ। भावी पुस्तालाई नेपालसंग जोडने एउटा सेतुको रुपमा यसलाई बुझ्नु पर्छ। यस मानेमा नयाँ पुस्तालाई एनआरएनमा जोड्नु झनै महत्वपूर्ण छ।

अर्को तर्फ एन आर एनको स्थापना पश्चात नेपालमा परोपकारी काम गर्ने र लगानी गर्ने सवालमा पनि उल्लेख्य योगदान देखिएको छ जुन मातृभूमीको सेवा विकासको लागि, आम प्रवासीहरुमा एउटा आत्मसन्तुष्टीको लागि र लगानीकर्तामा प्रतिफलको हिसाबले लाभदायक नै छ। यसमा के कति हुन् सक्यो र कति हुनुपर्थ्यो भन्ने छुट्टै बहसको बिषय आफ्नै ठाउँमा छ।

तसर्थ समग्रमा एनआरएनलाई हेर्ने दृष्टिकोणको निर्माण केहि व्यक्ति विशेषलाई हेरेर होइन, समग्रमा संगठन आवश्यकता र महत्वलाई हेरेर हुनुपर्दछ। आलोचनाको फेहरिस्त निकाल्यो भने पुस्तक नै लेख्न पनि सकिएला तर संगठनको धरातल र उचाई दुवैलाई हेरेर यसको उचित बाटो तय गर्ने जिम्मा तपाईं हाम्रो नै हो। समग्र संगठनको सुधार र शुद्धीकरणको लागि पहल गर्ने पहिलो खुड्किलो यसको सदस्य हुनु नै हो। त्यसपछिका कुरा तपशिलका विषय हुन। संगठनको सदस्य नै नबनेको परिप्रेक्षमा यसमाथिको आलोचना समेत आफनै नैतिकताको प्रश्न बन्ने कुरालाई पनि नकार्न सकिदैन।

निर्वाचन प्रयोजनकै कुरा गरौं, स्वाभाविक देखिएको छ निर्वाचन नजिकिएपछि उम्मेदवारहरु आफ्नो जित सुनुश्चित गर्नको लागि सदस्यता बढाउनमा बढि सक्रिय देखिन्छन्। यो भनिरहंदा के बुझ्न आवश्यक छ भने यदि संगठनमा राम्रो मान्छे चुनेर पठाउने हो भने स्वतस्फुर्त रुपमा यसको सदस्य बनेर राम्रोलाई छान्ने र नराम्रोलाई फाल्ने अधिकार सदस्यको मतमै निहित छ।

यस अर्थमा पनि कुनै व्यक्ति विशेषको सहयोगको लागि मात्र नभएर संस्थाको सुधार र गतिशिलताको लागि हाम्रो योगदान भनेको पहिला सदस्य बन्नु नै हो र त्यसपछि उपयुक्त पात्रको छनौट हो। बाँकी हेर्ने वा गर्ने त्यसपछि हो।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...